वर्षातको परवाह नगरी तारियो दर्जन फूलको डोली

लमजुङ । हरिबोधनी एकादशीका दिन लमजुङमा श्रद्धालु भक्तजनहरूबाट विभिन्न क्षेत्रका चर्चित नदी किनारहरूमा विगतका वर्षझैं यो वर्ष पनि फूलको डोली(तोरण) तार्ने काम गरिएको छ । पछिल्ला ३– ४ दिनदेखि अविरल रुपमा परेको पानी, र मौसमविद्हरूको चेतावनीका बीच पनि भक्तजनको उत्साहमा खासै कमी थिएन । तथापि फूलको डोली तार्ने काम भने गत विर्षकोभन्दा कम भएको प्रत्यक्षदर्शीले बताए ।

विगतका वर्षमा सबैभन्दा बढी शितप्रवाह (मस्र्याङदी) नदी र तिलानदी (पाउँदी) नदीको दोभानमा फूलको डोली तार्ने काम हुने गरेकोमा यो वर्ष सो स्थानमा फूलको डोली केही कम आएको स्थानीय समाजसेवी लक्ष्मीप्रसाद मिश्रले बताए । उनका अनुसार यो वर्ष झरीको कारणले गर्दा डोली कम आएको गाउँगाउँबाट यहाँ आएका भक्तजनले आफूलाई बताएका छन् । उनले भने, ‘विगतका वर्षहरूमा ९ वटासम्म यही ठाउँमा फूलको डोली तारेको आफूले पाएकोमा यो वर्ष भने दुई वटा मात्र डोली तार्ने काम भयो, थप आउने भएको जानकारीमा छैन ।’ यस वर्ष ५० वटा स्टलबाट स्थानीय उत्पादन दैनिक उपभोगका सामग्रीदेखि गृहस्थीमा आवश्यक पर्ने डोका, डाला, नाम्ला, दाम्ला, धुन्से, सत्ता कपडा आदिको पनि विक्री भइरहेको मिश्रको भनाइ छ ।

मस्र्याङदी नदीमा पानीको धार बढी भएको हुँदा सशस्त्र प्रहरीबलले फूलको डोरी तार्नका लागि डुंगाको प्रवन्ध गरेर सहयोग गरेको सो स्थलबाट रेडियो भोटेओडारका समाचार प्रमुख वासुदेव थापाले बताए । उनका अनुसार यो वर्ष वर्षातको कारणले गर्दा विगतका वर्षमा जस्तो उत्साह देखिएन । तर पनि आएका भक्तजनहरू भने रमाइरहेका देखिन्थे उनले भने ।

लमजुङको सुन्दरबजार नगरपालिका– ७ को पाउँदीबजार स्थित मस्र्याङदी नदी किनारबाट राइनास नगरपालिका– ८ को हर्राबोट मस्र्याङदी नदी किनारमा फूलको डोली अर्थात फूलले सजाइएको तोरण तार्ने काम भएको हो ।

उता, लमजुङकै मस्र्याङदी गाउँपालिका– ९ मा यो वर्ष गत वर्षभन्दा थप २ समेत छ वटा फूलको डोली तार्ने काम भएको सो वडाका अध्यक्ष हरिश्चन्द्र थापाले बताए । उनका अनुसार शितप्रवाह नदी र सुधा नदीको संगममा परम्परागत रुपमा तार्ने गरेको फूलको डोली सशस्त्र द्वन्द्व उत्सर्गमा पुग्दै गर्दा छाडिएको थियो । उनले भने, ‘त्यो ऐतिहासिक परम्परालाई जीवन्त राख्न पछिल्ला दुई वर्ष अघिदेखि यो काम आफ्नै पहलमा टोल विकास संस्थाहरूको सहयोगमा पुनः थालिएको हो । उनले भने, ‘पहिलो वर्ष एउटा मात्र डोली तारिएको थियो भने गत वर्ष तीनवटा तारिएको थियो, यो वर्ष पाँच वटा फूलको डोली तार्ने तयारी हुँदैछ ।’ फूलको डोली तार्नु अघि गर्नु पर्ने नारायणको पुजा हुँदैछ, त्यो पुजापछि डोली तार्नेकाम हुने उनले जानकारी दिए ।

सोही गाउँपालिका– ३ को खुदी दोभानमा तार्ने फूलको डोलीमा पनि यो वर्ष कमी आएको छ । गत वर्ष दुईवटा डोली तारिएको थियो, यो वर्ष भने एउटामात्र भयो सो स्थानमा रहेको अमर माविका निवर्तमान प्रधानाध्यापक तीर्थ बस्नेतले बताए ।

यसैगरी, लमजुङको मध्यनेपाल नगरपालिका– ७ को मादी नदी किनारमा दुई वटा फूलको डोली तार्ने काम सम्पन्न भएको स्थानीय सांस्कृतिक अभियानकर्मी एवम् ठाडोभाका लोककला प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले बताए । उनका अनुसार भजनकीर्तन सहितको टोलीले फूलको डोली लिएर मादी नदी किनारमा गई तार्नेका गरेको हो । उनले भने, ‘यो स्थानमा मध्यनेपाल नगरपालिका– ६ को रानीपानीको आमा समूहले पनि हरेक वर्ष फूलको डोली तार्ने गरेकोमा यो वर्ष पनि उनीहरूले बाजागाजा सहित आएर तोरण तार्नेकाम गरेको छन् ।’ त्यो ठाउँमा पनि छ वटासम्म फूलको डोरी तार्ने काम हुनेगरेकोमा यो वर्ष भने दुईवटामात्र आएको घिमिरेले जानकारी दिए । ती फूलका डोली लमजुङको मध्यनेपाल नगरपालिका– ७ र कास्की जिल्लाको रुपा गाउँपालिका– ५ तर्फ तार्नेकाम भएको हो । यो वर्ष कास्कीतर्फबाट फूलको डाली तार्ने काम गरेको देखिएन उनले भने ।

यसैगरी, लमजुङको मध्यनेपाल नगरपालिका– ४ को सिसाघाटमा पनि फूलको डोरी तार्नेकाम भएको छ । सो स्थानमा पनि हरेक वर्ष ३– ४ वटा फूलको डोली हुने गरेकोमा यो वर्ष स्थानीय गौरीशंकर मन्दिर संरक्षण समितिले त्यो काम गरेको स्थानीय शिक्षासेवी सिसाघाट माविका पूर्वप्रधानाध्यापक तीर्थराज पराजुलीले बताए । उनका अनुसार मादी नदीको पारी तनहुँको सिसाघाटतर्फ लमजुङतर्फबाट फूलको तोरण टाग्ङ्ने काम भएको हो । उनले भने, ‘तनहुँतर्फबाट भने फूलको डोली तार्न ल्याएको देखिएन ।’

यसैबीच, लमजुङको राइनास नगरपालिका– ८ को धर्मनाथ धाममा शिव दर्शन तथा गोमुखी १०८ धारा स्नान गर्न आएका तीर्थालु भक्तजनले सो धाममा चढाएको दान रकम ५८ हजार संकलन भएको सो धामका व्यवस्थापन गर्ने सर्वोदय सेवाश्रमका कोषाध्यक्ष भूमिनन्द तिमिल्सिनाले बताए । उनका अनुसार यहाँ आउने भक्तजनले आफू खुशी दान पेटिकामा पनि भेटी रकम खसाएका छन् । उनले भने, ‘त्यसको हिसाव भोलिमात्र समितिले रोहबरमा दान पेटिका खोलेर दान रकमको गणना गर्ने काम गर्छ ।’ त्यस बाहेक केही आश्रमका लागि केही खाद्यान्न र फलफूल पनि प्राप्त भएको तिमिल्सिनाको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की