कैलालीमा मालपोत र नापीको सम्पूर्ण सेवा सुरु हुन अझै एक हप्ता लाग्ने

धनगढी । जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते आगजनी भएको मालोपत कार्यालय र नापी कार्यालय धनगढीको सम्पूर्ण सेवा सुरू हुन अझै एक हप्ता लाग्ने भएको हो । आगजनी र तोडफोड भएको यी दुबै कार्यालयको अहिले मर्मत चलिरहेको छ ।

मालपोत कार्यालयको कोठा नम्बर १२ पूर्ण रुपले जलेकोले अहिले मर्मतको काम भइरहेको प्रमुख मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले बताए । उनले कार्यालयमा रङ लगाउने काम सकेर कोठा मर्मत गर्ने काम भइरहेको बताए । मालपोत कार्यालयको वाइरिङ पूर्णरुपमा जलेर नष्ट भएकाले तुरून्तै सेवा सुरू गर्न समस्या भएको छ । दुई तले कार्यालय भवनमा आगलागीका कारण वायरिङ जलेर नष्ट भएको छ ।

प्रमुख मालपोत अधिकृत दौल्यालले विद्युत बिना सेवा दिन नसकिने भएकाले वायरिङ गर्दासम्म करिब एक हप्ता लाग्न सक्ने बताएका छन् । कार्यालयमा कम्प्युटर समेत जलेकाले कम्प्युटर प्राप्त हुना साथ सेवा सञ्चालनमा सहज हुने बताए । ’हामीले अहिले रङ लगाउने काम सकेका छौँ । कोठा नम्बर १२ को मर्मत चलिरहेको छ,’ उनले भने, ’वायरिङ गर्न बाँकी नै छ। वायरिङ गरेपछि सेवा सुरू गर्न सहज हुन्छ । सबै सेवा सुरू गर्न एक हप्ता लाग्न सक्छ ।’

नापी कार्यालमा आंशिक सेवा सुरू
नापी कार्यालय धनगढीबाट भने आंशिक सेवा मात्रै सुरु भएको छ । कार्यालयको एक कोठमा आगजनी भएको थियो भने कम्प्युटर फुटाइएकाले सेवा सञ्चालनमा समस्यम भएको छ ।

मालपोतको काम सुरू हुनासाथ नापीकाट दिइने सम्पूर्ण सेवा सुरू हुने प्रमुख मालपोत अधिकृत जनकराज भट्टले बताए । उनले नक्सा उतार र फिल्ड बुक उतारको काम भने सुरू भएको जानकारी दिए । ’हामीले नक्सा र फिल्ड बुक उतारको काम गर्न थालेका छौँ । कर्यालयका सम्पूर्ण कम्प्युटर र उपकरणमा क्षति भएको छ भने मालपोतको सेवा समेत सुरू नभएकाले हामीले पनि सबै सेवा सुरू गर्न सकेका छैनौँ,’ उनले भने, ’कम्प्युटर भयो र मालपोतको सेवा सुरू भयो भने हाम्रो कार्यालयको पनि सबै सेवा सुरू हुन्छन् ।’

नापी र मालपोत कार्यालयका कम्प्युटर लगायतका उपकरणमा तोडफोड र आगजनी गरेर नष्ट भएका छन्। जसका कारण पनि सेवा सुचारू गर्न समस्या भएको अधिकारीहरूले बताएका छन् ।

सुदूरपश्चिमका १७ पालिका कार्यालयमा क्षति
जेन्जीको आन्दोलनले सुदूरपश्चिमका सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुग्यो । नेपाल नगरपालिका संघले संकलन गरेको तथ्यांकमा पनि यहाँका भौतिक संरचनामा ठूलो क्षति पुगेको उल्लेख छ । सुदूरपश्चिममा पाँच वटा नगरपालिकामा आगजनी भएको छ ।

यस्तै जेन्जी आन्दोलनले क्षति पु¥याएका गाउँपालिका भवनको विवरण पनि सार्वजनिक भएको छ । गाउँपालिका राष्ट्रिय महासंघले जेनजी आन्दोलनका कारण क्षति पुगेका गाउँपालिका, वडा कार्यालय र जनप्रतिनिधिका घरहरूको तथ्यांक सार्वजनिक गरेको हो ।

तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा गाउँपालिकाको प्रशासनिक भवन १ पूर्ण र ५ आंशिक रूपमा क्षति भएको छ । वडा कार्यालयको भवन १३ आंशिक रूपमा क्षति भएको छ । यस प्रदेशमा जनप्रतिनिधिको २ घर पूर्णरूपमा क्षति भएको छ ।

गाउँपालिका राष्ट्रिय महासंघले घटनाको निन्दा गर्दै यस्ता गतिविधिले स्थानीय सरकारको कार्य सञ्चालनमा बाधा पुगेको बताएको छ । महासंघले सम्बन्धित निकायलाई घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार