राजविराज । राजविराजमा मंगलबार दिउँसो ३:३० बजेदेखी अनिश्चितकालिन काफ्र्य आदेश जारि भएको छ । यद्दपी कफ्र्यु आदेशको अवज्ञा गर्दै साँझसम्म पनि प्रदर्शन जारि रहेको छ ।
एकाबिहान देखी जेनजीको पक्षमा सुरु भएको प्रदर्शन दिउँसो १ बजेदेखी तोडफोड र आगजनीमा परिणत भएपछी स्थिति तनावग्रस्त बन्दै गएको थियो । स्थिती काबु बाहिर गएपछी जिल्ला प्रशासन कार्यालयले दिउँसो ३ः३० बजेदेखी राजविराज नगरपालिका र सो पालिकासँग जोडिएको विष्णुपुर गाउँपालिकाको केही क्षेत्रमा समेत अर्को आदेश जारि नभएसम्मको लागि कफ्र्यु आदेश जारि गरेको हो ।
बिहान केही शान्त देखिएपनि बिस्तारै बिस्तारै सहभागिता बढ्दै गएपछी प्रदर्शनकारीले सप्तरी सदरमुकाम राजविराजस्थित नेकपा एमाले, नेपाली काँग्रेस, जनमत र जसपा नेपाल पार्टी कार्यालय भवनमा तोडफोड र आगजनी गरेका थिए ।
त्यसपछी उनीहरु सरकारी कार्यालयतर्फ सोझिएका थिए । यसक्रममा राजविराज नगरपालिका, सप्तरी जिल्ला अदालत, उच्च अदालत जनकपुर राजविराज इजलाश, डिभिजन वन कार्यालय, भौतिक वूर्पाधार विकास कार्यालय, नापी कार्यालयमा समेत प्रदर्शनकारीले ताडफोड र आगजनी गरेका छन् ।
प्रदर्शनकारीले विभिन्न पार्टी कार्यालयका साथै सरकारी कार्यालयका आवश्यक कागजात, फर्निचर र दर्जनौं सवारीसाधनसमेत जलाएर नष्ट पारेका छन् ।

राजविराज नगरपालिकाको एकवटा एम्बुलेन्स, दुई वटा बारुणयन्त्र समेत जलेर नष्ट भएको नगरपालिकाले जनाएको छ । प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय समेत जलाउने तयारी गरेका थिए । तर, पार्टी कार्यालय पत्ता लगाउन नसकेपछी पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता उमेश प्रसाद यादवको निवासमा ढुंगामुढा गरि क्षति पु¥याएका छन् । सो क्रममा नेता यादव चढ्ने स्कारपियो गाडीमा समेत प्रदर्शनकारीले तोडफोड गरि क्षति पु¥यायाएका छन् ।
प्रदर्शनकारीले नेपाल पत्रकार महासंघ सप्तरी शाखामा समेत ढुंगामुढा गरि झ्याल, ढोकाको सीसाहरु फुटाएको संघले जनाएको छ ।
जेनजी समूहको बिहानको प्रदर्शन शान्तिपूर्ण भएपनी बिस्तारै बिस्तारै उग्रभएपछी करोडौंको क्षति भएको सम्बन्धित पार्टी र कार्यालयले जनाएको छ । आगो निभाउन आएका बारुणयन्त्रलाई समेत प्रदर्शनकारीले रोकेपछी बढी क्षति भएको उनीहरुको भनाई छ ।
शिक्षण संस्था र बजारसमेत बन्द गराएर स्थानीय यूवा र विद्यार्थी बिहानैदेखी प्रदर्शनमा उत्रेका थिए । प्रदर्शनकारीले यसरी तोडफोड र आगजनी गरिरहँदा सुरक्षाकर्मीहरुले भने संयमता अपनाउँदा कुनै झडप तथा मानविय क्षति हुन पाएन् । यद्दपी प्रदर्शनकारीले गरेको ढुंगामुढाबाट तीन जना प्रहरीको टाउँको फुटेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।






