धनगढी । चाडबाड (दसैँतिहार) नजिकिएसँगै भारतबाट घर फर्कने नेपालीको संख्या बढ्दो छ । भारतबाट दसैँ मनाउन आउनेको संख्या क्रमशः बढिरहेको भए पनि कामको खोजीमा भारत पस्नेको लर्कोसमेत थामिएको छैन । आँगनमै पुगेको दसैँ मनाउन छोडेर सुदूरपश्चिमका पहाडी जिल्लाबाट कामको खोजीमा भारत पस्ने क्रम थामिकएको छैन ।
गएको एक हप्तामा त्रिनगर नाका भएर भारत पस्नेको संख्या एक हजार ४०२ जना छ भने आउनेको संख्या पाँच हजार १५५ जना छ । साताको पहिलो दिन भदौ २८ गते शनिवार त्रिनगर नाका हुँदै ११५ जना भारत पसेका छन् भने २९ गते १२८ जना कामको खोजीमा भारत गएको तथ्यांक छन् ।
भदौ ३० गते भने साताकै सबैभन्दा बढी ५५८ जना व्यक्ति कामको खोजीमा भारत पसेका छन् । भदौ ३१ गते १२५ जना भारत पसेका छन् । आजदअसोज ६ गते घटस्थापन छ तर असोज १ गते २०९ जना सुदूरपश्चिमेली देश छोडेर भारत पसेका छन् । असोज २ गते १३१ जनाले गाउँ छोडेका छन् भने असोज ३ गते १३६ जना कामको खोजीमा भारत पेसेको त्रिनगरस्थित हेल्प डेस्कको तथ्यांकले देखाएको छ ।
कैलालीको त्रिनगर नाका हुँदै भारतको दिल्ली, बेङ्लोरु, गुजरात, पञ्चाव, राजस्थान लगायतका सहरमा नेपालीहरु काम गर्न गइरहेका छन् ।
उसो त कैलालीको गौरीफन्टा नाका हुँदै घर पर्कने नेपालीको संख्या भारत पस्नेको भन्दा बढी छ । एक हप्तामा भारतबाट दशैँ मनाउन आउनेको संख्या पाँच हजार १५५ जना छ ।
भदौ २८ गते शनिवार भारतबाट ६८२ जना स्वदेश फर्किएका छन् । भदौ २९ गते आइतवार एक हजार ४३७, सोमवार ३१३, मंगलवार ६०९ जना स्वदेश पर्केका छन् । यस्तै बुधवार ५०५ जना, बिहीवार ७२३ जना र शुक्रवार ८८६ जना भारतबाट नेपाल पर्केको त्रिनगर नाकास्थित हेल्प डेस्कको तथ्याङमा उल्लेख छ ।
दसैँका लागि भारतको लुधियानाबाट घर फर्कन लागेका बैतडीका मोहन बोहराले यो पटक पाँच बर्षपछि दसैँ मनाउन घर आएको बताए । यस्तै भोजबहादुर धामीले दिल्लीमा काम गरेर ३ वर्षपछि दसैँ मनाउन घर फर्केको बताए । ‘म रोजगारीका लागि दिल्ली जान थालेको १२ वर्ष भयो । परार र पोहर साल आउने मौका मिलेने तर यो वर्ष आफ्नो जन्मभूमीमा गएर दसैँ मनाउने भनेर घर फर्केको हुँ,’ उनले भने, ‘यो वर्ष पूजा गर्ने कार्यक्रम पनि छ । त्यसैले एक महिनाको छुट्टि लिएर घर फर्केको हुँ ।’
अरू घर फर्किरहेका बेला त्रिनगर नाकामा भेटिएका कमल रोकायाले भने भारतको सुरत जान लागेको बताए । उनले अहिले राम्रो काम सजिलै पाइने भएकाले दसैँ उतै मनाउने हिसावले जान लागेको बताए । दसैं गाउँमा नै राम्रो हुने भए पनि काम पनि गर्नै पर्ने ठानेर मनमा गाठो पारेर भारत जान लागेको रोकायाले बताए ।
बझाङ घर बताउने प्रताप बोहराले पाँच वर्षपछि दसैँ मनाउन घर आएको बताइरहँदा अछामका सुर्जे नेपाली भने मुम्बइ जाने बताइ रहेका थिए । उनले छोराछोरी पनि उतै भएकाले दसैँ उनीहरूसँगै मनाउने भनेर श्रीमतीसमेत लगेर मुम्बइ जान लागेको बताए ।
अहिले घर फर्किएकाहरूले पनि दसैँपछि फेरि भारत नै फर्कने बताइ रहेका थिए । नेपालमा बस्दा बेरोजगार बस्नुपर्ने भएकाले छुट्टी सकिनासाथ भारत नै फर्किने बैतडीका लक्ष्मणसिंह बिष्टले बताए । उनले भने, ‘हाम्रा लागि नेपालमा रोजगारी नै छैन । यहाँ काम गर्ने वातावरण पनि छैन । सानोतिनो पसल राखे पनि उधारो खाने चलन छ । हामीले कामको खोजीमा भारत जानु बाध्यता हो, रहर होइन हजुर ।’
सम्बन्धित समाचार






