नेपालगञ्ज । स्वास्थ्य विमा बोर्डले नेपालगञ्जको भेरी अस्पताललाई स्वास्थ्य विमाका विारमीको उपचारबापत दिनुपर्ने भुक्तानी गत २०८१ कात्तिकदेखि नदिदा अस्पतालको सेवा प्रवाह नै प्रभावित हुन थालेको छ ।
स्वास्थ्य विमाको विरामी दिनानु दिन थपिदै गर्ने अर्कोतिर विमाबोर्डले प्रिमियम लिएर भुक्तानी नदिने हो भने सेवा दिन पनि अत्यन्तै कठिन हुँदै गएको अस्पताल प्रशासनको दाबी छ ।
भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा निराजन सुवेदीले करिब एक वर्षदेखिको वास्थ्य विमा बोर्डबाट पाउनु पर्ने भुक्तानी नपाउदा सेवा प्रबाहमा समस्या आउन थालेको बताए । उनले नियमित खरिद र सप्लाईमा समेत बाधा भएको जिकिर गरे ।
उनले भने–‘ अस्पतालले विमा बोर्डले स्वास्थ्य बिमाका सेवाग्रहीको उपचार सेवा प्रवाह गरे बापतको करिब साढे १६ करोड र सामाजिक सेवा ईकाईको डेढ करोड गरी पुगनपुग २० करोड रकम भुक्तानी हुन नसक्दा सेवा प्रवाह नै प्रभावित हुने अवस्थामा पुगेका छौ ।’
अस्पतालले स्वास्थ्य विमा बोर्डबाट गत कत्तिकदेखि हालसम्म करिव १ वर्षको भुक्तानी नआएको कारण अस्पतालको सेवा नै प्रभावित हुने अवस्थामा पुगेको बताए । उनले भने–‘लामो समयदेखि विमाबाट अस्पतालले भुक्तानी पाउन नसक्दा अस्पतालका लागि सप्लायर्सहरुले आ–आफ्नो सप्लाई दिनै बन्द गरेको अवस्था छ । करिव २० करोड भुक्तानी पाउन बाँकी छ ।’
झण्डै १ वर्षसम्म उधारोमै चलाईदै आएको भएपनि अब भने सप्लायर्सले नै पत्याउन छाडेको उनको भनाई छ । उनले भन्छन–‘ अब त सप्लायर्सलाई के भनेर आवश्यक सामान देउ भन्ने । एक वर्ष भई सक्यो दुई आर्थिक वर्ष भयो भुक्तानी दिन सकिएको छैन । उनीहरुले पनि कतिसम्म थेगुन ।’
उनले अस्पतालमा आवश्यक पर्ने एक्सरे फिल्म, प्रयोगशालाका रिएजेन्ट तथा फार्मेसीबाट पाउने औषधि पनि पुराउन नसकिएको बताए । उनले भने–‘ हामीले करिव १५ दिन जति विरामीलाई एमआरआई र एक्सरेको फिल्म दिन सकेनौ । कारण थियो समयमा पैसा तिर्न नसक्दा सप्लाई बन्द भयो ।’
उनले अस्पतालले विभिन्न ११ प्रकृतिका विषेशज्ञ सेवा पनि विमा मार्फत नै सञ्चालन गर्दै आएको भए पनि समयमा भुक्तानी नपाउदा सबै बन्द गर्नुपर्ने अवस्था हुनसक्ने बताए । ‘आएन भन्ने हो भने झण्डै १५ महिनाको बाँकी हुँदा ३ महिनाको भुक्तानी आएको हो । तिर्नैै कति धेरै छ । सबै सप्लायर्सलाई अलि अलि दिएर टार्न परेको छ’–उनले भने ।
नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्य विमा मार्फत ६० प्रतिशतसम्म बिरामीले स्वास्थ्य बीमा अन्तर्गतको सेवा लिइरहेका छन् । साथै ११ प्रकृतिको विशिष्ठकृत उपचार सेवा समेत प्रवाह गर्दै आएको छ । समयमा बिमा बोर्डको भुक्तानी नआउने हो भने सेवा रोकिने अवस्थामा पुगिने अस्पतालले जनाएको छ ।






