कुहिरोको कागसरह मुलुक !

समाजमा अहिले अपरिपक्व चिन्तन र दर्शन विकास भइरहेको देखिन्छ । एउटा भाष्य खडा गरिएको छ– मानांै जेनजी सबथोक हुन् । देशको पहिलो हकदार १२ देखि २८ वर्ष उमेर समूह हो । अथवा, ‘जेनजी जे भन्छन्, त्यही गर्नुपर्छ’ भन्ने लयमा बहस, छलफल, टीका टिप्पणी हुने गरिएका छन् । हो, जेनजीले पुरानो सत्ता ढाल्यो । नयाँ सरकार बन्यो । तर, जेनजीले सरकारलाई गर्नुपर्ने प्रस्ट कार्यसूची दिन सकेका छैनन् ।

अझै पनि मन्त्रिपरिषद् पूरा हुन सकेको छैन । दोषी पक्राउ परेका छैनन् । सुशीला कार्कीले ‘राष्ट्रको नाम’मा दिएको वक्तव्यमा ‘सरकारको काम ६ महिनाभित्र निर्वाचन गराउनु हो’ भनिएको छ । संविधानअन्तर्गत हुबहु प्रक्रियामा निर्वाचन गराउने हो भने २०८४ सालमा हुने निर्वाचनलाई २०८२ सालमा सार्नुभन्दा बढी जेनजी आन्दोलनबाट के उपलब्धि हुन सक्यो त ? के जेनजीका माग यही हुन् ?

प्रजातन्त्रको लामो समयसम्म पनि देशका पुराना दलहरूले राम्रो काम गर्न सकेनन् । दलभित्रका ‘शीर्ष’ भनिने नेताहरूले पालैपालो सरकारमा जाने तर राम्रो काम नगर्ने अभ्यासले २०७९ सालसम्म आइपुग्दा राजनीतिक दलका पुराना नेताप्रति जनआक्रोश बढिसकेको थियो । २०७९ सालको निर्वाचनमा जनताले राजनीतिक विकल्प खोज्नेक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी उदय भयो ।

समाजमा ‘रवि लामिछाने नै अबको विकल्प हो’ भन्ने भाष्य निर्माण गरियो । यो दल पनि समाजमा उत्पन्न पुराना दलको आक्रोशबाट राजनीतिक सिद्धान्त र कार्यदिशाबिनै बनेको थियो । अहिले जेनजी ‘सेप्टेम्बर क्रान्ति’ गरेर सरकार ढाल्न सफल भए पनि यो कुनै राजनीतिक दर्शन र सिद्धान्तको समूह होइन ।

सुशीला कार्की नेतृत्वमा कर्मचारी र पत्रकारको समूहबाट गैरनिर्वाचित सरकार बनेको छ । यो सरकार अलमलमा परेको देखिन्छ । देशलाई कसरी अगाडि बढाउने ? भन्ने प्रस्ट खाकामा सरकार हि“डेको छैन । यसरी हेर्दा देश ‘कुइरोको काग’सरह भएको अवस्था छ ।

यो साँचो हो कि जेनजी पुस्तामा डिजिटल ज्ञान छ । यो पुस्ता पढेलेखेको पनि छ । तर, राजनीतिक सिद्धान्त, निष्ठा तथा कार्यदिशाबिना देश चल्न सक्दैन । डिजिटल ज्ञान र सीपले मात्रै राजनीतिलाई ‘ड्राइभ’ गर्न सक्दैन । त्यसो त, जेनजी पुस्तामा ‘राजनीतिक चेतना नै छैन’ भन्न खोजिएको होइन । जेनजी पुस्ता उमेरको सीमांकनकै कुरा गर्ने हो भने २८ वर्षसम्मको उमेरमा युवाले विश्वविद्यालयसम्मको अध्ययन पूरा गरिसकेका हुन्छन् ।

यो उमेरसम्ममा युवाको कुनै न कुनै राजनीतिक दलस“ग निकटता हुन सक्छ । त्रिविलगायत विश्वविद्यालयमा रहेका विद्यार्थी संघ, संगठन प्रायः यही उमेर समूहको संलग्नता रहेको देखिन्छ । तर, देशलाई नेतृत्व गर्न राजनीतिक सिद्धान्त र कार्यदिशासहितको ‘भिजन, मिसन र एक्सन’ भएको राजनेता चाहिन्छ । अन्यथा, देश ‘केटाकेटी आए गुलेली’ खेलाएको अवस्थामा पुग्न सक्छ ।

अहिले सोसियल मेडियामा भन्ने गरिएको छ कि ‘अब सुशीला कार्की नेतृत्वको सरकारले जेनजीका समस्या समाधान गर्नुपर्छ । जेनजीको चाहानाअनुसार यो सरकार अगाडि बढ्नुपर्छ ।’ कतिपय विश्लेषकको भनाइ पनि सुनिन्छ । मानौं, देशमा भएका समस्या जेनजी यानिकि १२ देखि
२८ वर्षका उमेर समूहका मात्र हुन् । यसो हो र ? होइन । जेनजी जन्म हुनुभन्दा अगाडिदेखि नै समाजका हरेक कोणबाट भ्रष्टाचारविरुद्ध आवाज उठेका थिएनन् र ? थिए । सुशासन’bout समाजमा चर्को बहस थिएन त ? थियो । राजनीतिक बेथिति र कुशासनविरुद्ध लेख, रचना वा समाचार लेखिएका थिएनन् र ? थिए । कतिपय भ्रष्ट जेल गएका थिएनन् ? गएका थिए । यस कोणबाट हेर्दा जेनजीले नयाँ कुरा उठाएका होइनन् । सबैले अनुभव गरिरहेका समाजका समस्या हुन् । जेनजीले ‘आफन्तवाद’लाई ‘नेपो किड’ भने । जसलाई समाजले ‘परिवारवाद’ भन्दै आएको थियो । शब्द फरक होलान् । समस्या उनै हुन् ।

अहिले नेपाली समाज राजनीति कित्तामा विभाजित छ । समाजमा ‘जातजाति, धर्म, लिंग, वर्ग र राजनीतिभन्दा माथि देश हुन्छ’ भन्ने चेतना अत्यन्त कमजोर भएको अवस्था छ । देश हामी सबैको साझा सम्पत्ति हो ।

देश भूगोल मात्र होइन, यसको सम्बन्ध माटो, जनता, संस्कृति, इतिहास, धर्म, समाजिक एकता, सद्भाव, आपसी मेलमिलापसँग जोडिएको हुन्छ । यही भावनात्मक सम्बन्धलाई ‘राष्ट्रियता’ भनिन्छ । अब हामी राष्ट्रिय एकताको डोरीले बाँधिनुपर्छ । देश फुटेर होइन, जुटेर मात्र निर्माण गर्न सकिन्छ । इतिहास र व्यवस्थापनमा सकारात्मक भूमिका खाँचो छ

देश भूगोल मात्र होइन, यसको सम्बन्ध माटो, जनता, संस्कृति, इतिहास, धर्म, समाजिक एकता, सद्भाव, आपसी मेलमिलापस“ग जोडिएको हुन्छ । यही भावनात्मक सम्बन्धलाई ‘राष्ट्रियता’ भनिन्छ । अब हामी राष्ट्रिय एकताको डोरीले बाँधिनुपर्छ । देश फुटेर होइन, जुटेर मात्र निर्माण गर्न सकिन्छ । देशको इतिहास र व्यवस्थापन कार्यमा सबैले आ–आफ्ना ठाउँबाट सकारात्मक भूमिका खेल्ने बेला आएको छ, खेलौं । राजनीतिले बाटो बिराएको बेला हामी सबै एकजुट भएर समस्याको निकास र देश विकास बाटोमा लाग्नुपर्छ, लागांै ।

नाट्यसम्राट बालकृष्ण समले ‘देशभक्ति त मर्दैन चुत्थै देश भए पनि’ भनेका छन् । अहिले सबै नेपालीमा देश भक्तिको भावना बलियो हुन आवश्यक छ । यो मुलुकको विकास हुनु नै हामी सबैको विकास हुनु हो ।

नेपाल आमालाई उनका सन्तानबाट चोट पु¥याउने काम कोही कसैबाट गरिनुहुँदैन । देशका ऐतिहासिक तथा सांस्कृतिक सम्पदामा आगजनी गर्ने, जलाउने, ध्वस्त पार्नेजस्ता कार्य भए । प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि सिंहदरबार जलेको छ ।

सर्वोच्च अदालतमा आगो लगाइएको छ । संसद् भवन जलेको छ । काठमाडौं नगरपालिकाअन्तर्गत पर्ने यी कार्यालयमा सम्बन्धित निकायले ‘किन दमकल पठाएनन् ?’ प्रश्न उठेका छन् । रातभर सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, मन्त्री निवासलगायत जलिरहँदा सम्बन्धित निकायले रमिता हेरेको देख्दा देशलाई माया गर्नेको मन रोएको छ ।

गरिब जनताबाट कर उठाएर अर्बौंमा निर्माण गरिएका ललितपुर भैंसेपाटीमा अवस्थित मन्त्री निवास जलाउनुपर्ने कारण के थियो ? यी भवनमा बस्ने मानिस भ्रष्ट होलान् । उनीहरूलाई कारबाही गर्ने कि भवनमा आगो लगाउने ? घरमा भएका मुसा मार्न औषधि गर्ने वा बिरालो पाल्ने कि घरमा आगो लगाएर मुसा मार्ने कार्य गर्ने ? जेनजीले ‘यो कार्य आप्mनो उमेर समूहबाट नभएको’ भनिरहेका छन् । यी घटनाको सत्यतथ्य अनुसन्धान गरी यी देशद्रोही चिन्तन पाल्ने र अभ्यास गर्नेलाई कारबाही गरियोस् । देश द्रोहीलाई न्यायको कठघरामा उभ्याएको हेर्न जनताले पर्खिरहेका छन् ।

सुशीला कार्की नेतृत्वमा बनेको सरकारले अझै पनि पूर्णता पाउन सकेको छैन । सरकार परिवर्तन गर्नु मात्र जेनजीको माग थिएन । देशका समस्या समाधान गर्नका लागि अन्तरिम सरकार बनाइएको हो । तर, सरकार अलमलमा रहेको देखिन्छ । देशलाई प्रस्ट दिशानिर्देश गर्नसक्ने लक्षण देखाएको छैन ।

जेजीस“ग पनि स्पष्ट रूपमा देश अगाडि बढाउने मार्गचित्र अभाव छ । उनीहरूको भनाइ के हो ? सरकारले के–के काम गर्नुपर्छ ? खै त खाका ? सुशीला कार्कीले ‘सरकारको कार्यभार निर्वाचन गराउनु हो’ भनेकी छन् । के यो सरकारले अहिलेको संविधानअन्तर्गत नै निर्वाचन गराउन बनाइएको हो ? यसो हो भने २०८४ सालमा हुने निर्वाचन २०८२ सालमा सारेर देशलाई अझै आर्थिक भार थुपार्ने कार्य किन गर्ने ?

अहिले एकातिर राजनीतिक दल ‘पर्ख र हेर’को रणनीतिमा छन् भने अर्कोतिर ‘वर्तमान संविधानमा टेकेर समस्याको समाधान गर्ने’ भनिएको छ । अहिलेकै राजनीतिक व्यवस्था र संरचनाबाट निर्वाचन गराउने हो भने नेपाली समाजले चाहेको परिवर्तन कसरी सम्भव छ ? नेकपा माओवादीले भन्ने गरेको ‘नयाँ नेपाल’ बनाउने प्रयोग गर्दा देशले थेग्नै नसक्ने प्रदेश सरकार बनाइए । यति सानो देशमा ८ सय ८६ सांसद बनाइयो । सयौंको संख्यामा मन्त्री बन्ने संरचना बनाइयो ।

अब फेरि पनि संविधानमा हेरफेर गर्ने विकल्प खोजी नगरी यथास्थितिमै यो सरकार अगाडि बढ्ने हो ? अनि जेनजीले चाहेको यही हो र ? नेपाल र नेपालीको आवश्यकता यही हो ? सोच्ने बेला आएको छ ।

सहकारीपीडित रोइरहेका छन् । ठगहरूले राजनीतिक साथ र सहयोग पाइरहेका छन् । पीडितले सहकारी सञ्चालकद्वारा लुटिएको सम्पत्ति पाउन सकेका छैनन् । यो सरकार सहकारीपीडितको पक्षमा बोलेको सुनि“दैन । सरकारले न राजनीतिक मार्गचित्रको खाका कोर्न सकेको छ, न त सुशासनका कदम चाल्न सकेको छ । कतिपय मानिस ‘जेनजी फेरि आन्दोलनमा आउनुपर्छ’ भन्न थालेका छन् । यो अत्यन्त अराजनीतिक तथा अपरिपक्व चिन्तन हो, यसो गर्नुहुँदैन । सरकारले समाजका हरेक क्षेत्रसँग राय सल्लाह लिई देशलाई निकासको बाटोमा अगाडि बढाउनुपर्छ । देशलाई ‘कुइरोको काग’जस्तो दिशाविहीन बनाउनुहुँदैन, नबनाओस् !

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी