निर्माताले नै बाँड्ने गरेका छन् कलाकारलाई स्टारको उपाधि

काठमाडौं । यति बेला नयाँ चलचित्र ‘परिवर्तन’मा अभिनेता सुशील श्रेष्ठलाई ‘एक्सन स्टार’को उपमा दिइएको छ । सोमबार काठमाडौँमा एक समारोहबिच जारी गरिएको यो चलचित्रको टिजरको कास्टिङ बोर्डमा ‘एक्सन स्टार’ भनेर उल्लेख गर्दै सुशीलको चरित्र परिचय गराइएको छ ।

जबकी सुशील श्रेष्ठ चलचित्र होस्टेल रिर्टनबाट नायकको रूपमा नेपाली चलचित्रमा उदाएका कलाकार हुन् । होस्टेल रिटर्नपछि सायद २, कारखाना, लभ डायरी, बादशाजुट र आउट ल दफा २१९ सहित हालसम्म ६ वटा चलचित्र मात्र उनको रिलिज भएको छ । सुशीलको सातौँ चलचित्र ‘परिवर्तन’ आगामी ९ माघमा रिलिज हुँदै छ । यही चलचित्रमा आफूलाई एक्सन स्टार भनेर सम्बोधन गरिएको देखेर टिजर रिलिज कार्यक्रममा अभिनेता सुशील आफैँ लजाए ।

हालसम्म होस्टेल रिटर्नबाहेक कुनै पनि हिट चलचित्र उनले दिन सकेका छैनन् । त्यसो भए सुशील कसरी ‘एक्सन स्टार’ भए भन्ने सञ्चारकर्मीको प्रश्नमा सुशीलले भने,‘यो उपाधि मैले मागेको हैन, यो चलचित्रको निर्माता निर्देशकहरूले नै राख्नु भएको हो । मलाई त एक्सन स्टार हैन, सुशील राम्रो कलाकार भनेर दर्शकले चिन्नु भए पुग्छ ।’

चलचित्र ‘परिवर्तन’को निर्माण पक्षका अनुसार यस अघिको चलचित्र ‘आउट ल दफा २१९’मा पनि अभिनेता सुशील श्रेष्ठलाई कास्टिङ बोर्डमै ‘एक्सन स्टार’ भनेर उल्लेख गरिएको थियो । उनी ‘एक्सन स्टार’ हुन भनेर आफूहरूले सोही अनुसार यो चलचित्रमा पनि ‘एक्सन स्टार’को उपाधि दिएको यसका निर्माण पक्षले बताए । यो कुराको जवाफमा अभिनेता सुशीलले चलचित्र ‘आउट ल दफा २१९’मा पनि आफूलाई एक्सन स्टारको उपाधि नथोपर्न अनुरोध गरेको तर निर्माताले नमानेको गुनासो गरे । अब आउँदा दिनमा यस्तो उपाधि राख्न नदिने उनले जिकिर गरे । केही समय यताबाट नेपाली चलचित्रमा कलाकारहरूलाई विभिन्न स्टारको उपाधि दिने क्रम मौलाएको छ । यति बेला अभिनेता सुशील श्रेष्ठलाई ‘एक्सन स्टार’को उपाधि बाँडे जस्तै दुई वर्ष अघि रिलिज भएको पूजा शर्माको चलचित्र ‘दानवी’का निर्माता निर्देशकले उनलाई ‘एक्सन स्टार, लेडी टाइगर’को उपाधि दिएका थिए ।

पूजाले अभिनय गरेको एक्सन जनराको लागि उनको यो नै पहिलो चलचित्र थियो । बक्स अफिसमा यो चलचित्र सुपर फ्लप भयो । तर पहिलो चलचित्रबाटै ‘एक्सन स्टार र लेडी टाईगर’को उपाधि दिँदा उनी दंग परिन् । त्यसपछि उनले आफूलाई ‘लेडी टाइगर’ नै भनिएको खुसी व्यक्त गर्दै आइन् । पूजालाई पनि यो उपाधि निर्माताले नै थमाई दिएको हुन् ।

नेपाली चलचित्रका निर्माता निर्देशकहरूले बच्चालाई चकलेट बाँडे झै आफ्ना चलचित्रका नायक नायिकाहरूलाई स्टारको उपाधि बाँड्ने गरेका छन् । चलचित्र चिनोको सफलतापछि अभिनेता शिव श्रेष्ठलाई धेरै चलचित्रका निर्माता निर्देशकले ‘एक्सन किङ’को उपाधि बाँडे । केही चलचित्रको कास्टिङ बोर्डमा शिव श्रेष्ठलाई ‘एक्सन किङ’ भनेर उल्लेख गरेको अहिले पनि उनको चलचित्र हेर्दा देख्न पाइन्छ ।

सञ्चारकर्मी प्रकाश सुवेदीले अभिनेता राजेश हमाललाई ‘महानायक’को उपाधि दिए । उनले आफ्ना हरेक कार्यक्रममा हमाललाई यति धेरै ‘महानायक’ भनेर उल्लेख गरे की, त्यसपछि बिस्तारै दर्शकले पनि हमाललाई ‘महानायक’ भन्न थाले । यो विषयमा अभिनेता हमालले पनि आफूले कहिल्यै महानायकको उपाधि नचाहेको र यो उपाधि मिडिया तथा दर्शकले दिएको धेरै पटक स्पट पारे ।

यस्तै अभिनेता भुवन केसीलाई ‘सदाबहार नायक’को रूपमा उपाधि दिइयो । तर यो स्टार उपाधि नभएको स्वयम् अभिनेता भुवन केसीले प्रस्ट पारे । पहिलो चलचित्र ‘जुनी’ देखि अहिले प्रदर्शन भइरहेको चलचित्र ‘जेरी अन टप’सम्म पनि दर्शकले आफूलाई शारीरिक रूपमा उस्तै तन्दुरुस्त देखेका कारण सदाबहार भनेको भुवनको तर्क छ । ‘सदाबहार’ स्टार उपाधि नभएको उनले बताएका छन् ।

हाल प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘जेरी अन टप’मा भुवनलाई ‘सुपर स्टार’को उपाधि दिइएको छ । यो चलचित्रको कास्टिङ बोर्डमा ‘सुपर स्टार’ भुवन केसी लेखिएको छ । यो विषयमा पनि अभिनेता भुवनले आफूले ‘सुपर स्टार’ भनेर कहिल्यै कुनै पनि निर्माता निर्देशकसँग उपाधि नमागेको बताएका छन् ।

यो उपाधि निर्माताहरूले नै यस पटक चलचित्रमा झुन्ड्याई दिएको उनले बताएका छन् । आफूले यस अघि ‘सुपर स्टार’ नामको चलचित्र खेलेका कारण पो यसमा पनि ‘सुपर स्टार’को उपाधि दिइएको हो की भनेर भुवनले ठट्टा समेत गरेका छन् ।

यस्तै अभिनेता अनमोल केसीलाई चलचित्र ‘ए मेरो हजुर ३’बाट निर्माता सुनिल कुमार थापाले ‘मेघा स्टार’को उपाधि दिए । जबकि २५ वटा ब्लक बस्टर हिट चलचित्र दिइसकेका कलाकारलाई बल्ल ‘मेघा स्टार’को उपाधि दिन प्रचलन बाहिरी देशमा रहेका छ । चलचित्र ‘जेरी अन टप’मै पनि अभिनेता अनमोल केसीलाई ‘मेघा स्टार’को रूपमा कास्टिङ बोर्डमा प्रस्तुत गरियो । यो विषयमा अभिनेता अनमोल केसीले पनि आफूलाई निर्माताहरूले नै ‘मेघा स्टार’को उपाधि दिएको र आफूले आफैँलाई कहिल्यै ‘मेघा स्टार’ भनेर नभनेको स्पष्ट पारे ।

१० वटा चलचित्रमा अभिनय गरेर पनि ७ करोड भन्दा माथिको व्यापार विगतका कुनै पनि चलचित्रबाट गर्न नसकेका अनमोल कसरी ‘मेघा स्टार’ भए भन्ने सञ्चारकर्मीको प्रश्नमा ‘जेरी अन टप’का निर्देशक सुयोग गुरुङले विगतका निर्मातालाई दोष देखाए । विगतका चलचित्रमा अनमोललाई ‘मेघा स्टार’ भनेर उल्लेख गरेकै कारण आफूले पनि चलचित्र ‘फर्की फर्की’ र ‘जेरी अन टप’मा ‘मेघा स्टार’को उपाधि दिएको उनले बताए ।

यसरी नेपाली चलचित्रमा अभिनेत्री पूजा शर्मा बाहेक कुनै पनि कलाकारले आफूलाई स्टारको उपाधि नमागेको र नस्विकारेको बताएका छन् । त्यो उपाधि उनीहरूलाई मन पनि गरेको छैन । तर चलचित्रका निर्माता निर्देशकहरुले नै आफ्नो चलचित्र चलाउन उनीहरूलाई यस्ता स्टारको उपाधि बाँडेर बजारमा सस्तो तुल्याइरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंका ४८ र भरतपुरका ५ ठेक्का तोड्ने तयारी