आठपहरियाको वडाङ्मेटमा धुमधामका साथ मार्गा पूजा

धनकुटा । धनकुटा नगरपालिकामा मात्रै मुख्य बसोबास रहेको आठपहरिया समूदायले सबैभन्दा ठूलो चाड मंसिरे अर्थात वडाङ्मेट उल्लासपूर्वक मनाइ रहेका छन्। आपसी सद्भाव, एकता, उत्साह, उमंगको साथ चाड मनाइरहेका उनीहरुले मंगलबार मार्गा पुजा गरेका छन्। धनकुटा नगरपालिका क्षेत्रका विभिन्न ठाउँमा रहेका २२ वटा मार्गा थान मन्दिरमा भेला भएर आठपहरियाहरुले विधीपुर्वक पुजा गरेका हुन्। पुजाका लागि २२ वटै मार्गाथानलाई सोमबार सरसफाई गरिएको थियो। मार्गा पुजामा हरेक घरबाट ल्याइएको सुँगुर र कुखुरा बलि दिने चलन रहेको छ।

गत बिहीबार ठूलो घर अर्थात ५२ चुले घरमा माङ्लाङ् उठाएपछि चाड सुरु भएको थियो। चाड अन्तरगत बुधबार घरघरमा पितृ पुजा हुने बताइएको छ। विषेश गरि दुःखबाट उक्सिने, घरको जेठो छोरो जन्मिएकोमा तथा नयाँ घर निर्माण गरेकोमा हर्षोल्लास मनाउने चाडको रुपमा वडाङ्मेटलाई लिन गरिन्छ।

दुखबाट उक्सिन वर्षभरि आमा वा बाबु गुमाउनेले धनकुटाबाट आइतबार हिँडेर सोमबार सुनसरीको बराह क्षेत्र पुगी कोकाहा खोलामा कपाल र दाह्री खौरिएर सो सहित दसी बगाएका छन्। पैदलै यात्रा गरेर उनीहरु बुधबार धनकुटा आइपुग्ने यात्रामा रहेका पुजारी उमेश आठपहरियाले जानकारी दिए।

बुधबार घर आएपछि दुःखको कर्म फुकाउने काम तथा जेठो सन्तान जन्मिएकोमा तथा नयाँ घर बनाएको खुसियालीमा हर्कबढाईसँगै घरघरमा भोज खुवाउने र नाचगान क्रम सुरु हुन्छ। यो क्रम १५ दिनसम्म जारी रहन्छ। चाडका अवसरमा आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात् पुस्ताको डल्ले नाच नाच्ने चलन छ।

आठपहरिया जातिले बैशाख विशु, भदौमा न्वागी र कात्तिक वा मंसिरमा वडाङ्मेट धुमधामका साथ मनाउने गर्दछन्।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण