पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा गत आर्थिक वर्ष २०८१–८२ मा १ हजार २०१ उजुरी दर्ता भए । अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका १५९ सहित कुल १ हजार ३६० उजुरीमध्ये करिब ८७ प्रतिशत स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फछ्र्यौट भएका छन् । अब १०१ उजुरी मात्र फछ्र्यौट हुन बाँकी छन् ।
आयोगको कार्यालयले शुक्रबार गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरेको गत आवको ३५ आँै वार्षिक प्रतिवेदनमा सो उल्लेख छ । आयोगका पोखरा कार्यालय प्रमुख डा. नारायणप्रसाद रेग्मीले नेपालको संविधान धारा २९४ को उपधारा (३) को व्यवस्थाबमोजिम प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेस गरेका हुन् ।
डा. रेग्मीका अनुसार कुल उजुरीमध्ये अब १०१ उजुरीमात्र फछ्र्यौट हुन बाँकी छ । देशभरको तुलनामा प्रदेशगत हिसाबमा गण्डकीमा उजुरी संख्या सबैभन्दा कम भए पनि स्थानीय तहमध्ये सबैभन्दा बढी उजुरी पोखरा महानगरमा रहेको रेग्मीले बताए ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले भ्रष्टाचार नियन्त्रण र सुशासन नै आमनागरिकको मुख्य चाहना रहेकाले यसको नियन्त्रणमा प्रमुख भूमिका रहेको आयोग अझै सक्षम र प्रभावकारी रहनुपर्नेमा जोड दिए । ‘आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणका काम चुनौतीपूर्ण छ । मुलुकमा सुशासन स्थापना गर्न, सुशासन प्रणाली बसाउन अख्तियार अझै क्रियाशील रहने विश्वास लिएको छु,’ उनले भने ।
सम्बन्धित समाचार
दुर्घटनामा बरिष्ठ कृषि अधिकृत लम्सालको निधन
पक्राउ परेका २ वडाध्यक्ष, १ शिक्षकसहित ५ जना विदाको दिनमा प्रहरीद्वारा धरौटीमा रिहा
आज तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
लुक्लामा आफ्नै हाइड्रोसहित २५ शैय्याको अस्पताल
पर्यटन र सूचना प्रविधिमा थुप्रियो वैदेशिक लगानी
मध्यपहाडी र विपी राजमार्ग पूर्ण रुपमा बन्द


								
											
											
								
								



