गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको छ । धुर्कोटमा एउटा आधारभूत अस्पतालसहित ६ वटा स्वास्थ्य चौकी रहेका छन् । सोमबार वडा नम्बर ७ वाग्लामा गाउँपालिका ल्याब सेवा सुरु भएसँगै सबै स्वास्थ्य संस्थामा ल्याब सेवा पुगेको हो ।
पालिकाको वडा नम्बर ६ रजस्थलमा रहेको धुर्कोट आधारभूत अस्पतालमा विगत १५ वर्षदेखि ल्याब सेवा छ । सो अस्पतालमा हाल दुई जना डाक्टरसमेत रहेका छन् । बाँकी रहेका ६ वटामा पछिल्लो समय ल्याब सेवा सुरु गरिएको हो ।
रजस्थलमा रहेको आधारभूत अस्पतालसहित पालिकामा नयाँ गाउँ स्वास्थ्य चौकी, पिपलधारा स्वास्थ्य चौकी, हाडहाडे स्वास्थ्य चौकी, जैसिथोक स्वास्थ्य चौकी, वस्तु स्वास्थ्य चौकी र वाग्ला स्वास्थ्य चौकी गरी सातवटा स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिए । ल्याब सेवासहित सबै स्वास्थ्य चौकीहरूमा बर्थिङ सेन्टरसमेत सञ्चालन गरिएको छ । जसले गर्दा सुत्केरी र गर्भवतीलाई सहज भएको छ । ल्याब सेवा सञ्चालन गर्नका लागि सबै स्वास्थ्य संस्थाहरूमा ल्याब असिस्टेन्टको व्यवस्था गरिएको छ ।
वडामै ल्याब सेवा सुरु भएपछि स्थानीयलाई रगत, पिसाब, हर्माेनलगायतका रोगको परीक्षण गर्न तम्घास अस्पताल जानुपर्ने बाध्यता अन्त्य भएको छ । त्यसैगरी, गर्भवतीलगायत अन्य बिरामीको रगत परीक्षण, ब्लड ग्रुपको पहिचानलगायतका सेवामा सहज भएको स्थानीय मीना क्षेत्रीले बताइन् । ‘अब आफ्नै गाउँमा ल्याब सेवा लिन पाइने भयो,’ पालिका नेतृत्वलाई धन्यवाद दिँदै उनले भनिन्, ‘असल जनप्रतिनिधि चुनेको महसुस भएको छ ।’
गर्भवतीलाई रगत जाँचका लागि कम्तीमा एकपटक तम्घास जानुपर्ने भए पनि अब त्यो सेवा सम्बन्धित वडाको स्वास्थ्य संस्थामा उपलब्ध हुनेछ । स्वास्थ्य चौकीहरूबाट यसभन्दा अगाडि २४सै घण्टा संस्थागत प्रसूति सेवा, खोप सेवा, गर्भवती जाँच, परिवार नियोजन, सर्ने तथा नसर्ने रोग, सरकारले तोकेका औषधिको उपलब्धतालगायतका सेवाहरू प्रदान हुँदै आएको स्वास्थ्य शाखा प्रमुख प्रेमलाल खनालले जानकारी दिए ।






