जेनजी आन्दोलनको डढेलोले औंल्याएका कुरा

एउटा वनमा आगो लागेको थियो । साल, सिसौ, सल्लाका रूख दनदनी बल्न थालेका थिए । वनमा बस्ने खरायो, चित्तल, घोरल र मृगमात्र होइन, बाघ, भालु, हात्ती, गैंडाजस्ता ठुला जनावरसमेत आफ्नो ज्यान जोगाउन ठुलो प्रयत्न गर्दै थिए । त्यसैबेला एकजोडी फिस्टा चराका भालेपोथी नजिकैको तलाउमा गएर आफ्नो चुच्चामा पानीको थोपो बोकेर बलिरहेका वनका एउटा रूखमा खन्याउँथे । त्यो जोडीको काम देखेर एउटा बाँदरले भन्यो, ‘ए ! मूर्ख फिस्टा हो, यत्रो वनमा आगो दन्केको छ, वनका डरलाग्दा जनावरहरूलाई पनि ज्यान जोगाउन हम्मेहम्मे परिरहेको छ । यस्ता बेला तिमीहरूले सानो चुचामा ल्याएको पानीका थोपाले वनको आगो निभ्छ ?’

बाँदरका कुरा सुनेर भाले फिस्टाले भन्यो, ‘हिजोआज हाम्रो वनमा आगलागी भएर तहसनहस भएको छ, यस्ताबेला सबैले आआफ्ना बर्गतबुत्ताले भ्याएसम्म आगो निभाउन प्रयत्न गर्नुपर्ने हो, हाम्रा साना चुच्चामा ल्याएर हालेको पानीले यो वनमा लागेको आगो त निभ्छ कि निभ्दैन ? मलाई थाहा छैन, तर कुनै दिन यो वनमा लागेको डडेलोको इतिहास लेखियो भने यसमा लागेको डढेलो निभाउन एकजोडी फिस्टाका भालेपोथीले चुचामा पानी बोकेर पनि प्रयत्न गरेका थिए भनेर हाम्रो नाम लेखिनेछ ।’

फिस्टाका कुरा सुनेर त्यहाँका ठुला जनावरहरू अक्क न बक्क भए ।

मुलुकमा पनि सधैं संकटको घडी आउँदैन, जुनबेला वनमा डढेलो सल्किएजस्तो विद्रोहको डढेलो सल्कन्छ । त्यस्तो अवस्थामा मुलुकका जुनसुकै तह र तप्काका नागरिकले डढेलोमा ‘घिउ थप्ने’ होइन, त्यसलाई निभाउन मन, वचन र कर्मले प्रयत्न गर्नुपर्दछ । यो नागरिकको कर्तव्य पनि हो ।

सन् १९९७ देखि २०१२ सम्म जन्मिएकाको समूह हो– जेनजी  । अंग्रेजी भाषाको ‘जेनेरेसन जेड’लाई छोटकरीमा ‘जेनजी’ भनिएको हो । अमेरिकी अंग्रेजीमा ‘जेड’लाई ‘जी’ उच्चारण गरिने हुनाले यसलाई ‘जेनजी’ भनिएको हो । सर्वप्रथम सन् २०१८ मा स्विडेनको राजधानीमा जलवायु परिवर्तनको असरले मानिसलाई पार्ने प्रतिकूल प्रभावविरुद्ध यो नवयुवा पुस्ताले आन्दोलन शंखनाद गरेर संसारभर चर्चित भएको थियो । त्यसपछि नवयुवाले आफ्नो आवाज बुलन्द गर्दै सन् २०२४ जुनबाट केन्यामा भएको आन्दोलनले हिंसात्मक रूप लियो । त्यस आन्दोलनमा ६५ जनाभन्दा बढीले ज्यान गुमाएका थिए ।

बिस्तारै यी नवयुवा पुस्ताको आन्दोलन कुनै एक देशमा सीमित नभएर विश्वभर फैलिएको छ । सर्बिया (नोभेम्बर २०२४–सेप्टेम्बर २०२५), माली (सन् २०२५ को मध्य), फ्रान्स (सन् २०२५ को मध्य), युक्रेन (जुलाई २०२५), स्लोभाकिया (डिसेम्बर २०२४–मे २०२५), अमेरिका (फेब्रुअरी–अप्रिल २०२५), बेलायत (जुलाई २०२५), टर्की (अप्रिल २०२५), इरान (मे २०२५), बंगलादेश (अप्रिल २०२५ ) र इन्डोनेसियामा २५ अगस्त २०२५ मा भएका नव युवापुस्ताले गरेको आन्दोलनले ती देशमा जनतालाई करको भारी बोकाएर सत्तामा बस्ने मुठीभरको जग हल्लिन पुग्यो । आन्दोलनका प्रभावमा अफ्रिकी देश युगान्डा, मलावी, घाना र गाम्बियामा पनि बेरोजगारी, आर्थिक संकट र भ्रष्टाचारविरुद्ध नवयुवाले आन्दोलन छेडेका छन् ।

नवयुवाको व्यापक समर्थन र सक्रियतामा भएको जेनजी आन्दोलन ‘नेतृत्वबिहीन’ हुनाले यसका चुनौती पनि त्यतिकै छन् । नेपालमा सरकारले नयाँ नियम लगायो । त्यसअन्तर्गत दर्ता हुन नआएका फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स, युट्युबसहित २६ सामाजिक सञ्जालमाथि सरकारले प्रतिबन्ध लगाएपछि त्यसको विरोधमा २३ भदौ २०८२ का दिनबाट जेनजीको अगुवाई तथा नेतृत्वमा स्वतः स्फूर्तरूपमा देशव्यापी विरोध प्रदर्शन सुरु भयो ।

मुलुकमा पनि सधैं संकटको घडी आउँदैन, जुनबेला वनमा डढेलो सल्किएजस्तो विद्रोहको डढेलो सल्कन्छ । त्यस्तो अवस्थामा मुलुकका जुनसुकै तह र तप्काका नागरिकले डढेलोमा ‘घिउ थप्ने’ होइन, त्यसलाई निभाउन मन, वचन र कर्मले प्रयत्न गर्नुपर्दछ । यो नागरिकको कर्तव्य पनि हो

सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धका कारणमात्र नभएर मुलुकका प्रमुख दुई ठूला शक्ति मिलेर बनेको सरकारले एक वर्ष पूरा गरे पनि जनअपेक्षा पूरा गर्न नसक्नु, नेपाली कांग्रेस र नेकपा एमालेले सरकार बन्नुअगाडि सातबुँदे सहमतिपत्र बनाउँदा संविधान संशोधनको एजेन्डा प्रमुख रूपमा राखे पनि एक वर्षसम्म पनि संशोधन प्रक्रियामा अगाडि नबढ्नु, २०४६ सालदेखियताका प्रमुख पदमा बसेका राजनीतिक दल र कर्मचारीका सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाउने भनेर सबै पार्टीका नेताले मञ्चमा भाषण गर्ने तर निर्णय गरी कार्यान्वयनमा नलाने, मुलुकमा ठूलाठूला भ्रष्टाचार काण्ड भएको समाचारमा आइरहनु, भ्रष्टाचार सूचकांकमा समेटिएका १८० देशमध्ये सन् २०२४ मा नेपाल भ्रष्टाचार हुने मुलुकको १०७औं स्थानमा परेर अन्तर्राष्ट्रियजगत्मै बेइज्जेत हुनुजस्ता कुराले मुलुकभरका नवयुवाको दिमाग चकरायो ।

न्यायालयलगायत राज्यका विभिन्न निकायमा हुने राजनीतिक नियुक्ति, सरुवा, बढुवा तथा पदस्थापनमा चरम राजनीतिकरण र भ्रष्टाचार हुनु, योग्य र क्षमतावान व्यक्ति नियुक्त हुने ठाउँमा राजनीतिक दलका नेता तथा उनीहरूका आसेपासे लठुवा भर्ना हुनेजस्ताले जनतामा निराशा, विद्रोह भाव र कुण्ठामात्र पैदा भएन, सत्ताप्रति तीव्र वितृष्णा पैदा भयो ।

संविधान निर्माणपछि पनि मुलुक यथास्थितिमा रहनु, बन्नुपर्ने कानुन निर्माण हुन नसक्नु, जनताको जीवनस्तर उकास्ने कुनै योजना नहुनु, मुलुकमा भ्रष्टाचारका फाइल बन्द हुनु, मुलुकका हरेर निकायमा चरम भ्रष्टाचारले कर तिर्ने गरीबका छोरा खाडीमा र कर दुरुपयोग गर्ने सत्ताधारीका सन्तान गाडीमा हुनुजस्ता बिडम्बनाले नेपालमा नवयुवा पुस्ता सडकमा आएको अनुमान गर्न सकिन्छ ।

गत २३ भदौ सत्तापक्षबाट बर्बर दमन गरेकाले भोलिपल्ट २४ भदौमा मुलुकले अकल्पनीय क्षति बेहोर्नुप¥यो । जसमा देशका ऐतिहासिक धरोहरका रूपमा रहेका सिंहदरबारमात्र होइन, सर्वोच्च अदालत, राष्ट्रपति निवास, संसद् भवनलगायत देशव्यापी रूपमा कैयौं सरकारी संरचना खरानी भए । २९ भदासम्ममा ७२ जनाले ज्यान गुमाए । जसमा ५९ प्रदर्शनकारी, १० कैदीबन्दी र ३ प्रहरी अधिकारी थिए ।

२४ भदौमा भएको विध्वंशपछि बालबालिका, महिला, युवा तथा ज्येष्ठ नागरिकमा गहिरो मनोवैज्ञानिक असर देखापरेको छ । यसको असरबाट मुक्त भएर सामान्य जीवनमा फर्कन धेरै समय लाग्न सक्छ । राजनीतिक दलका नेता, राजनीतिकर्मी, पार्टी कार्यालय, सांसद, उद्योगी, व्यवसायी तथा स्थानीय तहका जनप्रतिनिधिको व्यक्तिगत सम्पत्ति र घरमा तोडफोड, लुटपाट र आगजानी भएका कारण सामाजिक सद्भाव खलबलिएको छ । यसले गर्दा भावी दिन राजनीतिमा सेवाभावले जान लागेका व्यक्तिले पनि दुई तीनपटक सोचविचार गर्नुपर्ने परिस्थिति जन्म उब्जिएको छ ।

२४ भदौको आन्दोलनका कारण विभिन्न जेलबाट भागेका करिब ११ हजारभन्दा कैदीबन्दीमध्ये अझै धेरै फरार छन् । जघन्य अपराधका घटना बलात्कार, हत्या, लागूऔषध, मानव बेचबिखनजस्ता अपराधमा जेलसजायँ भोगेका व्यक्ति आज यही समाजमा घुमिरहँदा डरलाग्दा घटना हुन नसक्लान् र ? जसले गर्दा समाजमा अमनचयन कायम गर्न निकै नै गाह्रो पर्नेछ र यसको क्षति वर्षौंसम्म राज्यले बेहोरिरहन बाध्य हुनुपर्ने छ । ‘धमिलो पानीमा माछा मार्न’ पल्केका अवसरवादीहरूले यस्तोबेला कुटिल चाल चल्न सक्नेमा पनि सबै क्षेत्रका प्रबुद्ध व्यक्ति सचेत र सचेष्ट हुनुपर्दछ ।

आज मुलुकमा असहज परिस्थिति छ । यस अवस्थामा शिक्षक, विद्यार्थी, नागरिक समाज, पत्रकार, समाजका प्रतिष्ठित व्यक्तिले संयमपूर्वक सहज वातावरण बनाउन आआफ्ना ठाउँबाट भूमिका निर्वाह गर्नुको कुनै विकल्प छैन ।

एकजोडी फिस्टा चराले त वनको डढेलो निभाउन चुचामा पानी ओसारेर प्रयत्न गरे भने हामी त सचेत नागरिक । मुलुकमा सल्केको आगो निभाउन हात्ती, गैंडा, बाघ र भालु अहंकारले गर्जिरहुन् । समाजका विविध तह र तप्काका सचेत नागरिकले तुर्तुरे धारोले होइन, विचारको दमकल नै चलाएर यो डढेलो नियन्त्रण गर्ने काममा प्रयत्नशील भएर मुलुकमा अमनचयन कायम गर्न सक्नुपर्दछ । यही आजको आवश्यकता हो ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंका ४८ र भरतपुरका ५ ठेक्का तोड्ने तयारी