काठमाडौं । गत २३ र २४ भदौको जेन्जी आन्दोलनका क्रममा ठूलो मात्रामा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति भएको छ । नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार हालसम्म आन्दोलनपछिको क्षतिका लागि कुल २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँबराबर बिमा दाबी दर्ता भइसकेको छ ।
तथापि, बिमा कम्पनीहरूले अहिलेसम्म तीमध्ये मात्र २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ मात्र दाबी भुक्तानी गरेका छन् । क्षतिको अवस्थालाई बिमा प्रकारअनुसार हेर्दा सम्पत्ति (प्रोपर्टी) बिमाको हिस्सा सबैभन्दा ठूलो देखिन्छ । बिमा कम्पनीहरूसँग कुल ६ सय ७३ वटा सम्पत्ति बिमा दाबीबाट १९ अर्ब १ करोड ९३ लाख रुपैयाँको दाबी परेका छन्, जसमा अहिलेसम्म करिब २ अर्ब २७ करोड ११ लाख रुपैयाँ मात्र भुक्तानी भएको छ ।
त्यस्तै, मोटर बिमामा २ हजार २ सय ७० दाबी परेको छ । यसमा ३ अर्ब ४४ करोड २५ लाखको बिमा दाबी पर्दा ४७ करोड ७७ लाख रुपैयाँको मात्र भुक्तानी भएको छ । इन्जिनियरिङ तथा ठेकेदार बिमामा १ सय ९२ वटा दाबीबाट ३६ करोड ७९ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।
यद्यपि, बिमा कम्पनीहरूले ती दाबीमा गहन अनुसन्धान नपुग्दै अग्रिम भुक्तानीसमेत गरिसकेका छन् । उदाहरणका लागि, मोटर बिमा दाबीमध्ये झन्डै २ अर्ब २७ करोेड ११ लाख भुक्तानी भइसकेको छ । तर, इन्जिनियरिङ बिमामा मात्र ४ करोड ६३ लाख रुपैयाँ पेस्कीका रूपमा उपलब्ध गराइएको छ । परिवहन बिमा १२ वटा दाबी परेको छ भने यसमा १ करोड ६६ लाख रुपैयाँबराबरको बिमा दाबी परेको छ ।
अन्य बिमामा ४० वटा र ३८ करोड ७१ लाख रुपैयाँबराबरको दाबी परेको छ । कम्पनीहरूले २२ लाख रुपैयाँ भुक्तानी गरेका छन् । सम्पत्ति बिमाभित्रको दाबीको मूल्यांकनमा पनि जोखिम र अनुगमनका लागि सर्वेयर खटाइएको छ, तर प्रक्रियामा ढिलाइले भुक्तानीमा गती आउन बाँकी रहेको बताइएको छ ।
प्रदेशअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी बिमा दाबी परेका छन् । प्राधिकरणको तथ्यांकअनुसार बागमतीमा एकै प्रदेशमै १ हजार ७ सय २३ वटा दाबी परेको छ । सो प्रदेशमा १७ अर्ब ६१ करोड ६१ लाख रुपैयाँबराबरको क्षति भएको छ । कोशी प्रदेशमा ३ सय ९२, मधेशमा ३ सय ६७, गण्डकीमा २ सय १६, लुम्बिनीमा २ सय ५७, कर्णालीमा २८ र सुदूरपश्चिममा २ सय ४ दाबी परेका छन् ।
कम्पनीगत हिसाबले पनि अवस्था असमान छ । हालसम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सबैभन्दा बढी ५ अर्ब ४९ करोड ४८ लाख रुपैयाँबराबर दाबी परेको छ, जसमा १ अर्ब २८ करोड ३ लाख रुपैयाँ मात्र भुक्तानी भइसकेको छ । त्यसपछि ‘दि ओरियन्टल इन्स्योरेन्स’मा करिब ५ अर्ब २४ करोड दाबी परेको छ, तर त्यसमा झन्डै १ अर्ब ६६ लाख मात्र भुक्तानी भएको छ ।
१८ वटा बिमा कम्पनीमध्ये राष्ट्रिय बिमा कम्पनी, नेसनल इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा हालसम्म एक रुपैयाँ पनि भुक्तानी नभएको प्राधिकरणको तथ्यांकमा देखिन्छ । प्राधिकरणको तथ्यांकअनुसार सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनीमा ५८ करोड ६९ लाख रुपैयाँँ, नेसनलमा ८ करोड ६२ लाख रुपैयाँँ र स्टार माइक्रोमा ७२ लाख ३८ हजार रुपैयाँँको दाबी परेको छ । उनीहरूले अग्रिम भुक्तानी दिएको तथ्यांकमा देखिन्न ।
अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका समयमा क्षति भएकामध्ये बिमित सम्पत्तिमा परेको दाबीको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी गर्ने निर्णय गरिएको जनाएका छन् । मन्त्रिपरिषद्को निर्णयपछि बिमा प्राधिकरणलाई पनि बिमा कम्पनीहरूले दाबीको आधा रकम अगाडि दिन सकून् भनेर व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
अनुगमन र मूल्यांकनको काम पूरा हुनुअघि पनि बिमितलाई राहत दिन अग्रिम भुक्तानी ठूलो सहयोगका रूपमा देखिएको छ । तर, बिमितका अनुसार अधिकांश बिमा कम्पनीहरूले ‘पुनर्बिमा कम्पनीबाट रकम नआएको’ अड्कल लगाउँदै पुनःभुक्तानीमा ढिलाइ गरेका छन् ।
हाल नेपालमा १४ ठूला र चार लघु गरेर १८ वटा निर्जीवन बिमा कम्पनी छन् । त्यी सबै कम्पनीमा यसअन्तर्गतको दाबी परेको छ । त्यसमा हालसम्म २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँँबराबरको ३ हजार १ सय ८६ वटा दाबी परेको छ । त्यसमा कम्पनीहरूले २ अर्ब ७९ करोड ७४ लाख ४७ हजार रुपैयाँँ अग्रिम भुक्तानी दिएका छन् ।
यसबाहेक सिद्धार्थ प्रिमियरले १ अर्ब २८ करोड ३ लाख रुपैयाँँ, दिन ओरियन्टलले १ करोड ६६ लाख रुपैयाँँ, आईजीआई प्रुडेन्सियलले ३१ करोड ४१ लाख रुपैयाँँ, शिखरले ५८ करोड ३२ लाख रुपैयाँँ, सगरमाथा लुम्बिनीले ७ करोड २४ लाख रुपैयाँँ, नेकोले ९ करोड ८० लाख रुपैयाँँ र हिमालयन एभरेस्टले २५ करोड ६० लाख रुपैयाँँ अग्रिम भुक्तानी दिएका छन् । यस्तै, सानिमा जीआईसीले ७ करोड १४ लाख रुपैयाँँ, युनाइटेड अजोडले १ करोड ७८ लाख रुपैयाँँ, एनएलजी २ करोड १ लाख रुपैयाँँ, नेपाल इन्स्योरेन्सले ६ करोड ११ लाख रुपैयाँँ र प्रभु इन्स्योरेन्सले २२ लाख रुपैयाँँ अग्रिम दाबी भुक्तानी दिएका छन् ।
प्रोटेक्टिभ माइक्रोले २ लाख ५० हजार रुपैयाँँ, ट्रस्ट माइक्रोले २२ लाख ३९ हजार र नेपाल माइक्रोले १२ लाख ३२ हजार रुपैयाँँ अग्रिम भुक्तानी दिएका छन् । तथ्यांकअनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा ५ अर्ब ४९ करोड ४८ लाख रुपैयाँबराबरको बिमा दाबी परेको छ । दि ओरियन्टलमा ५ अर्ब २४ करोड रुपैयाँको दाबी परेको छ ।
आईजीआई प्रुडेन्सियलमा २ अर्ब ७९ करोड, शिखरमा २ अर्ब ४१ करोड, सगरमाथा लुम्बिनीमा १ अर्ब ५८ करोड, नेकोमा १ अर्ब १४ करोड, हिमालयन एभरेस्ट्रमा ९७ करोड १४ लाख, सानिमा जीआईसीमा ९२ करोड र युनाइटेड अजोडमा ६३ करोड ९४ लाख रुपैयाँबराबरको बिमा दाबी परेको छ । यस्तै, एनएलजीमा ६३ करोड ६४ लाख, राष्ट्रिय बिमा कम्पनीमा ५८ करोड ६९ लाख, नेपाल इन्स्योरेन्समा ४६ करोड ९५ लाख, प्रभु इन्स्योरेन्समा २१ करोड ८ लाख र नेसनल इन्स्योरेन्समा ८ करोड ६२ लाख रुपैयाँ बिमा दाबी परेको छ ।
प्रोटेक्टिभ माइक्रोमा १ करोड ४९ लाख, स्टार माइक्रोमा ७२ लाख, ट्रस्ट माइक्रोमा ६५ लाख र नेपाल माइक्रोमा ५९ लाख रुपैयाँबराबरको बिमा दाबी परेको छ । यस्तै, सिद्धार्थ इन्स्योरेन्समा ३ सय ९७ वटा दाबी परेको छ । दि ओरियन्टलमा ९९, आईजीआई प्रुडेन्सियलमा २ सय १५, शिखरमा ४ सय ३५, सगरमाथा लुम्बिनीमा ३ सय ४२, नेकोमा २ सय ६४, हिमालयन एभरेस्टमा २ सय ७१ वटा बिमा दाबी परेको छ ।
यस्तै, सानिमा जीआईसीमा १ सय ७६, युनाइटेड अजोडमा २ सय ३८, एनएलजीमा २ सय ८, राष्ट्रिय बिमा कम्पनीमा २ सय ४७, नेपाल इन्स्योरेन्समा १ सय ९, प्रभु इन्स्योरेन्समा १ सय ११, नेसनलमा २५ वटा बिमा दाबी परेको छ ।






