काठमाडौं । गत तिहारमा रिलिज भएका नेपाली चलचित्रको बक्स अफिस रिपोर्ट चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको छ । बोर्ड पछिल्लो समय हरेक सोमबार रिपोर्ट सार्वजनिक गर्दै आएको छ । सो रिपोर्ट अनुसार तिहारमा रिलिज चलचित्र मध्य पहिलेसम्म चलचित्र ‘जेरी अन टप’ व्यावसायिक रूपमा सबैभन्दा माथि छ ।
साप्ताहिक बक्स अफिस रिपोर्ट
बोर्डको विवरणमा ‘जेरी अन टप’ले बक्स अफिसमा १० करोड ५१ लख ४८ हजार ८ सय ३ रुपैयाँ २० पैसाको कारोबार गरेको छ । यो चलचित्र गत ३१ असोजमा रिलिज भएको थियो । सो दिनबाट १५ कात्तिक शनिवार रातीसम्मको बक्स अफिस जडान भएका चलचित्र घरको व्यापारिक विवरण यो भएको बोर्डले जनाएको छ । मुलुकका पाँच वटा चलचित्र घर अझै बक्स अफिसमा जोडिन बाँकी भएकाले ती पाँच चलचित्र घरको डीसीआर रिपोर्ट जोड्दा ‘जेरी अन टप’को कमाई केही माथि देखिएको छ ।
सुयोग गुरुङको निर्देशनमा सरोज न्यौपानेले निर्माण गरेको यो चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, भुवन केसी, केदार प्रसाद घिमिरे, उषा खड्गी लगायतका कलाकारहरूले अभिनय गरेका छन् । यो चलचित्र शुक्रवारबाट तेस्रो सातामा प्रदर्शन भइरहेको छ । यसले तेस्रो साता पनि शुक्रवार र शनिवार चलचित्र घरमा हाउस फूल व्यापार गरेको थियो भने आइतबार र सोमबार पनि व्यापार राम्रै छ । अनमोल केसीको १० करोड माथिको व्यापार गर्ने यो नै पहिलो चलचित्र भएको छ ।
यस्तै, कात्तिकको ६ गते भाइटिकाको दिन दुईवटा नेपाली चलचित्र रिलिज भएका थिए । जस मध्य प्रकाश सपुत र परीक्षा लिम्बु अभिनित चलचित्र ‘सोल्टिनी’ व्यावसायिक रूपमा पूर्ण असफल भएको देखिन्छ । यो चलचित्रले रिलिज भएको १० दिनमा शनिवारसम्म जम्मा २८ लाख ८० हजार १ सय ५६ रुपैयाँको मात्र व्यापार गरेको छ । करिब दुई करोडको यो चलचित्र पूर्ण असफल भएको यो रिपोर्टले देखाउँछ । प्रकाश सपुतको सबैभन्दा असफल चलचित्र नै ‘सोल्टिनी’ साबित भएको छ ।
कात्तिकको ६ गते भाइटिकाको दिन रिलिज भएको विजय बराल, दयाहाङ राईको चलचित्र ‘वरिष्ठ बलराम’ले भने १० दिनमा चलचित्र घरमा करिब साँढे दुई करोड रुपैयाँको व्यापार गरेको छ । यो चलचित्रले शनिवार रातीसम्म २ करोड ४८ लाख ३० हजार ४८८ रुपैयाँको व्यापार गरेको हो । अझै पनि विभिन्न चलचित्र घरमा प्रदर्शन भइरहेको यो चलचित्रले अर्को सातासम्म ३ करोड भन्दा माथिको व्यापार गर्ने अनुमान निर्माण पक्षको छ ।
यसै गरी ७ कात्तिकबाट रिलिज भएको विल्सन बिक्रम राई निर्देशित चलचित्र ‘मैझारो’ले ९ दिनमा १ करोड ९५ हजार ३ सय ९ रुपैयाँ ३८ पैसाको व्यापार बक्स अफिसमा गरेको छ । यो मध्यम व्यापार हो । योे चलचित्रमा धिरज मगर, मिरुना मगर, दिया पुन लगायतका कलाकारहरूको अभिनय छ । यसरी यस पटक तिहारमा रिलिजमा आएका नेपाली चलचित्रहरूले हालसम्म बक्स अफिसमा करिब साँढे १४ करोड हाराहारीको व्यापार गरेको देखिन्छ ।






