झन्डै ३५ सय मतदाताको नाम हटाइयो

स्याङ्जा । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले झन्डै ३ हजार ५ सय मतदाताको नाम हटाएको छ । २०७९ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेपछि ३ हजार ४ सय ७८ जनाको नामावली हटाएको हो ।

मृत्यु, दोहोरो र नागरिकता त्याग गरेका आधारमा कार्यालयले मतदाता नामावलीबाट नाम हटाएको निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिए ।

प्रमुख थापाका अनुसार स्याङ्जामा ३ हजार १ सय ८३ जनाको मृत्यु भएका कारण मतदाता नामावलीबाट नाम हटाइएको बताए । त्यस्तै, दोहोरो नामावली भएका २ सय ८४ र नागरिकता परित्याग गर्ने ११ जनाको पनि मतदाता नामावलीबाट नाम हटाइएको छ । जसबाट २०७९ मंसिरमा भएको निर्वाचनपछि कार्यालयले अद्यावधिक गर्दा ३ हजार ४ सय ७८ मतदाता नामावलीबाट हटेका हुन् । सो अवधिमा स्याङ्जामा १ हजार ७ सय ८३ जना नयाँ मतदाता थपिएका छन् । यो तथ्यांक २०८२ वैशाख मसान्तसम्मको हो ।

२०७९ साल मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्याङ्जाबाट २ लाख ४४ हजार ८९ जना मतदानमा सहभागी भएको थिए । तर, वैशाख मसान्तसम्म स्याङ्जामा २ लाख ४१ हजार ९ सय १० जना मतदाता रहेको निर्वाचन कार्यालयका प्रमुख थापाले बताए । यस हिसाबले हेर्दा स्याङ्जाको मतदाता संख्या घटेको देखिन्छ । जसमा महिला १ लाख २३ हजार ६ सय ४२ र पुरुषको संख्या १ लाख १८ हजार २ सय ६७ अन्य १ जना रहेको छ ।

रुपन्देहीलगायत केही क्षेत्रमा कात्तिकमा तोकिएको उपनिर्वाचनका लागि निर्वाचन आयोगले १६ असारबाट मतदाता नामावली खिचाउन बन्द गरेको छ । आयोगले अन्तिम नामावली २५ भदौमा प्रकाशन गर्ने तयारी गरिरहँदा २३ र २४ भदौको जेनजी आन्दोलनले सरकार नै फेरिएपछि स्थगित गरेको थियो । जसले गर्दा नयाँ निर्वाचन मितिसमेत तोकिएको छ ।

अन्तरिम सरकारले २१ फागुनमा निर्वाचनको मिति तोकेपछि धेरै मतदानबाट वञ्चित हुने चर्चासमेत चल्न थालेको छ । मतदाता नामावलीमा नाम दर्ता नभएकाहरूका लागि के गर्ने भन्ने विषय छलफलका क्रममा रहेको आयोगले जनाएको छ । मतदाता नामावली ऐन, २०७३ अनुसार निर्वाचन मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि नाम दर्ता गरिनेछैन भन्ने व्यवस्था रहेको छ । तर, कसैले नागरिकता बनाउँदा मतदाता नामावलीमा पनि नाम दर्ता गराएका छन् र उनी आउँदो निर्वाचनको अघिल्लो दिन अर्थात् २० फागुनमा १८ वर्ष पूरा हुन्छन् भने त्यस्ता व्यक्तिले पनि मतदान गर्न पाउने बताइएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको ३२ चैत २०८१ सम्मको तथ्यांकअनुसार १ करोड ८१ लाख ४८ हजार ६ सय ५४ मतदाता रहेका छन् । जुन अघिल्लो प्रतिनिधिसभा निर्वाचनको भन्दा १ लाख ६० हजार ५४ ले बढी हो ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

epaper

ताजा समाचार

अब मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य