धनगढी । सुदूरपश्चिमका ९ पालिकामा निःशुल्क शववाहन सेवा सञ्चालन भएको छ । यहाँ नौवटा जिल्लामा गरी ८८ पालिका रहेका छन् । त्यसमध्ये तराईका कैलाली र कञ्चनपुरका नौ पालिकाले निःशुल्क शववाहन सेवा सञ्चालन गरेका हुन् ।
कैलालीका पाँच तथा कञ्चनपुरका चार पालिकाले निःशुल्क शववाहन दिँदै आएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका तथा बर्दगोरिया गाउँपालिकाले निःशुल्क शववाहन सेवा दिएका छन् । यी पाँचै पालिकाले मृतकको अन्तिम संस्कार गर्न सहज होस् भनेर निःशुल्क शववाहन सेवा सञ्चालन गरेको जनाएका छन् ।
धनगढी उपमहानगरपालिकाले १९ वटै वडामा निःशुल्क सेवा दिँदै आएको छ । आर्थिक कारण तथा घाटमा मृत शरीर लैजान सवारीसाधन नपाउने समस्या कसैले पनि भोग्नु नपरोस् भनेर निःशुल्क शववाहन सेवा सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
यस्तै, कैलालीको गोदावरी नगरपालिकाले २ वर्ष अघिबाट निःशुल्क शववाहन सेवा सुरु गरेको हो । नगर प्रवक्ता गोपालदत्त भट्टले नगरवासीलाई आफन्तको अन्तिम संस्कार गर्न सहज होस् भनेर निःशुल्क शववाहन सेवा सुरु गरिएको जनाए ।
कैलालीको टीकापुर र लम्कीचुहा नगरपालिकाले तथा बर्दगोरिया गाउँपालिकाले पनि स्थानीयलाई आफन्तको अन्तिम संस्कार गर्न सहज होस् भनेर शववाहन सेवा दिन थालेको बताएका छन् । यी स्थानीय तहले विभिन्न मितिबाट सेवा सञ्चालन गरेका हुन् ।
कञ्चनपुरमा भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र पुनर्वास नगरपालिकाले निःशुल्क शववाहन सेवा सुरु गरेका छन् । बेदकोट नगरपालिकामा अघिल्लो कार्यकालबाटै शववाहन सञ्चालनमा रहेको नगरप्रमुख भोजराज बोहराले बताए । उनले नगरपालिकाको निःशुल्क शववाहन सेवाबाट स्थानीयलाई आफन्तको अन्तिम संस्कार गर्न सहज भएको बताए ।
कृष्णपुर नगरपालिकाले गत साउनदेखि निःशुल्क शववाहन सेवा सञ्चालन गरेको नगरप्रमुख हेमराज ओझाले बताए । उनले स्थानीयले अन्तिम संस्कार गर्न सवारीसाधन नपाउने समस्या समाधान गर्न निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको बताए ।
यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिकाले भने २०७९ सालबाट महाप्रस्थानयान सेवा सञ्चालनमा ल्याएको नगरप्रमुख तोयनाथ शर्माले बताए । महाप्रस्थानयानको सञ्चालन हुँदा अन्तिम संस्कार गर्न गाडी खोज्नुपर्ने झन्झट हटेको उनले बताए ।
यस्तै, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा शववाहन खरिद गर्न बजेट विनियोजन गरेको छ । चालू आवमै निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याइने नगरप्रमुख रणबहादुर महराले बताए ।
सम्बन्धित समाचार
बालिका करणी अभियोगमा तामाङ पक्राउ
कार्तिक शुक्ल प्रतिपदाः गोरु, गोवर्द्धन र हलि पूजा
आज मनाइँदैछ तिहारको मुख्य दिन भाइटीका
पोखरामा विदेशीले पनि लगाए भाइटीका
मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु
विद्यालय सुधार तथा कला, संस्कृति र परम्परा जोगाउन ३० वर्षपछि मेला
मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने पक्षमा सुदूरपश्चिम सरकार
हरिबोधनी एकादशीः रेसुङ्गा पोखरीमा दर्शनार्थीको घुँइचो


								
											
											
								
								



