ऋण उठाउन असफल बन्दै हिमालयन, एसबीआई र नेपाल बैंक

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थामा खराब कर्जा लगातार बढ्दै गएको छ । बैंकले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमै उठाउन सकेन भने त्यस्तो कर्जालाई एनपीएल (नन पर्फमिङ लोन ) अर्थात् खराब कर्जा भनिन्छ ।

पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०८१–८२ को अन्त्यसम्म कुल ५५ खर्ब ८१ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाहमध्ये २ खर्ब ५७ अर्ब ८५ करोड रुपैयाँ निष्क्रिय अवस्थामा पुगेको छ । यो कुल कर्जाको ४ दशमलव ६२ प्रतिशत हो ।

अघिल्लो आव २०८०–८१ मा औसत ३ दशमलव ८६ प्रतिशत दरले १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ निष्क्रिय कर्जा रहेकामा यस वर्ष थप ५८ अर्ब ६० करोड रुपैयाँले बढेको छ । यसले बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

२० वटा वाणिज्य बैंकको औसत खराब कर्जा ४ दशमलव २२ प्रतिशत छ । अघिल्लो वर्ष ३ दशमलव ७३ प्रतिशत मात्र रहेकामा यसपटक शून्य दशमलव ४८ प्रतिशत बिन्दुले बढेको हो ।

१३ बैंकको खराब कर्जा बढेको छ भने ७ बैंकको केही हदसम्म घटेको छ । हिमालयन बैंक, नेपाल बैंक, एसबीआईलगायतमा गत वर्षको तुलनामा उच्च वृद्धि देखिँदा स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकले पनि गिर्दो साख फर्काउन सकेका देखिएको छैन ।

कुन बैंकमा बढी खराब कर्जा ?
गत आवमा सबैभन्दा बढी खराब कर्जा हिमालयन बैंकको ७ दशमलव २८ प्रतिशतमा पुगेको छ । अघिल्लो वर्ष ४ दशमलव ९८ प्रतिशतमा सीमित यो दर एकै वर्षमा २ दशमलव ३ प्रतिशत बिन्दुले बढेको हो ।

खराब कर्जा बढाउनेमा नेपाल एसबीआई बैंकले रेकर्ड कायम गरेको छ । आव २०८०–८१ मा १ दशमलव ९६ प्रतिशत खराब कर्जा रहेकामा आव २०८१–८२ मा ३ दशमलव ३५ प्रतिशत पुगेको छ ।

हिमालयन बैंककोे खराब कर्जा अनुपात आव २०८०–८१ मा ४ दशमलव ९८ प्रतिशत रहेको थियो । आव २०८१–८२ मा खराब कर्जा अनुपात ७ दशमलव २८ प्रतिशत पुगेको छ । यसको निष्क्रिय कर्जा आव २०७८–७९ मा शून्य दशमलव ७७ प्रतिशत, आव २०७९–८० मा ४ दशमलव ५७ प्रतिशत र आव २०८०–८१ मा ४ दशमलव ९१ प्रतिशत थियो । यस बैंकको वार्षिक निष्क्रिय कर्जा अनुपातमा निरन्तर र भारी वृद्धिले यसलाई नियन्त्रण गर्न कुनै भूमिका नखेलेको प्रश्न बैंकमाथि तेर्सिएको छ ।

नेपाल बैंकको निष्क्रिय कर्जा गत आवमा ४ दशमलव ४७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षमा यो ३ दशमलव २८ प्रतिशत थियो । आव २०७८–७९ मा १ दशमलव ९ प्रतिशत रहेको यसको निष्क्रिय कर्जा आव २०७९–८० मा २ दशमलव ८५ प्रतिशत पुगेको थियो । यद्यपि, यस बैंकको खुद नाफामा भने १३ हजार १ सय ७५ दशमलव ८९ प्रतिशतको वृद्धि देखिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा गत आवमा ४ दशमलव २८ प्रतिशत पुगेको छ । आव २०७८–७९ मा २ प्रतिशत रहेको यो कर्जा आव २०७९–८० मा २ दशमलव ९५ प्रतिशत र अघिल्लो आवमा ३ दशमलव ६५ प्रतिशत पुगेको थियो । बैंकको खुद नाफामा भने ४९ दशमलव ५३ प्रतिशतले वृद्धि भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको भने खराब कर्जा १ दशमलव ४७ प्रतिशत पुगेको छ । अघिल्लो आवमा यसको २ दशमलव १४ प्रतिशत थियो । एभरेस्ट बैंक भने सबैभन्दा सुरक्षित देखिएको छ, जसको खराब कर्जा अनुपात शून्य दशमलव ३८ प्रतिशत मात्र छ ।

किन बढ्यो खराब कर्जा ?
आर्थिक सुस्तताका कारण उद्योग, निर्माण, व्यापार क्षेत्रमा मन्दी भएपछि ऋण तिर्ने क्षमता घट्दा खराब कर्जा बढेको हो । हिमालयन बैंक, एसबीआई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकले ऋणीको अवस्था राम्रोसँग अध्ययन नगरी हेलचेक्र्याइँ पूर्वक कर्जा प्रवाह गरेकाले खराब कर्जा बढ्न गएको र यसले सर्वसाधारण सेयरधनीलाई असर परेको छ ।

ऋणीहरूको मासिक किस्ता असह्य बनेपछि कर्जा असुलीमा समस्या हुँदा पनि खराब कर्जा बढेको बुझाइ छ । घरजग्गा, सेयर जस्ता अति जोखिमपूर्ण क्षेत्रमा कर्जा प्रवाह बढाइएकाले पनि ती बैंकमा खराब कर्जा बढेको हो । उच्च प्रतिफलको आशामा बैंकहरूले ठूला तथा जोखिमयुक्त क्षेत्र जस्तै– घरजग्गा, सेयर धितोमा कर्जा प्रभाव गर्ने गरेको देखिन्छ ।

१३ वाणिज्य बैंकको खराब कर्जा बढ्दा सातवटाले मात्र घटाएका छन् । सो अवधिमा ५ वटाको ५ प्रतिशत माथि हुँदा ६ वटाको ४ प्रतिशतदेखि ५ प्रतिशतसम्म र बाँकी नौवटाको ३ प्रतिशतभन्दा कम खराब कर्जा रहेको छ । यस अवधिमा एभरेस्ट बैंकको खराब कर्जा अनुपात मात्रै १ प्रतिशतभन्दा कम रहेको छ ।

बैंक नाफा र प्रोभिजनमा असर
निष्क्रिय कर्जा बढ्दा बैंकहरूको नाफामा प्रत्यक्ष असर परेको छ । उदाहरणका लागि, हिमालयन बैंकको खुद नाफा २२ प्रतिशतले बढे पनि ७ दशमलव २८ प्रतिशतसम्म खराब कर्जा पुगेकाले नोक्सानी व्यवस्थाको रकम बढाउनु परेको छ । गत वर्षसम्म ५५ अर्ब ९८ करोड रुपैयाँको नोक्सानी व्यवस्था गरिएको भए पनि यस वर्ष २८ अर्ब रुपैयाँमा घटाइएको छ । खराब कर्जा बढ्दा यसको प्रत्यक्ष असर बैंक मात्र होइन, समग्र अर्थतन्त्रमा पर्छ । खराब कर्जाले बैंकको नाफा घट्छ र सेयर मूल्यमा असर पर्छ । यसैगरी, खराब कर्जा बढ्दा निक्षेपकर्ताको पैसामाथि अनिश्चितता पैदा हुन्छ र बैंकिङ प्रणालीप्रति सर्वसाधारणको विश्वास कमजोर हुन्छ । यसले दीर्घकालीन जोखिममा वित्तीय प्रणाली नै अस्थिर बन्नसक्छ ।

किन बढ्यो बैंकहरूको खराब कर्जा ?
देशको कुल गार्हस्थ्य उत्पादन वृद्धिमा गिरावट, मुद्रास्फीति, आर्थिक मन्दी र बढ्दो ब्याजदरले घाटामा गएका व्यवसायहरूले ऋण तिर्न नसकेपछि बैंकहरूको खराब कर्जा बढ्न गएको विज्ञहरू बताउँछन् ।

उच्च प्रतिफलको आशामा बैंकहरूले ठूला तथा जोखिमयुक्त क्षेत्र जस्तै, घरजग्गा, सेयर धितोमा कर्जा प्रभाव गर्ने गरेको देखिन्छ । सातवटा बैंकको खराब कर्जा भने शून्य दशमलव शून्य ३ प्रतिशत बिन्दुदेखि शून्य दशमलव ६९ प्रतिशत बिन्दुसम्मले घटेको छ । १३ वटा वाणिज्य बैंकको खराब कर्जा शून्य दशमलव शून्य २ प्रतिशतदेखि २ दशमलव ८३ प्रतिशत बिन्दुसम्मले वृद्धि भएको छ । खराब कर्जा बढ्नुको मुख्य कारण उच्च जोखिममा लगानी, फिर्ता नगरेको कर्जा तथा व्यावसायिक असफलतासँग जोडिएको छ । यसले बैंकिङ क्षेत्रमा जोखिम व्यवस्थापनको चुनौती अझ बढाएको छ भने अर्थतन्त्र चलायमान नभएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमा गरेका केही सहज व्यवस्थाले पनि बैंकहरूको खराब कर्जाबापतको नोक्सानी व्यवस्थाको रकम भने घटेको छ । लचिलो नीतिगत व्यवस्था र कर्जा असुलीमा सुधार भएपछि गत वर्ष बैंकहरूको खराब कर्जाबापतको नोक्सानी व्यवस्था पनि घटेको हो ।

खराब कर्जाले कसरी हुन्छ बैंकलाई हानि ?
बैंकले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई एनपीएल (नन पर्फमिङ लोन) अर्थात् खराब कर्जा भनिन्छ । निश्चित समयभित्र भुक्तान गर्नेगरी कुनै पनि बैंक तथा वित्तीय संस्थाले ऋणीलाई निश्चित रकम उपलब्ध गराउँछ ।

यद्यपि, कहिलेकाहीँ ऋणीले निर्धारित समयमा ऋण चुक्ता नगर्ने अवस्था आउँछ । ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनसम्म पनि बैंकले ऋण उठाउन नसकेमा सो ऋणलाई खराब कर्जाअन्तर्गत राखिन्छ । सम्भव भएसम्म यस्तो कर्जा ऋण लिँदा राखिएको धितो लिलाम गरेर उठाइन्छ । कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 257 times, 1 visits today)

epaper

ताजा समाचार

कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट