पोखरा । पोखरेली माटोमा हुर्किएका नेपथ्य बाण्डका अमृत गुरुङको स्वर शुक्रबार राति पोखरा रंगशालामा हजारौं दर्शकमाझ गुञ्जिएको छ । जेनजी आन्दोलनले तहसनहस बनेका ऐतिहासिक भौतिक संरचना तथा मुलकको अकर्मण्य राजनीति परिस्थितिबीच गायक गुरुङले सबै नेपालीलाई संगीतको झन्कारसँगै एकसूत्रमा बाँध्ने प्रयत्न गरे ।
पोखरा एभेञ्जर्स आयोजनामा संचालित ‘नेपथ्य लाइभ इन कन्सर्ट’मा गायक गुरुङ आफ्ना कालजयी तथा समसामयिक गीतसँगै लगातार दर्शकको मायामा पोखिए । गायकी क्रममा उनले बेलाबेलामा दर्शकलाई दिने सुझाव झनै मर्मस्पर्षी थिए ।
‘हामी जहिल्यै पनि अन्याय, अत्याचार र भ्रष्टाचारको विरुद्धमा एक भएर उठौं है । अब सबैलाई नियन्त्रणमा ल्याउन चुनाव आउँदैछ । चुनावमा सबैले नयाँ मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरेर कोकोलाई हराउनु पर्ने हो, कोकोलाई जिताउनुपर्ने हो, जिताउनु है,’ यति भन्दै उनले आन्दोलनमा शहीदलाई पनि सम्झे ।
‘गाउँ गाउँबाट उठ…’ गीतमा दर्शकको अघोरै साथले रंगशाला जुरुक्क उठेको भान हुन्थ्यो ।

उनले एकपछि अर्को गरी ‘रेशम..’ ‘रातो र चन्द्रसूर्य, जंगी निसान हाम्रो..’ ‘तालको पानी माछीले खानी..’ लगायत गीत गाइरहे । संगीतकै क्रममा देशविदेश यात्रा भरिसकेका ५८ वर्षे यी गायकले युवाहरुलाई आफ्ना विगतका कहानी सुनाउँदा जोस भर्थे ।
‘रातो र चन्द्रसूर्य, जंगी निसान हाम्रो..’ गाइरहँदा उनले भने, ‘सबको मन–मनमा यो रातो र चन्द्रसूर्य झण्डा फरफराइरहोस् है । खेलाडीहरुलाई मैले आह्वान गरेँ–यो झण्डा बोकेर इमान र मेहनतका साथ खेल जितेर आउनुहोस् है । यो झण्डा कहिल्यै पनि झुक्न नदिनू है ।’
साथै उनले आफ्नो कलायात्रासँगै उमेर पोखराको सेती र माछापुच्छे«सँग तुलना गरे । भने, ‘यो माछापुच्छे« हिमाल जस्ताको तस्तै, सेती बगेको बग्यै छ, आफू भने बुढो भइयो । के गरौं उमेरले कसैलाई पनि छेक्दैन है । त्यसैले जे गर्न मन छ, उमेरमै, बैँशमै गर्नाेस्, पछि पश्चात्ताप नहोस् है ।’
कन्सर्टमा करिब ८ हजारसम्म दर्शक आउने आयोजकले अनुमान गरेकोमा करिब ११ हजार दर्शक ओइरिएका थिए । कास्की जिल्ला फुटबल संघ अध्यक्ष मिलन गुरुङले सबैको साथ सहयोगले कार्यक्रम भव्य बनेको प्रतिक्रिया दिए ।

आगामी १ मंसिरदेखि सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सुरु हुँदैछ । एनपिएलको फ्रेन्चाइज क्लब पोखरा एभञ्जर्सले खेलकुदलाई संगीतसँग जोड्ने उद्देश्यका साथ होम ग्राउण्डमा पोखरेलीले औधी रुचाएका गायकलाई उभ्याएको हो ।
पोखरा एभेञ्जर्स अध्यक्ष सुवोध त्रिपाठी आफूहरुले सोेचेभन्दा बढी दर्शकको माया र साथ पाएको भन्दै खुसी व्यक्त गरे । भविष्यमा आफूहरुले कार्यक्रम अझ व्यवस्थित र धेरै दर्शक अट्ने गरी गर्न प्रेरणा मिलेको बताए ।
पोखरामा विशेषगरी भलिबल, क्रिकेट, फुटबलको क्रेज बढ्दो छ । त्यसैले यहाँ राष्ट्रियस्तरका विभिन्न प्रतियोगिता बरोबर हुँदै आएका छन् । सागको बेलामा ठूलो रकम खर्चेर पोखरा रंगशालामा व्यवस्थित प्यारापिटसहित स्टेडियम निर्माण गरिएको थियो । कतिपयले रंगशालामा कन्सर्ट गरिनुहुन्न भनी टिप्पणी गरिरहँदा खेलकुदको कार्यक्रम भएरै रंगशालामा आयोजना गर्नु उपयुक्त भएको आयोजकको दाबी छ ।






