नयाँ विषय थप गर्दै दिक्तेल बहुमुखी क्याम्पस

खोटाङ । खोटाङको दिक्तेल बहुमुखी क्याम्पसले नयाँ विषय थप गर्ने योजना बनाएको छ । कात्तिक १४ गते सम्पन्न क्याम्पसको सातौं साधारणसभामा क्याम्पस प्रमुख कृष्णबहादुर राईले समय अनुकूल आवश्यक विषय थप गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

खोटाङकै ज्येष्ठ क्याम्पसमा हाल मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र र व्यवस्थापन संकायको पठनपाठन भइरहेको छ । यस्तै, परम्परागत शिक्षण विधि र साधनहरूलाई हटाउँदै आधुनिक विधि र साधनहरूको प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने महत्वाकांक्षी योजना अघि सारिएको छ । क्याम्पस भर्ना दर बढाउने र ‘ड्रपआउट’ कम गर्ने योजनाहरू बनाउने तथा विषयविज्ञहरूबाट भौतिक वा भर्चुअल कक्षा सञ्चालनको व्यवस्था गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिएको थियो ।

यस्तै, कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीका लागि क्याम्पसको लर्निङ म्यानेजमेन्ट सिस्टमलाई व्यवस्थित गरी भर्चुअल कक्षा सञ्चालन गर्ने योजना बनाइएको छ । विद्यार्थीको परम्परागत उपलब्धि मापन विधिलाई सुधार गर्नेलगायतका योजना नीति तथा कार्यक्रममा उल्लेख छ । यी योजनाहरूले क्याम्पसलाई आधुनिक शैक्षिक प्रविधिसँग जोड्ने र विद्यार्थीहरूलाई समयानुकूल शिक्षा प्रदान गर्ने लक्ष्य राखेका छन् । क्याम्पस प्रमुख राईले नीति तथा कार्यक्रमसँगै प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै, सहायक क्याम्पस प्रमुख हर्कबिर राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाजयन्ती राईको अध्यक्षतामा भएको सभा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले उद्घाटन गरेका थिए । विभिन्न कक्षामा सर्वाधिक अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई क्याम्पस सभाकै अवसरमा प्रशंसापत्र प्रदान गरिएको थियो ।

दिक्तेल बहुमुखी क्याम्पसको नयाँ योजनाले खोटाङ जिल्लामा उच्च शिक्षाको गुणस्तर सुधार्ने र आधुनिक शैक्षिक प्रणालीसँग तालमेल मिलाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल