उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका दुई वर्षदेखि सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ गाउँपालिका–४ बलम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्ष अघि सम्म गाउँमा ८ सय देखि एक हजार २ सय बोट भन्दा बढी सुन्तला थिएनन् । पाँच वर्ष यता प्रत्येक घरका कृषकले २ सय देखि ४ सय सम्म सुन्तलाका बिरुवा विस्तार गरेका उनले बताए । आफूले करिब ४ सय ५० बिरुवा हुर्काइ सकेको जनाउँदै उनले बोटले फल दिन थालेका बताए ।
लिम्चुङ्बुङ गाउँपालिकाका उपाध्यक्ष पुष्पलाल राईका अनुसार पाँच वर्षदेखि पालिकालाई सुन्तला जोन बनाउने अभियान सुरु भएको छ । हालसम्म करिब ५० हजार भन्दा बढी सुन्तलाका बिरुवा विस्तार गरिएको उनले जानकारी दिए । लिम्चुङ्बुङ गाउँपालिका–२ ताम्लिछाका कृषक लखनसेर राईले भने, ‘पहिला आफ्नो बगानमा २० बोट सुन्तला थियो । अहिले दुई सय २५ पुगि सकेको छ । कृषक खेमबहादुर कार्कीले दुई वर्षदेखि वार्षिक एक लाख ५० हजार बराबरको सुन्तला बिक्री गर्न थालेको जानकारी दिए ।

लिम्चुङ्बुङ गाउँपालिका–५ जाँते हिम्मा, खोस्टुङ क्षेत्रमा पनि दशौँ हजार सुन्तलाका बिरुवा हुर्किएका छन् । अहिले यो क्षेत्र सुन्तलामय बनेको वडाध्यक्ष केशर राईले बताए । पालिकाका उपाध्यक्ष राईका अनुसार पछिल्लो समय सुन्तताखेती विस्तार भएसँगै यस क्षेत्रबाट वार्षिक २० लाखसम्मको सुन्तला बिक्री हुन थालेको छ । अहिले पनि सुन्तलाका बिरुवा हुर्कि रहेकाले आगामी चार वर्षभित्र पालिकामा १० करोड भन्दा बढीको सुन्तला बिक्री हुने विश्वास छ’, उनले भने । अहिले पालिकाका सबै वडामा ‘एक घर सय बोट सुन्तला’ अभियान सञ्चालन गरेर खेती विस्तार गर्न थालिएको पालिकाका जनप्रतिनिधिले बताएका छन् ।
अहिले पनि सुन्तलाका बिरुवा हुर्कि रहेकाले आगामी चार वर्षभित्र पालिकामा १० करोड भन्दा बढीको सुन्तला बिक्री हुने विश्वास छ उपाध्यक्ष पुष्पलाल राईको भनाई छ । यस अघि सबै भन्दा बढी सुन्तला उत्पादन क्षेत्रका रूपमा ताप्ली गाउँपालिका रहेको थियो । अहिले ताप्लीमा भन्दा लिम्चुङ्बुङ गाउँपालिकामा सबै भन्दा बढी सुन्तला उत्पादन हुने गरेको गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले जानकारी दिए ।
पालिकामा सबै भन्दा बढी सम्भावना बोकेको सुन्तला, अकबरे खुर्सानी, कागती लगायत कृषिउपज रहेका बताउँदै उनले उत्पादन र खेती गरिएको क्षेत्रका आधारमा जोन विस्तार गर्दै जाने योजना रहेको उल्लेख गरे । पछिल्लो समय यहाँ पटक पटक गरेर ५० हजार सुन्तलाका बिरुवा विस्तार गरिएको छ । ती बोटले फल दिन थालेपछि आम्दानी बढ्नुका साथै सुन्तलामा आत्मनिर्भर बन्न सक्ने अध्यक्ष राईको भनाइ छ ।
कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख योगेन्द्र यादवका अनुसार पहाडी क्षेत्रका पालिकाहरूमा तीव्र रूपमा सुन्तला खेती विस्तार भइ रहेको बताए । सबै भन्दा बढी लिम्चुङ्बुङ गाउँपालिकामा सुन्तलाखेती विस्तार भएको उनको भनाइ छ । चार वर्षपछि पालिकामा वार्षिक १० करोड भन्दा बढीको सुन्तला उत्पादन हुने पालिका अध्यक्ष राईले विश्वास व्यक्त गरे । सुन्तला, कागती र अकबरे खुर्सानी किसानलाई प्रोत्साहन गर्दै प्रमुख आर्थिक श्रोतका रूपमा विस्तार गर्ने पालिकाको योजना रहेको उनको भनाइ छ ।







