दल खोल्नुको उद्देश्य निर्वाचनमा जानु होइन, यो कुरा प्रष्ट होस्: मिरज ढुंगाना

काठमाडौँ । जेनजी युवा मिरज ढुंगानाले आफूहरूले राजनीतिक दल खोल्ने उद्देश्य निर्वाचनमा भाग लिनेमात्र नभएको स्पष्ट पारेका छन् । साथै, उनले आफ्ना मुख्य मागहरू पूरा नभएसम्म कुनै पनि हालतमा निर्वाचनमा सहभागी नहुने अडान दोहोर्‍याए ।

शनिवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले दल खोल्नुको उद्देश्य निर्वाचनमा जानु मात्र होइन, यो कुरा प्रष्ट होस् ।’ विशेषगरी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्थालाई आफ्नो मुख्य मागका रूपमा प्रस्तुत गर्दै ढुंगानाले यी माग पूरा नभएसम्म निर्वाचनमा नजाने बताए ।

उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो प्रमुख बटमलाइन हो । विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित हुनै पर्छ । ३ करोडमा ८० लाखलाई छुटाएर हुन्छ ? त्यत्रो रगत पसिना बगाएर गर्नुभएको जनसंख्यालाई छाड्न हुँदैन । यो नभई पनि हामी निर्वाचनमा जानेवाल नै छैनौं ।’

उनले भीड र हुलमुललेमात्र देशको विकास नहुने जिकिर गर्दै आधिकारिक रूपमा अगाडि बढ्न एनजीओ वा राजनीतिक दलको ढाँचा आवश्यक रहेको बताए । ‘हुलमुलले देश बन्दैन । आधिकारिक हुन एनजीओ वा दल चाहिन्छ,’ उनले भने, ‘म सबैलाई एकजुट भएर यो क्रान्तिमा सहभागी हुन आह्वान गर्छु । हाम्रो छाता ठूलो छ, र यो अवसर लामो समयपछि आएको हो ।’ ढुंगानाले बाहिर रहेका विभिन्न समूहलाई सङ्गठित भएर साझा लक्ष्यका लागि अघि बढ्न पनि आग्रह गरे ।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारलाई खबरदारी गर्दै जेनजेड युनाइटेड सडकमा