संस्कृति: मनोवैज्ञानिक संरचना !

धर्म विषयमा संस्कृत उक्ति प्रसिद्ध छ, ‘धर्मो रक्षति रक्षितः ।’ यसको अर्थ हो, ‘रक्षा गरिएको धर्मले रक्षा गर्छ ।’ यसरी रक्षा गरिएको वातावरणले ‘रक्षा’ गर्छ । रक्षा गरिएको समाजले ‘रक्षा’ गर्छ । रक्षा गरिएको राजनीतिले ‘रक्षा’ गर्छ आदि । रक्षा गर्नुको तात्पर्य जोगाउनु, क्षति हुन नदिनु हो । समाज, धर्म, राजनीति, संस्कृति सबै मानिसद्वारा बनाएको हो । आज संस्कृति विषयमा संक्षिप्त विमर्श गरौं । संस्कृति बुझ्न यसको विलोम शब्द बुझ्न आवश्यक देखिन्छ । ‘संस्कृति’को विलोम शब्द ‘विकृति’ हो । यसबाट स्पष्ट हुन्छ, विकृतिबाट जोगिन संस्कृति जोगिनुपर्छ, जोगाइनुपर्छ । सारमा विकृतिबाट जोगिँदा नै संस्कृति जोगिन्छ । सामान्यतः यसरी बुझ्न सकिन्छ ।

संस्कृति बहुआयामिक विषय हो । यस शब्दले मानिसका आचार, विचार, चिन्तन, खानपान, पहिरन, पूजाआजा, गीतसंगीत, नृत्य, अभिनयद्वारा अभिव्यक्त हुने गर्छ । नेपाल भौगोलिक, भाषिक, जातीय बहुलता भएको देश हो । यसैकारण नेपाली समाज बहुसांस्कृतिक छ । यस बहुलतालाई हाम्रो देशको संविधानमा स्पष्ट रूपमा उल्लेख गरिएको छ । ‘बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल…’ पंक्ति राष्ट्रगानमा समेटिएको छ । यी संस्कृति र सांस्कृतिक विशेषता हाम्रा साझा निधि हुन् । यिनको संरक्षण तथा प्रवर्धन गर्नु हाम्रो दायिŒव हो ।

समाज सुन्दर बनाउने संस्कृतिले हो । संस्कृति सुन्दर बन्ने संस्कारले हो । संस्कार मानिसको व्यवहार हो । मानिसको व्यवहारलाई परिवार र पारिवारिक परम्पराले प्रभाव पार्छ । यसरी हेर्दा हाम्रो परम्परा र पारिवारिक व्यवहारबाट संस्कृति विकसित हुन्छ भन्ने स्पष्ट हुन्छ ।

हामीले अनेकौं ठूलाठूला क्रान्ति भएको देखेका छौं । राजनीतिक व्यवस्था तथा प्रणाली परिवर्तन गर्न यी क्रान्तिको प्रभावकारिता पनि देखिएकै हो । यस्ता क्रान्तिले राजकीय व्यवस्था र प्रणालीमा मात्र नभएर समाज र संस्कृतिमा समेत प्रभाव पारेको देखिन्छ । राजनीतिबाहेकका क्षेत्रमा यसले पार्ने प्रभाव पर्याप्त हुँदैन । राजनीतिको सीमामा संस्कृति खुम्चिन सक्दैन र हुँदैन पनि । राजनीतिका केही दार्शनिक मान्यता सार्वभौम भए पनि राज्यको दायरा संकुचित हुन्छ । राज्यका यन्त्र–संयन्त्र देशको सीमाभित्र सीमित हुन्छ र त्यसको संरक्षा सैन्यशक्तिबाट हुन्छ भने संस्कृतिको सीमा त्यसप्रकारको संकुचनमा हुँदैन । संस्कृति रक्षा सैन्यशक्तिबाट र यसको विस्तार राज्यशक्तिबाट नभई जनअवलम्बनबाट हुने गर्छ ।

त्यसैले, संस्कृति विकास र विस्तार गर्न यसको अवलम्बनमा ध्यान दिनुपर्छ । हामीले संस्कृति संरक्षण र विकास गर्न राज्यक्रान्ति गरेजस्तो आक्रामक हुनपर्दैन । अपितु यसको अनुशीलन र अनुशिक्षणका माध्यमबाट अन्तः पे्ररणा जागृत गर्न सकिन्छ । राज्यले यसविरुद्ध कदम नचालोस्, अन्यथा निर्णय नगरोस् भन्ने खबरदारी स्वाभाविक हुन्छ भने यसको विस्तारको जिम्मेवारी अनुयायीमा नै रहनुपर्छ । संस्कृतिको प्राज्ञिक स्रोत वेद हो । यसको व्यावहारिक स्रोत परम्परा हो । यसका बाहक जनता हुन् । यसका साधन वा माध्यम खानपान, पहिरन, नाचगान, बोलीवचन, अनुष्ठान, यज्ञादि सामूहिक कार्य, सदाचार आदि हुन् । यी अनुकरणीय हुँदा संस्कृति अविरल बन्छ । यही ग्रहणशीलताका कारण यसलाई ‘धर्म’ भनिएको हो ।

‘मनुस्मृति’मा भनिएको ‘धृतिः क्षमा दमो…’ आदि अर्थात् ‘धीर रहनु, सहिष्णु हुनु, चित्त नियन्त्रणमा राख्नु, पवित्र रहनु, इन्द्रियलाई विवेकको अधीनमा राख्नु, बुद्धियुक्त हुनु, ज्ञानी हुनु, साँचो बोल्नु, क्षमाशील हुनु, हिंसा नगर्नु’ यी १० कर्मलाई धर्मको लक्षण भनिएको छ । यिनैको निरन्तर अवलम्बनबाटै असल संस्कृति विकास हुनसक्छ ।

संस्कृति बहुआयामिक विषय हो । यस शब्दले मानिसका आचार, विचार, चिन्तन, खानपान, पहिरन, पूजाआजा, गीतसंगीत, नृत्य, अभिनयद्वारा अभिव्यक्त हुने गर्छ । नेपाल भौगोलिक, भाषिक, जातीय बहुलता भएको देश हो । यसैकारण नेपाली समाज बहुसांस्कृतिक छ । यस बहुलतालाई हाम्रो देशको संविधानमा स्पष्ट रूपमा उल्लेख गरिएको छ

हामी सनातन संस्कृतिका अनुयायीलाई प्रसंग–बिनाप्रसंग, ठाउँ–बेठाउँ ‘मनुवादी’ भनेर आलोचना गर्ने गरिन्छ । मनु को थिए ? कहिलेका थिए ? कति थिए ? भन्ने बुझ्दै नबुझेका विचराहरूको के कुरा गर्नु ? हामी आपूmहरू सनातनको झन्डा बोक्ने, यसका प्रतीक चिह्नहरू धारण गर्नेहरू आफ्ना घरघरमा, परिवार र समाजमा यसविपरीत व्यवहार गरिरहेका हुन्छौं । न पहिरनमा मन थाम्न सक्ने, न खानपानमा धानिन सक्ने, न अन्य व्यवहारमा देखिनेगरी फरक हुनसक्ने ? अनि अरूप्रति असहिष्णु हुने कुराले हाम्रो संस्कृतिमा ऋणात्मक प्रभाव पारिरहेको छ । सार्वजनिक बहसमा स्वधर्म र संस्कृतिको नारा चर्काउने, तर व्यवहारमा त्यस प्रतिबद्धतामा कायम नरहने प्रवृत्तिले हाम्रो सांस्कृतिक धरातल कमजोर भइरहेको छ । अझ यसको नाममा गरिने ‘भोटको राजनीति’ र सनातन संस्कृतिलाई ‘रोजगारीको मेलो’मात्र मान्ने प्रवृत्ति त झनै खतरनाक देखिन्छ ।

पंक्तिकारको मान्यता रहिआएको छ, ‘परम्परा नसुधारिएको संस्कृति हो भने संस्कृति सुधारिएको परम्परा हो ।’ राम्रा परम्परालाई विकसित गर्दा मात्र संस्कृति संरक्षण राम्रो संस्कृति विकसित हुनसक्छ । यो हाम्रा लागि चुनौती र दायिŒव दुवै हुन् । मनुको यस भनाइले हामीलाई त्यही निर्देश गरेको छ:

एतद्देशप्रसूतस्य सकाशादग्रजन्मनः ।
स्वं स्वं चरित्रं शिक्षेरन् पृथिव्यां सर्वमानवाः ।।

अर्थात्, यस देशमा जन्मेकाअघिकाहरूबाट पृथ्वीका अरू मानिसले पनि त्यही सिके । हाम्रा व्यवहार अरूले सिक्न लायकका रहे भने हाम्रो संस्कृति उत्तरोत्तर प्रगतिसाथ जीवन्त हुनेछ । अन्यथा, ओरालो लाग्ने नै हो । हामीले हाम्रो संस्कृतिलाई ओरालो लाग्न नदिन के गर्नुपर्ला ? आफैंसँग उत्तर खोजौं । यसै पनि संस्कृति मानव चरित्रको प्रकटीकरण हो । यसमा मानिस धर्म, कला, विज्ञान के हो ? भनेर अलमलिएको देखिन्छ । तर, संस्कृतिमा यी तीनै विषय पाइन्छ । संस्कृतिलाई धर्म र कला मिसिएको परम्पराबाट प्राप्त समाज विज्ञान हो भन्न सकिन्छ । यसमा धर्म छ, कला छ र परम्पराको विरासत छ तर अहिले नै जीवन्त छ । यसलाई हामीले जीवनचरित्र बनाइरहन सक्दा मात्र यसको जीवन छ, अन्यथा संस्कृति जीवित रहन सक्दैन । कुनै पनि सचेत मानिसले आफ्नो पुर्खाले स्थापना गरेको धर्म, विकसित गरेको कला र अवलम्बन गरेको विज्ञानलाई निरर्थक हुन दिँदैन । यस दृष्टिले हेर्दा हामी कतै चुकिरहेका त छैनौं ? संस्कृतिलाई जीवनबाहिर खोजिरहेका त छैनौं ? आपूmमा हराउँदै अरूमा खोजिरहेका त छैनौं ? कहीँ, कसैसँग मागिरहेका त छैनौं ? यसतर्फ ध्यान दिन आवश्यक छ ।

धर्म’bout थोरै चर्चा माथि नै गरिएको छ । यहाँ विसद चर्चा सम्भव पनि छैन । ‘यतोद्रभ्युदयनिश्रेयससिद्धिः स धर्मः’ जसबाट यस लोकमा र मरेपछि पनि सुख प्राप्त हुन्छ, त्यो धर्म हो । धर्म ६ प्रकारका छन् ः कार्यविभाजनमा आधारित–वर्णधर्म, आश्रमधर्म, वर्णाश्रमधर्म, गुणधर्म, निमित्तधर्म, साधारणधर्म । यी मान्यता सनातन पद्धतिमा विकसित प्रबन्ध हुन् । यी सबैमा यिनमा अधिकार, कर्तव्य, अनुशासन, मर्यादा आदि विषय समाविष्ट छन् । त्यसैले, यी विषय हाम्रो संस्कृतिका आधार हुन् ।

आधुनिक लोकतान्त्रिक राज्य व्यवस्थामा शक्ति पृथकीकरणलाई महŒवपूर्ण विषय मानिन्छ । हाम्रो वर्ण, वर्णाश्रम आदि यस सिद्धान्तका आधार हुन् । राज्यका पृथकीकरण गरिने शक्तिका रूपमा व्यावस्थापिका, कार्यपालिका र न्यायपालिकाका रूपमा स्वीकार गरिएको छ र अवलम्बन गरिएको छ । राज्यका यी अंगको काम–कारबाही, औचित्य र प्रभावकारिताका लागि सञ्चारको भूमिका अहम् देखियो र यसलाई (सञ्चार क्षेत्र) राज्यको चौथो अंगका रूपमा मानियो । कुनै देशको संविधान तथा ऐन, कानुनमा यो विषय लेखिएको छैन, तर सञ्चार क्षेत्रलाई राज्यको ‘चौथो अंग’ भनेर सबैले यसलाई स्वीकार गरेको पाइन्छ । तर, अलि गम्भीर भएर सोचौं त † व्यावस्थापिका, कार्यपालिका र न्यायपालिका राज्यकै अंग भए । अनि सञ्चार क्षेत्र ? यो नाफामुखी क्षेत्र अर्थात् उद्योग भयो ।

के नाफा कमाउने उद्देश्यको कुनै उद्योग, सेवा वा व्यवसाय राज्यको अंग हुनसक्छ ? उसो भए अन्य अनेकौं व्यवसाय किन राज्यको अंग बन्न सक्दैनन् ? वस्तु, सेवा होस् अन्य केही, यदि नाफाका लागि हुन्छ भने त्यो सबैले मान्नुपर्ने राज्यको अंग हुन सक्दैन । अब बेला भएको छ, वास्तवमा राज्यको थप अंग सांस्कृतिक क्षेत्र हुनसक्छ । संस्कृति राज्यको पहिचान हो । यस्तो पहिचान विषय राज्यको अंग बन्न मिल्दैन ? अवश्य मिल्छ । तर, यस क्षेत्रले त्यसखाले भूमिका निर्वाह गर्न सक्नुपर्छ ।

संस्कृति भनेको भकारीमा थन्क्याएर राखिएको खाद्यान्न होइन । बरु, यो उमार क्षमता भएको बीउ हो । संस्कृति आक्रामक विषय पनि होइन र यो आक्रान्त पनि हुनुहुँदैन । यसको भौगोलिक सिमाना तोकिएको हुँदैन । यो मूर्त मात्र पनि हुँदैन । यसमा परिष्कार गर्दै जाँदा मात्र विकास हुन्छ । स्वयं संस्कृति शब्दको अर्थ पनि परिष्कार नै हो । संस्कारसँग जोडेर हेर्दा यसलाई सत्कर्मको सकारात्मक परिणति हो भन्न सकिन्छ । अर्को शब्दमा संस्कृति ‘मनोवैज्ञानिक संरचना’ हो ।

अहिले मानिस राज्यका सीमा नाघेर, महादेश काटेर जीविकाका लागि बिदेसिने प्रवृत्ति बढेको छ । मानिस आज मात्र होइन, उहिले पनि सहजता खोजीमा अनेकौं भूखण्ड चहार्थे । उपयुक्तताका आधारमा पुस्तौंपुस्ता बस्थे । केही मानिस कुनै ठाउँमा छोटो समय बस्थे । मानव समाजको इतिहास र वंशावली पढ्दा यस्ता विषय भेटिन्छन् ।

त्यतिबेला राष्ट्रिय पहिचानको विषय नभएकाले यस्तो विषय सामान्य रहेको होला । तर, अहिले हरेकको फरकफरक पहिचान र राष्ट्रिय पहिचानको विषय प्रबल बनेको अवस्था छ । अहिले यसतर्फ ध्यान नदिने र उदासीन रहने हो भने अरू कसैको, अन्य कुनै देशको संस्कृतिले ढाक्नसक्छ । सांस्कृतिक उपनिवेशको प्रभाव विस्तार हुँदा र पछि त्यसैका आधारमा हेलाहोचोमा पर्दा पछुताउनुको विकल्प नरहन सक्छ ।

अरूबाट असल विचार, शिक्षा, पद्धति, ज्ञान, सीप आदि जीवनोपयोगी विषय ग्रहण गर्न हुन्छ । आफ्ना विचार, शिक्षा, पद्धति, ज्ञान, सीप, अनुभवबाट अरूलाई पनि लाभ पु-याउन हुन्छ । यसो गर्दा अरूको उपनिवेशबाट जोगिने र अरूमा पनि आपूm हाबी नहुनेगरी सांस्कृतिक आदानप्रदान र विकासमा ध्यान दिन आवश्यक देखिन्छ । विकृतिबाट आफू जोगिन र समाजलाई जोगाउन आवश्यक संस्कृतिका अनेकौं आयाम छन् । संस्कृतिका मामिलामा जोगाएर जस्ताको तस्तै राखेर हुँदैन, निरन्तर परिष्कार आवश्यक हुन्छ । आज यसो गर्ने जिम्मेवारी कसको हो ? भन्ने प्रश्न उब्जिएको छ । कसैको जिम्मेवारीमा नपर्ने संस्कृति त लावारिस हुन्छ । तर, हाम्रो संस्कृति लावारिस संस्कृति होइन र हुन सक्दैन । यसलाई शिक्षासँग जोड्न सक्दा दिगो र दरिलो बन्नसक्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'