काठमाडौं । जेनजी आन्दोलनपछि पहिलोपटक राजनीतिक दल, जेनजी र सरकारबीच भएको त्रिपक्षीय बैठकले सुशासन र निर्वाचन सँगसँगै लैजानुपर्ने निष्कर्ष निकालेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको त्रिपक्षीय बैठकमा तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने र सुशासनका माग पूरा गर्ने विषयमा छलफल भएको छ ।
आन्दोलनको म्यान्डेटअनुसार नियुक्ति भएकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा जोड दिँदै सबै मिलेर तत्कालै संविधान र लोकतन्त्रलाई ट्र्याकमा ल्याउनुपर्नेमा जोड दिएकी थिइन् । कार्कीले आफू तोकिएको मितिमा निर्वाचन गराएर जननिर्वाचित सरकारलाई हस्तान्तरण गर्न आतुर रहेको बताएकी थिइन् ।
प्रधानमन्त्रीले निर्वाचनमा जोड दिएपछि जेनजीका प्रतिनिधिले भने निर्वाचनको रटान लगाएर मात्र जेनजी आन्दोलनको भावना सम्बोधन नहुने बताएका थिए । आन्दोलनका माग कसरी सम्बोधन गर्ने भन्नेमा सबैको ध्यान जानुपर्छ नत्र शहीदको रगतको अपमान हुन्छ भन्दै जेनजी युवाहरूले सरकार र दलहरूको ध्यानाकर्षण गराएका छन् ।
सुशासनको एजेन्डामा दलहरूले पनि आफूहरू प्रतिबद्ध भएको दोहो¥याएका छन् । ‘भ्रष्टाचार अन्त्य गर्ने र सुशासन कायम गर्ने माग हाम्रो पनि हो तर कार्यान्वयनको बाटो सुनिश्चित गरौं भन्ने धारणा हामीले राख्यौं,’ बैठकपछि नेपाली कांग्रेसका तर्फबाट बैठकमा सहभागी भएका सहमहामन्त्री प्रकाशशरण महतले भने ।
एजेन्डामा दल र जेनजी एकैठाउँ आइपुगेको र कार्यान्वयनका प्रक्रिया, कार्यशैली र नेतृत्वलगायतका विषयमा नियमित छलफल हुनुपर्ने साझा धारणा रहेको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहजीकरण गरेको वार्तामा प्रधानमन्त्री कार्कीले सरकार, राजनीति दल र जेनजी प्रतिनिधिबीच संवाद सुरु भएकाले यसलाई पटकपटक गरेर निष्कर्षमा पुग्नुपर्ने बताएकी थिइन् ।
उनले घोषित मितिमा निर्वाचन हुने, जेनजीका माग सम्बोधन हुने र राजनीतिक दलले अपमान र असुरक्षा पनि महसुस नगर्नेगरी अघि बढ्नुपर्ने बताएकी थिइन् ।
जेनजी प्रतिनिधिहरूले भने निर्वाचनसँगै भ्रष्टाचारीमाथिको कारबाही तत्काल अघि बढ्नुपर्ने जेनजी आन्दोलन दमन गर्नेमाथि कारबाही हुनुपर्ने, आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति नष्ट गर्नेमाथि कारबाही हुनुपर्नेलगायतका माग अघि सारेका छन् ।
कसको प्रतिनिधि हुन् सागर ढकाल ?
प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बालुवाटारमा जेनजी प्रतिनिधि र राजनीतिक दललाई एकठाउँमा राखेर सरकारले वार्ता गर्ने भन्दै बोलाइन् ।
बैठकमा सरकार, राजनीति दल र जेनजीका को–को प्रतिनिधि सहभागी छन् भनेर प्रधानमन्त्री कार्यालयले नै सूचना सार्वजनिक गरेको छ । तर, सरकारले सार्वजनिक गरेको सूचीमा नाम नै नभएका सागर ढकाल भने वार्ताका क्रममा टोपी र रातो कुर्ता लगाएर केही टिपिरहेको तस्बिर बालुवाटारले नै सार्वजनिक ग¥यो । र, उनी जेनजीका प्रतिनिधि बसेको सिटमा बसेका देखिन्छन् ।
निर्वाचन आयोगका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेलधुरामा २०७९ सालमा चुनावी प्रतिस्पर्धा गर्ने बेला सागरको उमेर ३१ वर्ष थियो । यस हिसाबले हेर्दा उनी अहिले ३४ वर्षका भए ।
२८ वर्षसम्मको उमेर समूहलाई जेनजी मानिएको छ । वार्तामा प्रदर्शनकारी जेनजी प्रतिनिधिका अतिरिक्त शहीद र घाइते परिवारका सदस्यका तर्फबाट पनि सहभागी छन् । तर, ढकालका कोही पनि आफन्त र परिवारका सदस्य मृतक या घाइते छैनन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार दलका तर्फबाट वार्तामा नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह र प्रकाशशरण महत सहभागी छन् ।
प्रधानमनत्री, गृहमन्त्री, सञ्चारमन्त्री र शिक्षामन्त्री सहभागी सो वार्तामा जेनजी प्रतिनिधिका रूपमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल र राजन रानामगरलाई आधिकारिक टोलीका रूपमा प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको छ ।
आन्दोलनका घाइते र शहीद परिवारका सदस्य बताउनेहरू बालुवाटारमा वार्ता भइरहेको स्थानबाहिर वार्तामा सहभागी नगराइएको भन्दै धर्नामा पनि बसे । सरकारले सार्वजनिक गरेको त्रिपक्षीय वार्तामा सहभागीका रूपमा कतै पनि नाम उल्लेख नभएका ढकाल कसरी र कुन हैसियतमा बैठकमा सहभागी भए भन्ने प्रश्न जेनजीकै प्रतिनिधिले समेत उठाएका छन् ।
जेनजी, महिला र शहीद परिवारका असन्तुष्टि
जेनजी आन्दोलनपछि सरकारले बोलाएको त्रिपक्षीय वार्तामा जेनजी उमेर समूहदेखि दलभित्रका महिला सहभागिताको विषयमा असन्तुष्टि सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच बालुवाटारमा भएको छलफलको प्रतिनिधित्वका विषयमा विवाद र आलोचना सुरु भएको छ ।
६ महिनाभित्र निर्वाचन गर्ने म्यान्डेट पाएको सरकारले आह्वान गरेको वार्ताको मुख्य एजेन्डा २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउनेमा केन्द्रित रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कांग्रेस–एमाले गैरजिम्मेवार
बालुवाटारको छलफललाई कांग्रेस–एमालेले गैरजिम्मेवार ढंगले लिएको आलोचना सुरु भएको छ । जेनजी आन्दोलन र छलफलमा भएको सहभागितालाई उपेक्षा गर्ने ढंगले पार्टीको शीर्ष तहबाट प्रतिनिधित्व नगराइएको भन्दै आलोचना सुरु भएको छ ।
उता, नेकपा एमालेले भने जेनजीसँगको वार्ता भएकाले आफूहरूले युवा नेताहरू महेश बर्तौला र क्षितिज थेबेलाई पठाएको जनाएको छ । नेपाली कांग्रेसले नेता प्रकाशशरण महतलाई छलफलमा पठाएको छ ।
‘कांग्रेस–एमालेको प्रतिनिधित्व न जेनजी भावनालाई सम्बोधन गर्ने खालको छ, न समावेशी छ, यो त खोइ हेपेको कि के हो के हो ?’ छलफलमा सहभागी एक जेनजी नेताले भने, ‘एमालेले जेनजीलाई नै अघि सार्ने हो भने पार्टी नेतृत्व नै युवालाई हस्तान्तरण गरोस्, नत्र जिम्मेवार तहको प्रतिनिधित्वमा हुने छलफललाई ख्यालख्याल नगरोस् ।’
रास्वपाबाहेक दलमा न जेनजी, न महिला
जेनजीसहितको त्रिपक्षीय छलफलमा विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको छलफलमा अचम्मको दृश्य देखिएको छ । छलफलमा न शीर्ष नेता छन्, न त महिला, न जेनजी सहभागिता ।
दलहरूले यस छलफललाई एजेन्डा र नेतृत्वकै हिसाबले उपेक्षा गरिएको भन्दै आलोचना सुरु भएको छ । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक सबै दलले पुरुष नेतालाई मात्रै सहभागी गराएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उपसभापति स्वर्णिम वाग्ले र जेनजी उमेर समूहकी निशा डाँगीको सहभागिता थियो भने अन्य दलका न जेनजी थिए, न महिला नै । नेपाली कांग्रेसले सहमहामन्त्री महतलाई पठायो भने एमालेले थेबे र बर्तौलालाई सहभागी गरायो ।
नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठ र माधव सापकोटालाई पठाएको छ । यस्तै, राप्रपाले पनि महामन्त्री राजेन्द्र गुरुङ र प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठलाई सहभागी गराएको छ । नेकपा एकीकृत समाजवादीबाट प्रकाश ज्वाला र राजेन्द्र पाण्डे सहभागी छन् । जनमत पार्टीबाट वसन्त कुशवाह सहभागी छन् भने जसपाबाट प्रकाश अधिकारी र दीपक कार्की सहभागी छन् ।
त्रिपक्षीय छलफलमा गएका विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलमध्ये रास्वपाबाट एक जना मात्रै महिला तथा जेनजी प्रतिनिधित्व भएको भन्दै सामाजिक सञ्जालमा समेत आलोचना सुरु भएको छ ।
सम्बन्धित समाचार
कार्यकारी भूमिकाबाट बिदा लिन ओलीमाथि दबाब
महाधिवेशन तय गर्दै सकियो एमाले बैठक
दल खोल्नुको उद्देश्य निर्वाचनमा जानु होइन, यो कुरा प्रष्ट होस्: मिरज ढुंगाना
नेताका आ–आफ्नै डम्फू
‘जेनजी’ आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा
म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन : मन्त्री घिसिङ
सरकारमा पहिलोपटक जेनजी अनुहार
कसैले चुनाव भाँड्ने प्रयास नगर्न नवनियुक्त स्वास्थ्य मन्त्री आग्रह






