पाल्पा । यसबर्ष तिहारमा स्थानीय फुलको माग बढेपछि फूलखेती गर्ने कृषकहरु खुशि देखिन्छन् । तिहारसँगै विवाह र अन्य कार्यक्रममा समेत फूलमालाको माग बढेपछि फूलखेती फष्टाएको हो । तिहारमा मालासँगै लक्ष्मीपुजामा घर र मन्दिरको सजावटका लागी स्थानीय फूलको माग बढेको छ ।
बैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरु फूलखेतीमा जमेका छन् । तानसेन र रामपुर नगरपालिका, माथागढी, बगनासकाली र रिव्दीकोट सहित शहरबजारसँग जोडिएका बस्तीमा व्यवसायिक फूलखेती गरेका छन् । बैदेशिक रोजगारी छोडेर माथागढी २ रुप्सेका टोपराज पौडेलले फूलखेतीमा रमाएका छन् ।
उनले विगत ४ बर्षदेखी फूलखेती गदै आएका छन् । पौडेलले यसबर्ष ४ रोपनीमा फूलखेती गरेका थिए । पौडेलले यसबर्ष २५० देखी ५ सय ५० रुपैयाँसम्म प्रतिकिलो फूल बिक्री गरेका छन् । करिब २०० केजी फूल बिक्री गरेको र बजारमा फूलको माग बिगतमा भन्दा बढेको पौडेलले बताए ।
यसबर्ष फूल र माला दुवैको मुल्य बढेपछि फूलखेती गर्नेले राम्रो आम्दानी गरेका छन् । गतबर्ष ८० एकसय पर्ने माला यसबर्ष दोब्बर परेको छ । फुलपनि प्रतिकिलो ६ सयसम्म बिक्री भएको छ । बजारमा फूल र मालाको दुवैको अभाव देखिएको व्यपारीहरूको भनाइ छ ।
बगनासकाली ८ बराङ्दीका झपिन्द्र बस्यालले पनि अन्य खेती छाडेर फूलखेतीमा रमाउन थालेका छन् । १५ बर्ष विदेश बसेर फर्किएका बस्यालले ५ बर्षदेखी फूलखेती गर्न थालेका हुन् । उनले यसबर्ष १० रोपनी लगाएको फूल ६ सय रुपियाँ किलोसम्म पारेका छन् । फूलखेती गर्ने शान्ती कोईरालाले पनि यसबर्ष फूलबाट राम्रो कमाइ भएको बताइन् । ५ रोपनीमा फूलखेती गरेकी उनी गतबर्ष भन्दा दोव्बरले मूल्य पाएको खुशी देखिन्छन् ।
जिल्लामा फूलखेती बिस्तारै फस्टाउन थालेको छ । जिल्लामा स्थानीय सरकारले कृत्रिम माला बिक्रीमा रोक लगाएकाले फूल बजार बढेको देखिन्छ । कृत्रिम माला पूणरुपमा रोक्न सकिए अझै स्थानीय फूलले राम्रो बजार पाउने देखिन्छ । राम्रो सम्भावना रहेको फूलखेतीलाई सरकारी पक्षको सहयोग भएमा स्थानीयस्तरमा आयआर्जनसँगै रोजगारी बढ्ने देखिन्छ ।










