काठमाडौं । काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोरमैलाको तरल तत्व र पानीजन्य प्रदूषणले सभ्यता र संस्कृतिको परिचय बोकेको बागमती नदी र तटीय क्षेत्रमा लाखौं नागरिक पीडित भएका छन् ।
उपत्यकाबाट दक्षिणतर्फ बग्ने बागमती नदीसँग जोडिएका तटीय क्षेत्रका नागरिकमा प्रदूषित पानीका कारण अनेकौं स्वास्थ्य समस्या देखिन थालेको छ भने पर्यावरणमा गम्भीर असर परिरहेको छ ।
बागमती नदीमा मिसिएको ढल, फोहोरमैलाको सिफेज तथा वर्षात्को पानीमा मिसिएको प्रदूषक तत्वले बागमतीलाई अत्यन्त प्रदूषित बनाएका कारण प्राणी, वनस्पति तथा मानव जातिलाई अत्यन्त हानि गर्ने अवस्थामा पुगेको बागमतीको पानी अनुसन्धान गरिरहेका वैज्ञानिकहरूको दाबी छ ।
लाखौं नागरिक प्रभावित, जलचर र वनस्पति लोपोन्मुख
बागमती नदीमा जोडिने उपत्यकाभित्रका सहायक नदीहरूबाट उपत्यकाका १८ स्थानीय तहको तरल प्रदूषक तत्व बागमतीमा मिसिने गरेको वातावरण संरक्षण गैरसरकारी संस्था महासंघका अध्यक्ष टीकाराम दाहाल बताउँछन् । दाहाल भन्छन्, ‘फोहोरमैला व्यवस्थापन भनेर हामी ठोस फोहोर मात्रै देखिरहेका छौं तर वर्षात्को पानीले बगाएर नदी प्रणालीमा मिसाउने फोहोर र तरल प्रदूषणले नदी तीव्र गतिमा प्रदूषित भइरहेको छ ।’
काठमाडौंको उत्तर बागद्वारमा रहेको बागमतीको मुहानदेखि गुह्येश्वरीसम्मको बागमतीको स्वरूपसँग ललितपुरको दक्षिणी क्षेत्र र मकवानपुर हुँदै दक्षिणतिर बगिरहेको बागमती तुलना गर्दा उपत्यकाका मानिसप्रति नै घृणा लाग्ने अवस्था देखिएको वातावरण संरक्षण अभियन्ताहरू बताउँछन् ।
मकवानपुरको भीमफेदी गाउँपालिकाका दुईवटा, ललितपुरको बागमती गाउँपालिकाका पाँचवटा, मकवानपुर बागमती गाउँपालिकाका पाँचवटा र बकैया गाउँपालिकाका दुईवटा वडा बागमतीको प्रदूषण र विपद्का दृष्टिले पनि अत्यन्त प्रभावित छन् ।
ललितपुर बागमती गाउँपालिकाका अध्यक्ष बीरबहादुर लोप्चन संघीय सरकार, प्रदेश सरकार, उपत्यकाका स्थानीय तह र अधिकारसम्पन्न बागमती सभ्यता विकास समितिलगायतका निकायहरूका विरुद्ध मुद्दामा जानुपर्नेगरी जनस्तरबाट दबाब आइरहेको बताउँछन् ।
‘जनताको दबाब थेगिनसक्नु छ, बागमती फोहोर बनाएर पठाउनेहरूले जिम्मेवारी लिनुप¥यो नि उनीहरूको प्रदूषणले हाम्रा नागरिक तटीय क्षेत्रमा बस्न नसकेर विस्थापित भइरहेका छन् ।’
बागमतीको प्रदूषणले तटीय क्षेत्रका नागरिक समुदायको जीवन प्रणाली र स्थानीय अर्थतन्त्रमा निकै ठूलो नकारात्मक असर परेको लोप्चन बताउँछन् । स्थानीय समुदाय भौतिक, आर्थिक, सामाजिक र स्वास्थ्यका हिसाबले तटीय क्षेत्रमा बस्न नसक्ने अवस्थामा पुगेका छन् उनीहरूको भौतिक तथा आर्थिक सामाजिक सुरक्षा र पुनःस्थापनाका लागि केन्द्र तथा प्रदेश सरकार र जिम्मेवार निकाय गैरजिम्मेवार र उदासीन भएको लोप्चनले बताए ।
बागमतीको तटीय क्षेत्रमा रहेका मकवानपुरका बेतिनी, फापरबारी, राईगाउँ, कोगटे, इपा पञ्चकन्या, ठिंगन, मन्थली तथा ललितपुरतर्फका गिम्दी, आश्राङ, प्युटारलगायतका क्षेत्रका रैथाने समुदायले करोडौंका माछा निकाल्नसक्ने बागमती अहिले प्रद्रूषणका कारण जलचरविहीन बनेको छ ।
बागमतीको प्रदूषणका कारण प्राणी तथा वनस्पतिमा भइरहेको असर न्यूनीकरण तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्न संघ तथा प्रदेश सरकारले कुनै पनि विशेष सहयोग तथा कार्यक्रम नराख्दा स्थानीय सरकार मूकदर्शक हुन बाध्य भएको बागमती गाउँपालिका ललितपुरका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा बताउँछन् ।
जतिसुकै औषधि गरे पनि काम नगर्ने किसिमको कडा ब्याक्टेरिया पाइएका कारण बागमतीको पानीका कारण कडा खालका छालाका रोग लाग्ने अवस्था रहेको वैज्ञानिकहरूले बताएका छन् । ‘बागमतीको पानी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मानव तथा प्राणी र वनस्पतिका लागिसमेत हितकर छैन । आइरन, एमोनिया र कोलीफर्म अत्यधिक धेरै भएका कारण आपत्कालीन अवस्थामा पनि प्रयोग गर्न नसकिने अवस्थामा छन्,’ नाष्टका वरिष्ठ वैज्ञानिक टिष्टा प्रसाई बताउँछिन् ।
गुह्येश्वरीदेखि बागमतीका विभिन्न बहावस्थानको अध्ययन गरेकी प्रसाईका अनुसार बागमतीको पानीमा अक्सिजनको अवस्था न्यून भएका कारण माछा र सफा पानीमा पाइने वनस्पतिहरू लोप भइरहेका छन् । प्रसाई भन्छिन्, ‘अत्यन्त फोहोर पानीमा पाइने जीव र वनस्पति त पाइन्छ तर झुक्किएर प्रयोग गरियो भने पनि यो पानीले प्राणी तथा मानवको बाहिरी तथा भित्री अंगहरूमा एकदमै नराम्रो असर गर्छ ।’
प्रसाई नेतृत्वको टोलीले उपत्यकाबाट बाहिरिने विन्दु घुसेलको शिशौटार क्षेत्रदेखि गिम्दीसम्मको अध्ययन गर्दा फलाम तत्व हुनुपर्नेभन्दा २२ गुणा बढीसम्म पाइएको छ । पानीमा एमोनिया हुनुपर्नेभन्दा १० गुणासम्म बढी पाइएको छ भने कोलीफर्म शून्य हुनुपर्नेमा ३ सयगुणा अर्थात् ३ सय युनिट प्रतिमिलिलिटर पाइएको छ ।
कानुनी लडाइँको तयारीमा स्थानीय सरकार
गाउँपालिकाको पहल र समन्वयमा बागमतीको पानी परीक्षण गरिएको र रिपोर्टसहित आफूहरू कानुनी लडाइँमा जान परामर्श गरिरहेको बागमती गाउँपालिकाका अध्यक्ष लोप्चन बताउँछन् ।
रासायनिक, जैविक, सामाजिक तथा धेरै हिसाबले नकारात्मक असर परिरहेको बागमतीको प्रदूषणले गर्दा तटीय क्षेत्रमा अनौठा स्वास्थ्य समस्या देखिने गरेको बागमती गाउँपालिका–१ घुसेलका वडाध्यक्ष ज्ञानबहादुर लो बताउँछन् ।
अक्सिजन नहुने र कोलीफर्म ज्यादा पाइने भएकाले तटीय क्षेत्रका जलचर, थलचर, उभयचर र वनस्पति तथा आसपासका मानिसहरूमा समस्या सिर्जना भएको वातावरण स्वास्थ्य विशेषज्ञ डा. मेघनाथ धिमाल बताउँछन् ।
बागमतीको अनुसन्धानमा संलग्न विशेषज्ञहरूका अनुसार बागमतीको पानी पिउने गरेका आसपासको जंगलका जंगली जनावर र पन्छीहरूसमेत प्रभावित हुने गरेकाले इकोसिस्टममै समस्या हुने तहमा प्रदूषण पुगेको छ ।
बागमतीको प्रदूषणका कारण आजित भएका नागरिकको पीडाका कारण मकवानपुर बकैया गाउँपालिकाले गाउँसभाबाट निर्णय गरेरै उपत्यकाका स्थानीय तह र संघीय सरकारविरुद्ध कानुनी तथा नैतिक लडाइँ लड्ने घोषणा गरेको गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने बताउँछन् ।
लामिछाने भन्छन्, ‘हाम्रा नागरिकका घरमा बागमतीले बगाएका कुहिएका लास राखिएका छन्, खेतबारीमा काम गर्दा हाम्रा नागरिक बिरामी भएका छन्, नदीकिनारमा उभिनसमेत सक्ने अवस्था छैन, यस्तो अवस्थामा हाम्रा नागरिकलाई क्षतिपूर्ति चाहिन्छ, हामी यसै छोड्दैनौं ।’
मकवानपुर बागमती गाउँपालिकाका अध्यक्ष सर्केस लामा संघीय र प्रदेश सरकार तथा प्राकृतिक स्रोत तथा वित्त आयोगले उपत्यकाबाहिरका बागमती किनारका नागरिकहरूलाई अमानवीय व्यवहार भएको बताउँछन् । प्राकृतिक न्यायको सिद्धान्तका हिसाबले पनि यहाँका नागरिकले यस्तो अन्यायपूर्ण अवस्था झेलेबापत क्षतिपूर्ति पाउने अवस्था हुनुपर्छ ।
नदी प्रदूषणजस्तो गम्भीर अपराधको जिम्मेवारी उपत्यकाका स्थानीय तहहरूले लिनुपर्ने लामाको जिकिर छ । बागमती गाउँपालिकाका पाँचवटा वडाका सयौं परिवार बागमतीको प्रदूषणले विस्थापित भइरहेको र उनीहरूको सामाजिक पुनःस्थापनाका संघर्षको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन् ।
संघीय तथा प्रदेशको समानीकरण अनुदानमा बागमतीको प्रदूषण वा विपद् प्रभावित नागरिकका लागि कुनै ठोस विशेष कार्यक्रम नभएको मकवानपुर बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी बताउँछन् ।








