लामाचौरमा प्रकाश दूतराज क्रेज

पोखरा । अहिलेका चर्चित गायक प्रकाश दूतराजले पोखरा लामाचौरमा आयोजित तीज महोत्सवमा दर्शकलाई आफ्नो गायकीमा मन्त्रमुग्ध पारेका छन् । तीज अवसरमा नवआदर्श सामुदायिक विकास समाजले संस्थाको २९ औं वार्षिकोत्सव अवसरमा २७ औं संस्करणको तीज महोत्सव आयोजना गरेको थियो ।

महोत्सवको अन्तिम दिन मंगलबार अर्थात् तीजकै दिन डाँकिएका उनलाई सुन्न दर्शक पनि खचाखच भरिएका थिए । म्याग्दीका यी चर्चित गायकले जब माइक समाएर स्टेज उक्लिए दर्शकले उनको स्वागतमा ताली बर्साए । साँझ हुन लाग्दासम्म लगायतार उनले ‘रिमै’, ‘रेशम’, ‘घर कता हो बैनीको’ समेतका एकपछि अर्को चर्चित गीत गाए ।

यस्तै, चर्चित गायिका देवी घर्ती, लोकदोहोरी गायक राजु ढकाल, श्रीदेवी देवकोटा र सुवास रेग्मीले पनि आफ्ना नयाँ तथा पुराना तीजे भाखा प्रस्तुत गरेका थिए । कृति गुरुङले नृत्य प्रस्तुत गरिन् ।

लामाचौरको इन्द्रराज्य लक्ष्मी मावि परिसरमा ३ दिनसम्म भएको महोत्सवमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान अध्यक्ष रीता थापामगर, संस्थापक अध्यक्ष प्रजापति पराजुली सहित शिव हमाल, जानकी तारामी मगर, रामजी पौडेल, माया गुरुङ, लक्ष्मी नेपाली लगायतका कलाकारलाई स्टेज उतारिएको प्रचार संयोजक विष्णुप्रसाद गौतमले बताए ।

महोत्सव अपेक्षाअनुरुप सफल भएको संस्थाका अध्यक्ष इन्जिनियर दिनेश भण्डारीले दाबी गरेका छन् । महोत्सवको मंगलबार गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले समापन गरे । उनले पोखरा प्राकृतिक रूपमा मात्र नभएर कला, साहित्य र संस्कृतिको क्षेत्रमा समेत सुन्दर रहेको बताए ।

सोही अवसरमा आयोजित तीजगीत प्रतियोगितामा घाटीपाटनको महिला सामुदायिक विकास समिति प्रथम भयो । अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा बेसलाइन ऐकेडेमी प्रथम भयो । खेलकुदतर्फ मनबहादुर गुरुङ, साहित्यतर्फ छविलाल आचार्य र शिक्षातर्फ इन्द्रराज्यलक्ष्मी माविका प्रधानाध्यापक केशवप्रसाद अम्गाईलाई सम्मान गरियो ।

खुला पुरुष भलिबल प्रतियोगिता र अन्तर मावि छात्रा भलिबल प्रतियोगिताकालाई विजयीलाई पनि पुरस्कार वितरण गरिएको छ । पुरुषतर्फ स्याङ्जाको ढुंगेदेउराली क्लब र छात्रा भलिबलतर्फ शान्त माविले उपाधि जितेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारी कार्यालय खाली गर्न तीनदिने अल्टिमेटम