काठमाडौं । जापानमा एकीकृत नेपाली घर तथा बहुसांस्कृतिक केन्द्र निर्माण गर्ने उद्देश्यले आर्थिक स्रोत जुटाउन श्रीमद्भागवत ज्ञान महायज्ञ टोकियो सप्ताह–२०२५ शनिबारदेखि सुरु भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको आयोजना र जापानस्थित विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा सुरु भएको यो महायज्ञ १५ नोभेम्बरसम्म सञ्चालन हुनेछ ।
वैदिक विधिपूर्वक शुभारम्भ गरिएको महायज्ञको पहिलो दिन जापानवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो । वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेल र महान् बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले वैदिक विधिपूर्वक महायज्ञको उद्घाटन गरेका थिए । कार्यक्रममा सनातन र बौद्ध दुवै धर्मअनुसार तोकिएका पूजाहरू सम्पन्न गरी मण्डपमा कलश परिक्रमा गरिएको थियो ।
महायज्ञको औपचारिक उद्घाटनपछि कार्यक्रममा सहभागी वक्ताहरूले प्रवासमा नेपाली कला–संस्कृति, सनातन धर्म र बुद्ध धर्मको संरक्षण तथा आगामी पुस्तामा हस्तान्तरण गर्ने ‘कोसेढुंगा’का रूपमा व्याख्या गरेका थिए । तत्पश्चात् श्रद्धालु भक्तजनहरू भजनकीर्तनमा रमाएका थिए ।
कार्यक्रममा जापानका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत हरिहर पौडेललगायत एनआरएनएका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
बढ्दो नेपाली समुदाय, परिवारसहित बसोबास, बालबच्चा यतै जन्मिने हुर्किने हुँदा उनीहरूलाई नेपाली कला संस्कृति’bout जानकारी गराउन, नेपाली पहिचान र नेपाली संस्कृतिलाई जगेर्ना गर्न नेपाली घर निर्माणको पवित्र उद्देश्यसहित कार्यक्रम गरिएको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष टीकाराम खरेलले बताए । उनले महायज्ञलाई सफल बनाउन सबैबाट सक्दो सहयोगको आग्रहसमेत गरे ।
कार्यक्रममा धार्मिक गुरुहरूले विदेशमा यस्ता कार्यक्रम हुनाले मानव सेवा, सकारात्मक कर्म र सामुदायिक एकताको सन्देश प्रवाह हुने बताएका थिए । उद्घाटन कार्यक्रममा बोल्दै एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले जापानवासी सबै नेपालीको सहयोगले नेपाल हाउस निर्माण भएरै छाड्ने विश्वास व्यक्त गरे । उनले सबैलाई सहभागिताका लागि अनुरोध गर्दै यथाशक्य आर्थिक सहयोगका लागि पनि अपिल गरेका थिए ।
कार्यक्रममा सहभागी भक्तजन स्मृति रिजालले जापानको व्यस्त जीवनमा यस्तो महान् धार्मिक अनुष्ठानले घरदेशको झल्को मेटाएको र धार्मिक कार्यमा सरिक हुँदा मनमा शान्ति र आनन्द मिलेको बताइन् । कार्यक्रम अवधिभर वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेलको विशेष आध्यात्मिक प्रवचन तथा सत्संग भजन गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित समाचार
साउदीमा रोजगारदाताले घरेलु कामदार भर्ती गर्दा कुनै पनि शुल्क लिन नपाउने
साउदीमा अकामा नभएका र हुरुब लागेका ९६ नेपालीलाई एक्जिट भिसा
कर्मचारी सरुवामै रमाउँदै चुनावी सरकार
एम्बुलेन्स नहुँदा बिरामी अझै स्टेचरमा
शिक्षा सुधारतर्फ धनगढी उपमहानगरको ठोस कदम
अख्तियार पोखरामा १२ सय उजुरी दर्ता
समाजसेवी राईद्वारा विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण
दोहामा अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँचवारे विश्वस्तरीय छलफल






