कोन्ज्योसोमबाट सुरु भयो लम्पीस्किनविरुद्धको प्रदेशव्यापी अभियान

ललितपुर । गाईभैंसीमा लाग्ने लम्पीस्किन रोग नियन्त्रण तथा रोकथाम अभियानको आइतबार कोन्ज्योसोम–१ चौघरेबाट सुरु भएको छ । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले सुरु गरेका हुन् । मन्त्री पौडेलले गाईभैंसीको जीवन सुरक्षा नागरिकहरूको आर्थिक सुरक्षाको महत्वपूर्ण पक्ष भएकाले प्रदेश सरकारले कृषकहरूको पशुधनको सुरक्षाको नीति लिएर खोप तथा औषधोपचारलाई अभियानका रूपमा चलाइएको बताए ।

अभियानअन्तर्गत प्रदेशभरका १३ जिल्लाका १ लाख २० हजार पशुलाई खोप लगाइने मन्त्री पौडेलले बताएका छन् । एक सातासम्म चल्ने यस अभियानबाट बागमती प्रदेशका १३ जिल्लाका हजारौं किसान लाभान्वित हुनेछन् । किसानहरूलाई परेको पीडामा सरकार सँगै हुनसक्दा मात्रै नागरिकलाई राजनीतिक परिवर्तनको अनुभूति हुने मन्त्री पौडेलले बताए ।

खोप सुरुवातसँगै कोन्ज्योसोम गाउँपालिका कार्यालयमा आयोजित प्रस्तुती तथा अन्तक्र्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णमान लामा, पशु सेवा कार्यालय प्रमुख प्रभात न्यौपाने, बागमती प्रदेश दुग्ध विकास बोर्डका निर्देशक डा. रामप्रकाश प्रधान, गाउँपालिका उपाध्यक्ष राजनप्रसाद घिमिरे, प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद दुलाललगायतले पशुधनको सुरक्षाका लागि लम्पीस्किन रोग निवारणमा सबैको सहकार्य हुनुपर्नेमा जोड दिए ।

लम्पीस्किन रोग रोकथाम तथा नियन्त्रण अभियानका क्रममा सबैभन्दा बढी चितवनमा ३० हजार पशुलाई खोप लगाइने जानकारी दिँदै डा. न्यौपानेले ललितपुरमा १० हजार पशुलाई खोप दिइने बताए । बागमती प्रदेशका अन्य जिल्लामा मकवानपुरमा २५ हजार, काभ्रेपलाञ्चोकमा १४ हजार, नुवाकोट र सिन्धुलीमा १२–१२ हजार, धादिङमा ११ हजार, ललितपुरमा १० हजार र दोलखामा ६ हजार डोज खोप पठाइएको पनि जानकारी गराइएको छ ।

असार र साउन महिनामा मात्रै लम्पीस्किन रोगका कारण प्रदेशमा ७४ पशु चौपायाको मृत्यु भएको छ भने १ हजार ६ सय ३३ पशुमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा ७१ हजार ९ सय ७७ पशुलाई र आआव २०८०-८१ मा ४८ हजार ३ सय ६४ पशुलाई लम्पीस्किन रोगविरुद्ध खोप लगाइएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

epaper

ताजा समाचार

सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको मृत्यु