काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता धमाधम भइरहेको छ । आगामी ११ माघमा राष्ट्रिय सभा र २१ फागुनमा प्रतिनिधिसभाको रिक्त पदको निर्वाचन हुँदै छ ।
प्रतिनिधिसभा निर्वाचन
आइतबार निर्वाचन आयोगमा पुगेर नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गराएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पनि निर्वाचनमा सहभागी हुने भन्दै दल दर्ताको आन्तरिक तयारीमा छ । राष्ट्रिय सभाको रिक्त पदका लागि हुने निर्वाचनमा सहभागिता हुन एमालेले दल दर्ता गराइसकेको छ भने प्रतिनिधिसभाका लागि दल दर्ता गराएको छैन ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै निर्वाचनमा सहभागिताका लागि दल दर्ता गराएका हुन् । पार्टीको निर्णयअनुसार दल दर्ता गराएको मुख्यसचिव पौडेलले जनाएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबारको बैठकले निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो । ‘संवत् २०८२ साल माघ ११ (एघार) गते आइतबारको दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र संवत् २०८२ साल फागुन २१ (एक्काइस) गते बिहीबारको दिन हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘नेपाली कांग्रेस’लाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गर्छ, सो प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने लगायतका कानुनबमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ,’ कांग्रेसले गरेको निर्णयमा उल्लेख गरिएको छ ।
११ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि ७ मंसिर (आइतबार)सम्म र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १० मंसिरसम्म दल दर्ता गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार कार्यालय समयसम्ममा प्रतिनिधिसभाका लागि ५६ दल र राष्ट्रिय सभाका लागि १३ वटा दल दर्ता भइसकेको छ ।
एमाले तयारीमा
कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सहितका दलहरूले निर्वाचनमा सहभागी हुने भन्दै दल दर्ता गराइसकेका छन् । एमालेले पनि दल दर्ताका लागि आवश्यक तयारीमा जुटेको छ ।
एमाले निर्वाचन विभाग प्रमुख नीरज आचार्यले राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुनका लागि दर्ता गराइसकेको बताउँदै अब प्रतिनिधिसभा निर्वाचनमा सहभागिताका लागि पनि दल दर्ता गराउने बताए ।
‘एमाले निर्वाचनबाट भाग्दैन, लोकतान्त्रिक प्रक्रिया, शान्तिपूर्ण, भयरहित वातावरण, निष्पक्ष रूपमा हुने निर्वाचनमा सहभागिता लागि दल दर्ता गराउँछौं, हामी त्यसको तयारीमै छौं,’ आचार्यले भने । एमालेले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्षसहित पुनस्र्थापनाका लागि समेत दबाब दिँदै आएको छ । आन्दोलनसँगै कानुन उपचार खोज्दै एमाले प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा उभिँदै आएको छ ।
हालै बसेको एमाले संसदीय दल (विघटित प्रतिनिधिसभा)को बैठकले प्रतिनिधिसभा पुनस्र्थापनाको माग लिएर न्यायिक प्रक्रियामा जान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई जिम्मेवारीसमेत दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधिसभा पुनस्र्थापना हुने दाबी गर्दै आएका छन् ।
एमाले स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङले निर्वाचनबाट पार्टी नभाग्ने बताए । तर, त्यसका लागि शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरण बन्न आवश्यक भएको बताए । नेताहरूलाई स्थानहद तोक्ने, जनताका बीचमा जानलाई रोक्ने, दलहरूलाई शान्तिपूर्ण रूपमा सभा, सम्मेलन, बैठक गर्न नदिने भएपछि कसरी निर्वाचन हुन्छ भन्दै उनले प्रश्न उठाए ।
‘वर्तमान सरकारको नियत नै निर्वाचन नगराउने देखिन्छ, यस सरकारले निर्वाचन गराउनै सक्दैन, निर्वाचनका लागि आवश्यक वातावरण नै तयार भएको छैन, यस्तो अवस्थामा कसरी निर्वाचन सम्भव छ ? निर्वाचनको वातावरण बनाए आफूहरू जहिले पनि निर्वाचनमा जान तयार नै हो,’ तामाङले भने ।
प्रतिनिधिसभा विघटन र सरकारको संवैधानिक हैसियतमाथि एमालेले निरन्तर प्रश्न उठाउँदै आएको छ । सुशीला कार्की नेतृत्वको सरकार संविधानबाहिरबाट गठन भएको आरोप लगाउँदै आएको एमालेले आन्तरिक रूपमा चुनावी तयारी पनि तीव्र रूपमा अगाडि बढाएको छ ।
तर, निर्वाचन आयोगले निर्वाचनका लागि कार्यतालिकाअनुसार कार्य अगाडि बढाए पनि एमाले अध्यक्ष ओलीसहितका नेताहरूको अभिव्यक्ति भने निर्वाचनको पक्षमा छैन । एमालेले प्रतिनिधिसभा पुनस्र्थापनामै जोड गर्दै आएको छ ।
आठ मधेशवादी दलबीच चुनावी गठबन्धन
विभिन्न आठ मधेशवादी दल सहभागी संघीय लोकतान्त्रिक मोर्चाले अगामी निर्वाचनमा चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा चुनावी गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने निर्णय मोर्चाले गरेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को कार्यालय बबरमहलमा शनिबार बसेको मोर्चाको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षालगायतको वातावरण बनाउन सरकारसँग मागसमेत गरेको छ ।
‘हामी निर्वाचनमा सहभागी हुन्छौं तर सरकारले निर्वाचनमा सहभागी हुने वातावरण बनाउन आवश्यक छ,’ राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले भने, ‘मोर्चामा आबद्ध आठवटै दल गठबन्धन गरेर संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने निर्णय भएको छ ।’
मोर्चाको बैठकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, नेताद्वय सर्वेन्द्रनाथ शुक्ल र डा. सुरेन्द्र झा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र महासचिव रामकुमार शर्मा, जनमत पार्टीका नेता जयकान्त राउत, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो र नेता केशव झा, नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी, तमलोपा अध्यक्ष वृशेषचन्द्र लाल, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलगायतका नेताहरूको सहभागिता रहेको थियो ।
तीन दलको एउटै निर्वाचन चिह्न
यसैबीच, तीन मधेशवादी दलले एउटै निर्वाचन चिह्नमा निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन् । अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा)ले एउटै निर्वाचन चिह्नबाट निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन् ।
नाउपाको निर्वाचन चिह्न जाँतो (चकिया) अगामी निर्वाचनमा प्रयोग गर्नेमा तीन दलको सहमति भएको मुक्ति पार्टीका महासचिव केशव झाले जनाएका छन् ।
‘एकल निर्वाचन चिह्नका रूपमा हाल नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको जाँतो (चकिया) निर्वाचन चिह्न प्रयोग गर्न सहमत भयौं, साथै हामीसँग विचार मिल्ने अन्य पार्टीलाई पनि एकल निर्वाचन चिह्नमा आउन आह्वान गर्दछौं,’ तीनै पार्टीका शीर्ष नेतृत्वले संयुक्त रूपमा जारी गरेको सहमतिपत्रमा उल्लेख गरिएको छ ।
सम्बन्धित समाचार
नेपाली कम्युनिस्ट पार्टीः १२ दल मिल्दा प्रदेशमा तेस्रो शक्ति
ओली र देउवालाई जेनजी आन्दोलनमा मार्ने योजना बनाएका थिए: महेश बस्नेत
प्रतिनिधिसभा निर्वाचन तालिका सार्वजनिक
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिट दर्ता मंसिर ७ मा पेसी
प्रतिनिधिसभा पुनःस्थापना माग्दै एमाले अदालत जाने
यस्तो छ– अध्यक्ष ओलीले सर्वोच्च अदालतमा पेस गरेको लिखित जवाफ
दोहोरो तयारीमा एमाले, अनिर्णयको बन्दी कांग्रेस
लुते गृहमन्त्रीको राजीनामा मागिनु जायज : प्रभु साह






