काठमाडौं । अमेरिकाको भर्जिनियामा बस्दै आएका गायक रुजन सिवाकोटीले सो क्षेत्रमा हुने विभिन्न सांगीतिक कार्यक्रममा गीत प्रस्तुत गर्दै आएका थिए । सधैँ अरूका गीत प्रस्तुत गर्दा दर्शकको उनको स्वरमा नयाँ गीत आउनु प-यो भन्थे ।
दर्शकको यही सल्लाहबाट प्रेरित भएर यी गायकले आफ्नो स्वरमा नयाँ गीत ‘चञ्चले आँखा…’को भिडियो यति बेला दर्शकमाझ ल्याएका छन् । झापाको रुजन केही वर्षदेखि भर्जिनियामा बस्दै आएका छन् ।
उनले यो गीतको भिडियो आफ्नो अफिसियल युट्युब च्यानल ‘रुजन’बाट शुक्रवार सार्वजनिक गरेका छन् । पहिलो पटक आफ्नै स्वरमा नयाँ गीत ल्याउन पाउँदै साह्रै खुसी लागेको रुजनले बताएका छन् । अब स्टेजमा उभिँदा गर्वका साथ आफ्नो गीत गाउन पाइने कुराले आफू अझ खुसी भएको पनि यी गायकले बताएका छन् ।
रुजनलाई यो गीतमा महिला स्वरमा गायिका मेलिना राईले साथ दिएकी छिन् । गीतको रचना डीपी खनालले गरेका हुन् । जसमा देवेन्द्र बरालको संगीत विषम आचार्यको संगीत संयोजन, कुमार केसीको मिक्सिङ रहेको छ । यो गीतलाई गायक रुजनले अमेरिकाको बाल्टिमोरमा रहेको संगीतकर्मी राजु लामाको आरएल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेका हुन् ।
यो गीतको भिडियोमा मोडल तथा कोरियोग्राफर सुनिल क्षेत्री र अभिनेत्री केकी अधिकारीले मोडलिङ गरेका छन् । नृत्य प्रधान यो गीतलाई निर्देशन पनि सुनिलले नै गरेका हुन् । गीतको भिडियोमा कोरियोग्राफी अबी वाग्लेको रहेको छ ।
जसमा दिनेश पराजुलीको छायांकन, अमृत चापागाईँको सम्पादन र रंग संयोजन छ । यो गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेकाले दर्शकबाट राम्रो प्रतिक्रिया पाउने विश्वास यी गायकले राजधानीसँग व्यक्त गरे ।






