मुम्बई । बलिउड अभिनेता मिथुन चक्रवर्ती कुकुरहरूलाई खुवै माया गर्छन् । बाटोमा रहेका बेवारिसे कुकुरहरूको लागि उनले नियमित रूपमा खानाको व्यवस्था समेत गर्दै आएका छन् । सडकमा भएका बिरामी कुकुरहरूलाई अस्पताल पु-याएर उपचार गर्न आफ्नो कमाइको केही रकम समेत उनले यस अघि छुट्टाउँदै आएका थिए ।
देशभरि सडकमा रहेका आवारा कुकुरहरूलाई कसरी व्यवस्थापन गर्ने भनेर अहिले भारतमा चर्को बहस चलिरहेको छ । एक थरीले यस्ता कुकुरहरूलाई हटाउनु पर्छ भनेका छन् भने अर्का थरीले उनीहरूलाई व्यवस्थित गरेर सडकमै बाँच्न दिनु पर्छ भनेर आवाज पनि उठाएका छन् । यता मिथुन चक्रवर्तीले भने सडकका कुकुरहरूको पनि बाँच्न अधिकार भएकाले उनीहरूलाई सडकमै स्वतन्त्र रूपमा बाँच्न दिनु पर्छ भनेर आवाज उठाएका छन् । सडकका कुकुरहरूलाई सम्बन्धित नगरपालिका तथा नगर ग्रामले नियमित रूपमा रेबिजको सुई समेत लगाउनु पर्ने उनको सुझाव छ ।
यसरी दिग्गज अभिनेता मिथुन चक्रवर्ती पर्दामा मात्र नभई वास्तविक जीवनमा पनि एक ठुलो हृदय भएका व्यक्ति हुन् भनेर उनले प्रमाणित गरेका छन् । जनावरहरूप्रतिको आफ्नो प्रेम प्रमाणित गर्दै, उनले लगभग ४५ करोड रुपैयाँको लागतमा मड आइल्याण्डमा एक विलासी फार्म हाउस समेत बनाएका छन् । यो फार्म हाउस विशेष रूपमा उनका घरपालुवा कुकुरहरूको लागि डिजाइन गरिएको छ ।
यस फार्म हाउसमा ११६ कुकुरहरूको लागि छुट्टै कोठा बनाइएको छ । प्रत्येक कोठामा एयर कन्डिसनर र कस्टम मेड बेडहरू जडान गरिएको छ । यस बाहेक, तिनीहरूको हेरचाह गर्न एक विशेष टोली समेत तयार गरिएको छ । यो टोलीले ती कुकुरहरूलाई समयमा खाना खुवाउने, नुहाउने र दिसापिसा गराउन सँगै लिएर हिँड्ने जस्ता कार्यहरू गर्दछन् । अहिले मुम्बईमा १६ जातका कुकुरहरू उनीसँगै छन् । ती सबै कुकुरहरूका लागि छुट्टै सेक्सन र सबै सुविधा उपलब्ध गराइएको छ ।
मिथुन चक्रवर्तीकी बुहारी तथा अभिनेत्री मदलसा शर्माले २०२३ मा एक अन्तर्वार्तामा आफ्नो ससुरालाई कुकुर धेरै मन पर्ने कुरा खुलासा गरेकी थिइन् । मदलसाका अनुसार मिथुन विगतमा उटी र कोइम्बटूरमा दर्जनौँ कुकुरसँग परिवार जस्तै गरेर रमाएर बस्ने गर्थे । अहिले पनि उनी कुकुरलाई त्यत्तिकै माया गर्छन ।
मिथुन चक्रवर्तीको यात्रा संघर्षले भरिएको छ । उनले कलाकार बन्नु अघि निकै संघर्ष झेल्नु परेको थियो । चलचित्रमा आउनु भन्दा अघि एक समय यस्तो पनि थियो, त्यति बेला उनीसँग मुम्बइमा बस्ने कोठा थिएन । उनी फुटपाथमा सुत्थे । पैसाको अभावले धेरै दिन उनले भोकै बिताउने गर्थे । मिथुनले एक अन्तर्वार्तामा भने अनुसार भोलिपल्ट भर पेट खाना पाउने आशामा उनी धेरै रात भोकै सुतेका थिए । उनले त्यति बेला पाउभाजी तथा पाउरोटी समेत समयमा भर पेट खान पाउँदैन थिए ।
यसरी त्यति बेला सडक पेटीमा सुत्दा उनका साथीहरू कुकुर हुने गर्थे । उनलाई कुकुरहरूले रातभर साथ दिन्थे । यहाँसम्मकी कोही व्यक्ति मिथुनको छेउमा आएर सुत्न खोज्दा तथा उनको सामान चोरी गर्दा खोज्दा ती कुकुरहरूले लखेट्ने गर्थे । यसरी आफ्नो संघर्षको समयमा सबैभन्दा बफादार साथी नै कुकुर हुने गरेको पनि मिथुनले बताएका छन् । सोही कारण उनी कुकुरलाई औधी माया गर्दा रहेछन् ।
यस्तो सडकको बासबाट माथि उठेर बलिउडका स्टार भएका अभिनेता मिथुन चक्रवर्तीसँग आज ४०० करोड रुपैयाँभन्दा बढीको सम्पत्ति छ । उनको मैसूरमा मात्र १८ वटा बंगला छन् । मसिगुडीमा १६ वटा लक्जरी कटेज रहेका छ । यस्तै मिथुनको उटी र मैसूरमा धेरै होटल तथा मड आइल्याण्डमा एउटा आलिसान बंगला छ । घर पालुवा कुकुरका लागि भव्य फार्म हाउस खोलेका मिथुनले सडकका कुकुरको व्यवस्थापनमा समेत विभिन्न संस्थाहरूलाई आर्थिक सहयोग गर्दै आएका छन् । जनावरलाई मानिसलाई जस्तै अप्ठेरो परेको बेला मद्दत गर्नु पर्छ भन्ने कुरा मिथुनले व्यवहारिक रूपमा गरेर समेत देखाएका छन् ।






