शान्ति सेना दिवसमा नेपाली सेनाको विशेष कार्यक्रम

काठमाडौं । नेपाली सेनाले ‘अन्तर्राष्ट्रिय संयुक्त राष्ट्र शान्ति सेना दिवस’को अवसरमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा विशेष कार्यक्रमका साथ विरगती प्राप्त गर्ने सेनाको स्मृति तथा परिवारलाई सम्मान गरेको छ ।

कार्यक्रममा प्रधान सेनापति महारथी अशोक राज सिग्देलले शान्ति स्थापनाका लागि देशभित्र र संयुक्त राष्ट्रसंघको मिसन अन्तर्गत द्वन्द्वग्रस्त मुलुकमा नेपाली सेनाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

संयुक्त राष्ट्र संघको आव्हानमा सन् १९५८ बाट शान्ति सैनिक खटाउँदै आएको नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचिमा पहिलो स्थानमा रहेको बताउँदै यो छविले विश्वमाझ नेपालीको शीर उँचो भएको सिग्देलले बताए । सिग्देलले संयुक्त राष्ट्र संघको आह्वानमा नेपालले गरेको अभूतपूर्व योगदानको चर्चा गर्दै विरगति प्राप्त गरेका सैनिकको स्मृति गर्दै परिवारलाई सम्मान गरे ।

मिसन इलाकामा वीरगति प्राप्त गर्ने २ (दुई) जना सैनिकका परिवारलाई सम्मान पत्र र शान्ति स्थापनार्थ खटिई उत्कृष्ट कार्य गर्ने ५ (पाँच) जना सैनिकहरूलाई प्रधानसेनापति सिग्देलले कदर पत्र प्रदान गरेका थिए ।

समारोहमा रक्षा सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू, काभ्रेपलान्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, मित्रराष्ट्रहरूका सैनिक सहचारीहरू, सञ्चारकर्मीहरू लगायत नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो ।

संयुक्त राष्ट्र संघीय मिसन अन्तर्गत हाल विश्वका विभिन्न ९ वटा मिसनहरूमा नेपाली सेनाका ४,१७९ जना शान्ति सैनिकहरू कार्यरत रहेको नेपाली सेनाले जनाएको छ । विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका ७४ जना सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने ७७ जना सैनिकहरू घाइते भएको नेपाली सेनाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

शान्ति सेना दिवसमा नेपाली सेनाको विशेष कार्यक्रम