रौतहट । रौतहटमा सोमबार बिहान बाढीको पानी जमेको खाल्टोमा परेर तिनजना बालिकाको मृत्यु भएको छ । सोमबार बिहान रौतहटको राजदेबी नगरपालिका वार्ड नं. ८ लक्ष्मीपुरका ३ जना बालिकाको पानीको एउटै खाल्टोमा परेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा राजदेवी न.पा. ८ लक्ष्मीपुर टोल बस्ने ईन्दल बैठाको १३ बर्षिय छोरी आस्था कुमारी बैठा सोही गाउका नवल यादवको १५ बर्षिय छोरी राघनी कुमारी यादव र रुपा बैठाको १५ बर्षिय छोरी मौसमी कुमारी बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सुचना अधिकारी तथा प्रहरी निरीक्षक राम कुमार महतोले जानकारी दिएका छन् ।
घास काटनको लागी लक्ष्मीपुरबाट गौर नगरपालिकाको वार्ड नं. १ कानुपट्टी स्थीत भित्री सडक खण्डमा बाटोमा बाढीको पानी जमेको खाल्टोमा तरने क्रममा डुबेर मुत्यु भएको प्रहरी निरिक्षक महतोले जानकारी दिए । आज बिहानै एउटैटोलका ७ जना बालिकाहरु घास काटन गएका थिए । जसमध्ये ४ जना सकुसल पानीको खाल्टो तरेको र बाकी ३ जना बेपत्ता भएको प्रहरी निरिक्षक महतोले बताए ।
सकुसल उद्दार हुनेहरुमा सोही लक्ष्मीपुर गाउकी उमेश रामको १५ बर्षिय छोरी मुस्कान कुमारी राम, बिपत बैठाको छोरी १३ बर्षिय मुस्कान कुमारी बैठा, दिनेश रामको छोरी १० बर्षिय चन्द्रमुखी कुमारी राम र जोधन बैठाको १५ बर्षिय छोरी सुनिता कुमारी बैठा रहेको उनले जानकारी दिएका छन ।
बालिकाहरु पोखरीमा डुबेर बेपत्ता भएपछि भन्सार सुरक्षा गार्ड प्रहरी सहायक निरिक्षक गोपाल सहनी गोढीको नेतृत्वमा ६ जना, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब निरिक्षक तुल प्रसाद पुडासैनीको नेतृत्वमा ७ जना (दैविक प्रकोपको समाग्री सहित) सशस्त्र प्रहरी निरिक्षक भुवन घिमिरेको नेतृत्वमा ११ जना र विर दल गण पुरेनवा व्यारेकबाट मेजरको नेतृत्वमा १९ जनाको टोलीले बेपत्ता बालिकाहरुको उद्दार गरेको समेत महतोले बताए ।
उद्दारपछि बालिकाहरुको उपचारको लागी प्रादेशिक अस्पताल गौर लगिएको र उपचारको क्रममा चिकित्सकहरुले परिक्षण गर्दा तिनैजना बालिकाकहरुलाइ मृत घोषणा गरेको महतोले जानकारी दिए ।
सम्बन्धित समाचार







