धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले हरेक शनिवार लगाउने महिला उद्यमी मेला पुनः सुरू भएको छ । गत वर्षबाट सुरू भएको र गर्मी र बर्सादका कारण रोकिएको मेला फेरि सुरु भएको हो ।
धनगढी-१ जेन्जी मार्गमा हरेक शनिवारको दिन दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म शनिवारिय महिला उद्यमी मेला लाग्नेछ । मेलाको प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले उद्घाटन गरेका हुन् ।
उद्घाटन पश्चात् बोल्दै मन्त्री थापाले महिला उद्यमी मेलाले महिलाहरूलाई आर्थिक कारोबारमा जोड्ने बताए । उनले उपमहानगरपालिकाको मेला लगाउने कदमको प्रशंसा गर्दै मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
धनगढीका महिलाहरूलाई अर्गानिक कृषि उत्पादन गर्न आवश्यक सहयोग गर्न कृषि मन्त्रालय तयार रहेको मन्त्री थापाले बताए । तरकारी उत्पादनबाट आयआर्जन गर्न सक्ने सम्भावना रहेकाले सोका लागि प्रदेश सरकार स्थानीय तहसँग मिलेर काम गर्न तयार रहेको मन्त्री थापाले बताए ।
मेलामा सहभागी उद्यमी महिला खुशी
मौसमका कारण रोकिएको मेला पुनः सञ्चालन हुँदा मेलामा स्टल राखेका महिला उद्यमी खुशी भएका छन् । उनीहरूले शनिवारिय मेलामा विभिन्न परिकार बिक्री गरेर आयआर्जन गर्न सकिने भन्दै खुशी व्यक्त गरेका हुन् ।
मेलामा १० किसिमको अचार राखेकी पुनाकुमारी तामाङ चन्द, धनगढी-१३ बाट आएकी हुन् । उनले उपमहानगरपालिकाले मेला लगाउनु राम्रो भएको र यसले हप्तामा एक दिन भएपनि बजारमा अचार बिक्री गर्न सहज हुने बताइन् । मेलाले बजारीकरणमा समेत आफूहरूलाई सहयोग गर्ने पुनाकुमारीको विश्वास छ ।
यस्तै, धनगढी -२ सन्तोषीटोलबाट आएको बताउने सुनिता रावतले अर्गानिक चटपटेको स्टल राखेकी थिइन् । उनले मेलामा स्टल राख्न पाउँदा निकै खुशी भएको बताइन् । उपमहानगरले महिला उद्यमीहरूका लागि मेला लगाउनु र व्यवसाय गर्न हौसला बढाउनु सबैका लागि सकारात्मक कदम भएको सुनिताको भनाइ छ ।
धनगढी उपमहानगरपालिकाले महिलाहरूलाई नि:शुल्क स्टल उपलब्ध गराउने गरेको छ । हातमा सिप भएका महिलाहरू आयआर्जन गर्न प्रेरित होउन् भनेर मेला आयोजना गरिएको उपमहानगरले जनाएको छ । ६६ वटा स्टलमा उद्यमी महिलाहरूले स्थानीय खानाका परिकार बिक्री गरेको रोजगार संयोजक चन्द्र महराले बताए ।






