एक खुट्टे नृत्य कलाकार सीताको निधन

काठमाडौं । एक खुट्टाले नृत्य गरेर नृत्य कलाकारको रूपमा आफ्नो परिचय बनाएकी कलाकार सिता सुवेदीको ४० वर्षको उमेरमा मंगलवार बिहान निधन भएको छ । काठमाडौँको महाराजगञ्ज स्थित त्रिविवि शिक्षण अस्पतालमा विगत तीन महिना देखि क्यान्सरको उपचार गराई रहेकी सिताको सोही रोगका कारण निधन भयो । उनी तीन महिना यताबाट फोक्सो क्यान्सरबाट पीडित थिइन् ।

यो उनको दोस्रो क्यान्सर समस्या थियो । १४ वर्षको उमेरमा आफ्नो जन्म थलो चितवनमा साइकल चलाउने क्रममा लडेर उनको खुट्टा भाँचिएको थियो । त्यति बेला भाँचिएको खुट्टामा क्यान्सर भएपछि उनको एउटा खुट्टा चिकित्सकले काटिदिएका थिए ।

उनले त्यसपछिबाट एउटा खुट्टाको सहाराले आफ्नो जीवन यापन गर्दै आएकी थिइन् । ६ महिना अघि हृदयाघात भएपछि केही समय अस्पताल बसेर उनी सन्चो त भएकी थिइन् । तीन महिना अघि उनलाई फेरी गम्भीर बिरामी भएपछि त्रिविवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । सो क्रममा चौथो स्टेजको फोक्सोको क्यान्सर भएको चिकित्सकले घोषणा गरेपछि उनको स्वास्थ्य दिन दिनै बिग्रंदै गएको थियो । उनलाई दोस्रो पटकको क्यान्सरले नै यो भौतिक संसारबाट बिदा गरेको हो ।

गायिका एवम् नृत्य कलाकार सीताको मंगलवार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टी गरियो । उनको परिवारमा एक छोरी छिन् । विवाह भएको केही समयमै पतिले सम्बन्ध विच्छेद गरेपछि उनले एकल आमा बनेर छोरी हुर्काएकी थिइन् ।

बाल्यकाल देखि नृत्यमा सौखिन सिताले एउटा खुट्टा गुमाएपछि पनि नृत्य गर्न सकिन्छ भन्ने सपना देख्न छाडिनन् । सोही सपनाले उनलाई २० वर्ष अघि चितवनबाट काठमाडौँ ल्यायो । काठमाडौँमा ६ जना नृत्य गुरुले उनलाई नृत्य सिकाउन नमान्दा पनि सिताले हार खाइनन् ।

त्यसपछि नृत्य विषय लिएर पढेकी उनले ‘इन्टर मिडियट लेबल कत्थक नृत्य प्रतियोगिता’मा २०७५ सालमा स्वर्ण पदक हासिल गरेकी थिइन् । त्यसपछि नेपालको सयौँ स्टेज कार्यक्रममा नृत्य प्रस्तुत गरेकी सिताले एक खुट्टाले नै नृत्य गरेर दर्शकको मन जित्दै आएकी थिइन् । विभिन्न देशमा आफ्नो नृत्य प्रस्तुत गरेर साहसी महिलाको परिचय बनाएकी उनी गायिका पनि थिइन् ।

नृत्यसँगै गायनको पनि लामो समय प्रशिक्षण लिएकी उनी गायनमा पनि त्यत्तिकै सक्रिय थिइन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ललितपुरकी सचिव सिताको स्वरमा एक दर्जन भन्दा बढी गीतहरू बजारमा आएका छन् । तिम्रो नजरको दोषी…, मलाई चौबन्दी सुहाउँछ रे…, सम्झनाको पल…, मा¥यो आँखा झिमिक्कै…, सत्य रामाराम…आदि उनको गीतहरू हुन् ।

विभिन्न कारणले हात खुट्टा गुमाएकाहरूको लागि उनी सारथि थिइन् । यस्ता व्यक्तिहरूको लागि उनी हौसलायुक्त प्रवचन दिने गर्थिन । ‘क्लासिक नेपाल फाउन्डेसन’की संस्थापक सिताले यो संस्था मार्फत हात खुट्टा गुमाएकाहरूका लागि विभिन्न सहयोगसहित प्रेरणादायी कार्यहरू गर्दै आएकी थिइन् ।

एक खुट्टाले धेरै पटक स्टेजमा ¥याम्प सो गरेकी सिता ‘एमएस नेपाल इन्टरनेशनल २०२३’की विजेता पनि थिईन् । फरक क्षमता भएर एउटा खुट्टाले पनि क्याटवाक गर्दै ताज जित्ने उनी पहिलो नेपाली महिला थिइन् ।

रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आएको ‘मिसेस नेपाल वल्र्ड’ प्रतियोगितामा सिताले एकल महिलाहरूको प्रतिस्पर्धामा आफ्ना विभिन्न प्रतियोगीहरूलाई पछि पार्दै दुई वर्ष अघि ‘एमएस नेपाल इन्टरनेशनल २०२३’को उपाधि जितेकी थिइन् । उनी विजेता भएका कारण नेपालको प्रतिनिधित्व गर्दै ‘एमएस इन्टरनेशनल’ मा भाग लिन सिंगापुर जानु पर्ने थियो । तर सो समयमा उनको स्वास्थ्य अवस्था बिग्रेका कारण सिताको ‘एमएस इन्टरनेशनल’मा भाग लिन सिंगापुर जाने सपना अधुरै रह्यो ।

तपाइको प्रतिक्रिया
(Visited 350 times, 1 visits today)

epaper

ताजा समाचार

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह