राजविराज । नगरमा कफ्र्यु लागि रहेका बेला राजविराज कारागारबाट ठुलो संख्यामा कैदीबन्दी फरार भएका छन् । बुधबार बिहान ११ ः ५० बजे तिर कारागार भित्र आगजनी तथा मुल ढोकाको ताल्चा फुटाएर २ सय ५ जना कैदीबन्दी फरार भएका हुन् ।
प्रहरीका अनुसार सुरुमा कारागार भित्र रहेका फर्निचर र सुत्ने ओच्छयानहरुमा आगो लगाएका कैदीबन्दी त्यस पछि मुल ढोकाको ताल्चा फुटाएर फरार भएका छन् । भागेका मध्ये अधिकांश ‘बी’ ब्लकका कैदीबन्दी छन् ।
राजविराज कारागारमा पुरुष कैदीबन्दीका ‘ए र बी’ गरी दुई ब्लक तथा महिला कैदीबन्दीका लागि छुटै गरी कुल तीन ब्लकमा हाल ३ सय ९५ कैदीबन्दी रहेका थिए । जसमा २३ महिला समेत गरी कुल ३ सय ९५ कैदीबन्दी रहेकोमा आधि भन्दा बढी कैदीबन्दी फरार भएका छन् । प्रहरी उपरिक्षक गौतम कुमार केशीले फरार भएका मध्ये २४ जनालाई फरार भएको एक घण्टा भित्रै पक्राउ गरि सकेको जानकारी दिए ।
अन्य फरार कैदीबन्दी भारत तर्फ भाग्न सक्ने अनुमानका साथ सिमानाका क्षेत्र समेत शिल गरी खोज तलास तीब्र बनाईएको उनको भनाई छ ।

कारागारबाट एकै साथ ठूलो संख्यामा कैदीबन्दी फरार भएपछि अब अहिले कम कैद सजाय भएका, सजाय भुक्तानको समय नजिकिएका, बिरामी परेका र हिडडुलमा समस्या भएका जेष्ठ नागरीक जस्ता कैदीबन्दी मात्र रहेको जेलर गंगालाल योगिले बताए ।
‘अचानक भित्र आगो लगाए त्यसपछि नियन्त्रणको प्रयासमा सुरक्षाकर्मीहरु दोडादौड गर्न लागेको मौका छोपि उनीहरुले मुल गेटको ताल्चा फुटाएर भागन थालेको उनको भनाई छ । भाग्ने क्रममा उनीहरुले कारागारका कर्मचारी र सुरक्षाकर्मीहरु माथि पानीको बोतल तथा अन्य सरसमानबाट समेत प्रहार गर्न थालेको उनले सुनाए ।
कैदीबन्दीले भाग्नका लागि कारागारको दक्षिण तर्फ रहेको भित्तामा प्वाल पारेका थिए । तर त्यहाँबाट भागन कठिन हुने देखिएर मुल गेटकै ताल्चा फुटाएको प्रहरीको भनाई छ । जेनजीको अघिलो दिन भएको हिंसात्मक आन्दोलनका कारण नगरमा कफ्र्यु लागेको र सेना, सशस्त्र तथा नेपाल प्रहरीको बाक्लो उपस्थिती बजार तर्फ परिचालन भएको मौका छोपि कैदीबन्दीहरु मुल ढोका फुटाएपछि कारागारको पछाडिको बाटो हुँदै भागेको स्थानीहरुले बताएका छन् ।
कैदीहरु भाग्न थालेको खबर पाएपछि पुगेको सेना, सशस्त्र र नेपाल प्रहरीले दर्जनौ राउण्ड अश्रृग्यास र हवाई फायर गरेर थप कैदीबन्दीलाई भाग्नबाट रोकेका थिए । यस अघि अघिलो दिन साझ जेनजीका प्रदर्शनकारीले कारागारमा समेत तोडफोड गर्ने प्रयास गरेका थिए । तर सुरक्षा निकायले सो प्रयास असफल पारेका थिए ।
सम्बन्धित समाचार







