भष्ट्रचारविरुद्ध ४ घण्टा उभिएर बिरोध प्रदर्शन

स्याङ्जा । चापाकोट नगरपालिका १० का दिपेश भण्डारी चारदिन देखी उभिएर विरोध जनाइरहेका छन् । मुलुकमा बढ्दो भष्ट्रचार र बेथिति बिरुद्ध भण्डारीले उभिएर सांकेतिक विरोध जनाएका हुन् ।

स्याङ्जा चापाकोट नगरपालिकाको सुन्तलीटार स्थित सडक छेउमा राष्ट्रिय झण्डा काँधमा बोकेर दुई ओटा प्लेकार्ड बोकेर उनी चारदिन देखी बिरोधमा छन् । भदौ २९ गते आइतबारबाट दिउँसो २ बजेदेखी बेलुका ६ बजेसम्म चारघण्टा उनले भष्ट्रचार र बेथितिको अन्त्यको माग गर्दै उनले आन्दोलन शुरु गरेका हुन् ।

भण्डारीले बोकेका प्लेकार्डमा ‘देश बेच्ने पार्टी खारेज गर’ र ‘भष्ट्रचारीलाई मुण्डन गरी देश निकाला गर’ भन्ने नारा लेखिएका छन् । २८ बर्षिय भण्डारी हालसालै ‘जेन जी’ ले गरेको आन्दोलनका समर्थक समेत हुन् । ‘जेन जी’ ले उठाएका मागहरु ओझेलमा परेको समेत भण्डारीले बताएका छन् ।

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बनाउनुपर्ने माग हामीले राखेका थियौं उनले भने,‘अन्तरिम सरकारले फागुनमा गराउने निर्वाचनमा यो हुने सम्भावना देखिन ।’ तत्काल संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गराउनुपर्ने प्रक्रिया अगाडी बढाउनु पर्छ उनले भने ।

देशभरी मौलाएको भष्ट्रचार सगै आफ्नै नगरमा भएको भष्ट्रचार बिरुद्ध आफ्नो आन्दोलन शुरु भएको भण्डारीको भनाई छ । लोकतान्त्रिक निर्वाचन, वडातहसम्म जनताको अधिकार, जनताले चाहेको मागलाई संबोधन, माटो परिक्षण गरी बिषादीयुक्त कृषि उत्पादन सहित पर्यावरण जोगाउने लगायतका मागहरु उनले उठाएका छन् । पहिलो चरण चारघण्टा उभिएर सांकेतिक आन्दोलन शुरु गरेको बताउदै भण्डारीले अन्तरिम सरकारले ‘जेन जी’का माग पुरा नभएमा आमरण अनसन सम्म बस्ने संकेत गरे ।

पुराना पार्टीले सुशासन कायम गर्न नसकेको र भष्ट्रचारलाई संस्थागत गरेकाले हाम्रो पुस्ताले आन्दोलन गर्नु परेको भण्डारीले बताए । मैले गरेको सांकेतिक आन्दोलनले भष्ट्रचारबिरुद्धको जनचेतना जगाउने पनि लक्ष्य रहेको उनले बताए ।

भण्डारी एक्लै सडक छेउमा उभिएर बिरोध जनाएकोमा स्थानीयको समेत साथ रहेको बताइएको छ । एकजना युवाले भष्ट्रचार र सुशासन बिरुद्ध गरेको सांकेतिक बिरोधलाई सबैले साथ दिनुपर्ने स्थानीयले बताएका छन् ।

भदौं २३ र २४ गते देशभर भएको ‘जेन जी’ को आन्दोलनले स्याङ्जामा सामान्य क्षती भएको थियो । अन्य जिल्लाको क्षतीको तुलनामा स्याङ्जामा ‘जेन जी’ ले खेलेको भुमिका राम्रो भएकै कारण जोगिन पुगेको बताइएको छ ।

क्षती गरेर मात्रै आन्दोलन सफल नहुने भन्दै यस्तै सांकेतिक बिरोधले पनि हरेक मागलाई सम्बोधन गर्न सहज हुने स्याङ्जावासीले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

epaper

ताजा समाचार

२६ जेष्ठ २०८३