अग्निपीडित तामाङ दम्पतीलाई ७ लाख ७५ हजार सहयोग

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका आगलागीपीडित ७० वर्षीय जितबहादुर स्याङ्तान तामाङ र ७१ वर्षीया सुकुमाया तामाङ दम्पतीलाई सात लाख ७५ हजार ५७७ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

साउन १८ गते बेलुका अगेनाबाट सल्किएको आगोले दम्पतीको फुसको छाना भएको दुईतले घर र घरमा भएका सम्पूर्ण सामग्री जलेर लगभग १३ लाख ५० हजारको क्षति भएको प्रहरीले जनाएको छ । वर्षादको पानीले भिजेको डोको अगेनामा सुकाउने क्रममा डोकोबाट सल्किएको आगोले घर पूर्णरूपमा जलेर नष्ट भएको थियो ।

घर जलेर बिचल्लीमा परेका दम्पतीका लागि साउन १९ गते स्थानीयवासीको भेलाले वडा सदस्य तारादेवी तामाङको संयोजकत्वमा आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको थियो । स्थानीयवासीबाट सङ्कलन भएको दुई लाख ३३ हजार ८३५ रुपैयाँ र सामाजिक अभियन्ता सुन्दर तामाङको बैंक खातामा जम्मा भएको पाँच लाख ४१ हजार ७४२ रुपैयाँ बुधबार नुनथलाका वडाध्यक्ष भगेश्वर राई र सामाजिक अभियन्ता तामाङले संयुक्तरूपमा स्थानियबासी, सामाजिक व्यक्तित्वहरु, पत्रकारहरुको रोहबारमा पीडित दम्पतीलाई हस्तान्तरण गरेका हुन् ।

आर्थिक सङ्कलन अभियानमा नुनथलामा जन्मिएर रोजगारी तथा अध्ययनको सिलसिलामा विभिन्न देशमा रहेकाहरूले सबैभन्दा बढी सहयोग उपलब्ध गराएको र अझै पनि सहयोग आइरहेको सामाजिक अभियन्ता तामाङले जानकारी दिएका छन् । सामाजिक अभियन्ता तामाङले भने “देश÷विदेशमा रहेका शुभेच्छुक तथा आफन्तले स्वतःस्फूर्त सहयोग उपलब्ध गराउने क्रम जारी छ र वृद्धावस्थाका आगलागीपीडित दम्पतीको नयाँ घर निर्माण हुने निश्चित भएको छ ।” आर्थिक सहयोग संकलन हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष हरिवोल आचार्यले पाँच हजार रुपैयाँ प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।

आगलागीपीडित तामाङ दम्पतीलाई नुनथलास्थित किरात राई रिङालुङ्छा र राखमीहँछा परिवारले समेत छुट्टाछुट्टै सहयोग रकम सङ्कलन गरेर उपलब्ध गराएको स्थानीयवासी एवम् जालपा माध्यमिक विद्यालय नुनथलाका शिक्षक धनकुमार तामाङले जानकारी दिए । सङ्कलित रकम दम्पतीको नाममा खाता खोलेर जम्मागरी दिउँद लाग्नासाथ नयाँ घर निर्माणको काम सुरु गरिने स्थानीयले बताएका छन् ।

वडाध्यक्ष राईका अनुसार तत्कालका लागि आगलागीपीडित तामाङ दम्पतीलाई खान र बस्ने व्यवस्थापन मिलाउन राहत सामग्री उपलब्ध गराइएको छ । एक छोरा चार छोरी भएका यी दम्पती हाल छिमेकी घरमा आश्रय लिएर बसिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

epaper

ताजा समाचार

अध्ययन बिदा दुरुपयोग गरेकाबाट सरकारले असुल ग¥यो १० करोड ४६ लाख