करार सम्झौता भई भिसा लागेकालाई इजरायल जाने तयारी गर्न आह्वान

काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्रको सहायक कामदार (केयर गिभर) का रूपमा जानका लागि छनोट भएका दोस्रो लटका उम्मेदवारको स्वास्थ्य परीक्षण सुरु गरिएको छ ।

गत बिहीबारबाट सुरु भएको स्वास्थ्य परीक्षण आइतबारसम्म सञ्चालन हुने छ । इजरायलले छनोट भएका दोस्रो लटका उम्मेदवारको स्वास्थ्य परीक्षण गराउन आग्रह गरेकाले स्वास्थ्य परीक्षणको काम सुरु भएको वैदेशिक रोजगार विभागले जानकारी गराएको छ । जसका लागि इजरायलको जनसंख्या, आप्रवासन तथा सीमा प्राधिकरण (पिवा)ले तोकिएका १ सय ४० जनाको स्वास्थ्य परीक्षण माग गरेको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार केयर गिभरमा इजरायल जाने दोस्रो लटमा रहेकामध्ये स्वास्थ्य परीक्षण गराउनुपर्ने सूचीमा सय जना महिला र ४० जना पुरुष रहेका छन् । पहिलो लटका उम्मेदवार इजरायल पुगिसक्न लागेकाले दोस्रो लटकालाई पनि तयारी अवस्थामा राख्न स्वास्थ्य परीक्षणको काम सुरु गर्न भनिए बमोजिम सुरू भएको विभागका जिटुजी शाखा हेर्ने निर्देशक गिरिराज ज्ञवालीले जानकारी दिए ।

दोस्रो लटमा छानिएका उम्मेदवारलाई पाँच समूहमा विभाजन गरी आफ्नो क्रम संख्याअनुसार तोकिएको संस्थामा स्वास्थ्य परीक्षण गराउन भनिएको विभागले जनाएको छ । क्रमसंख्या १ देखि २८ ले क्रिस्टल डाइग्नोस्टिक प्रालि, २९ देखि ५६ का उम्मेदवारले ह्याम्स अस्पताल, ५७ देखि ८४ का ले स्टार अस्पताल, ८५ देखि १ सय १२ जनाले मनमोहन मेडिकल कलेज तथा शिक्षण अस्पताल र १ सय १३ देखि १ सय ४० सम्मकाले नेपाल मेडिसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुपर्ने विभागको सूचनामा उल्लेख छ ।

विभागले सहभागी हुनेहरूलाई गत बिहीबार देखि आइतबार (आज) सम्म स्वास्थ्य परीक्षण गराउनुपर्ने समय तोकेको छ । स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकालाई पूर्वप्रस्थान अभिमुखीकरण (पीडीओटी) तालिम दिने र इजरायलको रोजगारदाताबाट करार सम्झौता आउने क्रम सुरु हुने विभागले जनाएको छ । इजराजयमा नेपाली कामदारको मागअनुसार नामावली आउने भएकाले बाँकी रहेका उम्मेदवारको नामावली क्रमशः प्रकाशन गर्दै जाने विभागले जनाएको छ ।

विभागका अनुसार इजरायल जाने यस प्रक्रियाका लागि ११ असार २०८१ को विज्ञापनमा ४ हजार २४ जनाले अनलाइनमार्फत आवेदन दिएका थिए । तीमध्ये ३ हजार ४ सय ६१ वटा आवेदन स्वीकृत भएको थियो । त्यसपछि लक्की ड्र प्रणालीबाट २ हजार १ सय १२ जना कामदार छनोट भएका थिए । उनीहरूमध्ये पहिलो लटका १ हजार जनाको स्वास्थ्य परीक्षण गर्दा ९ सय २३ जना सफल भएका थिए । ४ जना पीडीओटीमा अनुपस्थित भएका थिए । सोही कारण पहिलो चरणमा ९ सय १९ जना मात्र छानिएका थिए ।

इजरायलले आवेदन आह्वान गरेको ८ महिनापछि विभिन्न प्रक्रिया पूरा गरेर गत फागुनबाट नेपाली कामदार लैजान थालेको छ । जसमध्ये हालसम्म ७ सयभन्दा बढीको भिसा प्राप्त भइसकेको विभागले जनाएको छ ।

बाँकीको करार सम्झौता आउने क्रम जारी छ । हालसम्म जिटुजीमार्फत केयर गिभरका रूपमा धेरै नेपाली कामदार इजरायल गइरहेका छन् । इजरायलले निर्माण र कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने बताएको थियो । यस विषयमा अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सम्बन्धित महाशाखाको संयोजकत्वमा निर्देशिकाहरू बन्ने क्रममा रहेको छ ।

गत आर्थिक वर्ष २०८१÷८२ मा जिटुजीमार्फत ६ सय ३९ जना नेपाली इजरायल गएका थिए । यसैगरी, संस्थागत रूपमा विभिन्न म्यानपावर कम्पनीबाट १ सय ४९ जना र पुनः श्रम स्वीकृति लिएर ५ सय ५४ जना गरी कुल १ हजार ३ सय ४२ जना इजरायल गएका थिए । जसमा ८ सय १६ जना महिला र ५ सय २६ जना पुरुष रहेका छन् ।

विभागका जिटुजी शाखाका निर्देशक ज्ञवालीले यसअघि करार सम्झौता भई भिसा जारी भएका ९६ जनालाई उड्नका लागि सबै तयारी पूरा गरेर बस्न आह्वान गरिएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री शाहले देशवासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ