लमजुङ । लमजुङका चार दिनदेखि वेपत्ता भएका एक ७१ वर्षीय बृद्ध मृत अवस्थामा शनिबार फेला परेका छन् । बेसीशहर नगरपालिका– ७ स्थित सहजी टोलमा स्थायी बसोबास भएका चन्द्रबहादुर भन्ने सन्तबहादुर रावल चारदिनदेखि वेपत्ता भएका थिए । उनी चौथो दिन घर नजिकैको खोल्सामा मृत अवस्थामा फेला परेवपछि उनका छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
परिवारजनले शुक्रबार मात्रै खोजीका लागि प्रहरी, पत्रकार, मानवअधिकारकर्मीलाई गुहार गरेका थिए । छिमेकीले उनलाई मृत अवस्थामा देखेपछि उनको घर र प्रहरीमा खबर गरेको बताए ।
बुधबार विहानैदेखि हराएका उनी आफ्नै टोलको गल्लीमा पिसाव फेर्न खोज्दा वा चिप्लिएर लडेर घोप्टो परेको अवस्थामा देखियो उनका छिमेकी सेरमान सिंह अर्यालले बताए । उनका अनुसार घर ’round चिल घुम्न थालेपछि गाउँलेले उनलाई देखेका हुन् । उनले भने, ‘सडेर उनको अनुहार चिन्न सक्ने अवस्थामा थिएन । कपडा, पेटी, चप्पल आदिले शवको पहिचान भएको हो ।’ प्रहरी मुचुल्कामा पनि त्यही उल्लेख भएको अर्यालले जानकारी दिए ।
एउटा चप्पल खुट्टामा र अर्को पाखोमा अल्झिएको अवस्थामा भेटिएको हो, उनी आत्महत्या गर्ने हिसावले त्यता गएको जस्तो भने देखिदैन, चिप्लिएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय, लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकुमार साह तेलीले बताए ।
उनका अनुसार मृतकको पोष्टमार्टम गरी परिवारलाई बुझाउने तयारी छ । पोष्टमार्टम गरेर शव बुझेपछि आजै अन्तिम संस्कार गरिने मृतकका छिमेकी सेरमान सिंह अर्यालले जानकारी दिए ।
शिक्षण पेशामा रहेका उनी बेसीशहर नगरपालिका– ६ को गंगामिलन माविबाट निवृत्त भएका थिए । उनमा पछिल्लो एक वर्षदेखि मुुटुको समस्या देखिएको थियो ।






