काठमाडौं । सरकारको अकर्मण्यताले काठमाडौं उपत्यकालगायत देशैभरको आर्थिक गतिविधि ठप्प भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालमा अंकुश लगाएकै कारण सोमबारदेखि काठमाडौंलगायत मुलुकभर सुरु भएको जेनजी पुस्ताको प्रदर्शनीको दोस्रो दिन मंगलबार काठमाडौंको आर्थिक गतिविधि नराम्रोसँग प्रभावित बन्यो ।
पहिलो दिनको केही क्षणमै १९ जनाको ज्यान लिएको सरकारले बिहानैदेखि सडक आन्दोलनमा उत्रिएको जेनजी पुस्ताको आक्रोश थप बढ्दै राष्ट्रपति र प्रधानमन्त्री निवासदेखि फेला परेसम्मका हरेक नेताको घर हुँदै उनीहरूको लगानी जोडिएका व्यापारिक भवन तथा होटलहरूमा पनि खनियो ।
राष्ट्रपति रामचन्द्र पोडेलको काठमाडौंको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासलगायत धेरै नेताको घर र उनीहरूको लगानी जोडिएको हिल्टन होटल, भाटभटेनी सुपरमार्केट, कांग्रेस सांसद् राजेन्द्र बजगाईंको बालुवाटारस्थित एक नयाँ होटलमा पनि आगलागी र तोडफोड भएको छ ।
निषेधाज्ञा आदेशको कुनै प्रवाह नगरी प्रदर्शनमा उत्रिएका युवाको भड्किएको आन्दोलनबाट स्थितिलाई नियन्त्रणमा लिने मंगलबार दिनभरको सुरक्षाकर्मीको प्रयास विफल बन्यो । यस्तो चर्को आन्दोलन र मंगलबार दिनभर लगाइएको निषेधाज्ञाका कारण काठमाडौं उपत्यकालगायत देशैभरको आर्थिक गतिविधि नराम्रोसँग प्रभावित भएको हो ।
स्कुल, कलेजहरू बन्द थिए । धेरै व्यापारिक प्रतिष्ठान, पसलहरू सबै बन्द थिए । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका व्यापारिक क्षेत्रमा पसलका सटरहरू सबै बन्द थिए । उद्योग कलकारखानाका मजदुरहरू पनि बन्द भएको उद्योगबाट निस्किएर आन्दोलनमा पुगेका थिए । दिनभर चर्किएको जेनजी पुस्ताको आन्दोलनले निषेधाज्ञा क्षेत्रका बैंकका शाखा कार्यालय पनि बन्द थिए ।
काठमाडौंमा दिनभर सार्वजनिक यातायातका साधनहरू चलेका थिएनन् । मंगलबार दिउँसो साढे ३ बजेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान पनि बन्द भएको थियो ।
चौधरी ग्रुपको काठमाडौंको सतुंगलस्थित कारखानामा पनि आगजनी भएको छ । सीजीको यस कारखानामा टेलिभिजन, रेफ्रिजिरेटर, माइक्रो ओभन, वासिङ मेसिनलगायत घरायसी विद्युतीय उपकरण उत्पादन तथा एसेम्बल गरिँदै आएको छ । सीजी इलेक्ट्रोनिक्स एलजीको नेपालस्थित आधिकारिक वितरक कम्पनी हो ।
आन्दोलनमा उत्रिएका जेनजी पुस्ताको भीडले काठमाडौंको लैनचौरस्थित एनसेल मुख्यालय टावरमा पनि आगजनी गरेका छन् । सूचना प्रदायक कम्पनी एनसेल विदेशी लगानीको मोबाइल कम्पनी हो ।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले निषेधाज्ञा जारी भएका क्षेत्रमा र आसपासका स्थानमा बैंकका शाखा बन्द रहेको जानकारी दिए । उनले यस्तो अवस्थामा बैंकिङ सुरक्षालाई ध्यानमा राखेर निषेधाज्ञा जारी भएको क्षेत्रमा बैंकका शाखा नखोल्ने निर्णय भएको बताए । बैंकर्स संघको सोही निर्णयअनुसार विभिन्न स्थानका बैंकका शाखा कार्यालय बन्द भएका हुन् । निषेधाज्ञा नभएका स्थानमा पनि कर्मचारी अन्यत्रबाट जानुपर्ने भएकाले शाखा खोल्न सम्भव नहुने देखिएको संघले जनाएको छ ।
जेनजी पुस्ताको सरकार विरोधी प्रदर्शनबाट काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा लुटपाट र आगजनी भएको छ । व्यापारी मीनबहादुर गुरुङको मुख्य लगानी रहेको भाटभटेनी चेनको यो पहिलो स्टोर हो । आगो लगाउनुअघि प्रदर्शनकारीले भाटभटेनी स्टोरबाट सामानहरू पनि फालिदिएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले जानकारी गराएका छन् ।
पौडेलले भाटभटेनी सुपर स्टोरमा भएको क्षति’bout यकिन नभएको जानकारी दिए । नक्सालमा रहेको भाटभटेनी सुपर स्टोर २०४३ सालमा व्यवसायी गुरुङले बनाएका थिए ।
सरकारको कमजोरीपछि भएको यस आन्दोलनबाट उत्पन्न परिस्थितिबाट भएको ठूलो जनधनको क्षतिप्रति निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले दुःख व्यक्त गरेको छ ।
महासंघले मर्यादित रोजगारी, स्वरोजगारी, सर्वसाधारण एवं उद्यमी व्यवसायीले तिरेको राजस्वको सदुपयोगलगायतका विषयमा युवा पुस्ताले देखाएको चासोप्रति संवेदनशील हुन सरकार, राजनीतिक दलहरूलगायत सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारलगायत सम्पूर्ण सबै राजनीतिक दल एवं जेनजी पुस्तामा अपिल गर्दै महासंघले युवाको चाहनाअनुरूप नागरिकको सरकारी सेवामा सहज र मर्यादित पहुँच, स्वतन्त्र भएर पेसा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चिततासँगै लगानी एवं रोजगारी प्रवर्धनका लागि उपयुक्त वातावरण बनाई समुन्नत समाज निर्माणमा योगदान पु¥याउन आग्रह गरेको छ ।
यसैगरी, नेपाल चेम्बर अफ कमर्सले पनि यस आन्दोलनबाट उत्पन्न परिस्थितिमा दुःख व्यक्त गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सुरक्षाको प्रत्याभूति नभएसम्म काठमाडौं उपत्यकासहित देशभरका सार्वजनिक यातायात नचलाउने घोषणा गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् । जेनजी पुस्ताको प्रदर्शन रोक्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं उपत्यकाको चक्रपथभित्र निषेधाज्ञा जारी गरेको छ भने देशका विभिन्न सहरमा पनि निषेधाज्ञा जारी राखेको छ ।






