कीर्तिपुर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गोर्खाजले दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको एक मात्र खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित ग¥यो ।
मध्यक्रमका ब्याटर चुक्दा लुम्बिनी २२ रनले पराजित
चार खेल खेलिसकेको काठमान्डु दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डुले लगातार २ खेलमा पराजय बेहोर्न पुग्यो । काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग लगातार पराजित भएको थियो ।
लगातार दुई खेलमा पराजय बेहोरेपछि दबाबमा रहेको काठमान्डुले मंगलबार लुम्बिनीलाई हराएपछि तालिकामा अगाडि बढ्ने अवसर बनायो । लुम्बिनीको भने यो लगातार दोस्रो हार हो । मध्यक्रमका ब्याटर चुक्दा लुम्बिनी जित्नसक्ने खेलमा पनि पराजित हुन पुग्यो । पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग निराश भएको थियो ।
काठमान्डुले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि शेर मल्लले १८ बलमा ३ छक्कासहित सर्वाधिक २७ रन बनाउँदा दिलीप नाथले ३३ बलमा २५ रन बनाए । मल्ल रनआउट भए भने दिलीप करण केसीको बलमा आउट हुन पुगे ।

कप्तान रोहित पौडेल र गुलबदिन नैबले समान ११–११ रन बनाए । सुमित महर्जन शून्य रनमा रनआउट भए । ओपनर सन्दीप जोराले ७ रन बनाउँदा मिलिन्द कुमारको बलमा रसिद खानबाट क्याचआउट भए । अर्का ओपनर डीआरसी सर्ट पनि खानकै बलमा आदील आलमबाट क्याच आउट हुन पुगे । सर्टले ११ बलमा ३ चौका र १ छक्कासहित २२ रन बनाए । रुबेन ट्रम्पलम्यानले ५ रन बनाउँदा अविशेष गौतमले ४ रन बनाए ।
बलिङमा काठमान्डुका मिलिन्द कुमार र जेरार्ड एरासमसले २–२ तथा कप्तान करण केसी, शाहब आलम, सन्तोष यादव र रासिद खानले समान १–१ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । काठमान्डुका लागि करण केसीले सर्वाधिक ३४ रन बनाए । नटआउट रहेका उनले १९औं ओभरको खेलमा एकै ओभर ४ छक्का र १ चौकासहित २८ रन बनाएका थिए । सायद उनको यो प्रदर्शन नभएको भए लुम्बिनीका लागि खेल केही सहज हुन सक्थ्यो ।
काठमान्डुका लागि ओपनर आकाश त्रिपाठीले ३२ तथा सन्तोष यादवले २६ रनको योगदान दिए । गेरार्ड र मिलिन्द कुमारले समान १७–१७ रन बनाउँदै आउट भए । रसिद खानले १४ रन बनाउँदा वेन चार्लेस वर्थ शून्य रनमै शेर मल्लको बलमा सिकार भए । जोन सिमसनले ७ रन बनाउँदा आदिम आलमले मात्र ४ रन बनाउन सके । बलिङतर्फ लुम्बिनीका रुवेन ट्रम्पलम्यान, शेर मल्ल, कप्तान रोहित पौडेल र गुलबदिन नैबले समान २–२ विकेट लिए ।
बुधबार एनपीएलमा कुनै खेल छैन । बिहीबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।
अंक तालिकामा सुदूरपश्चिम र विराटनगरको समान ६–६ अंक
लगातार तीन–तीनवटा खेल जित्दै अंक तालिकामा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले ६–६ अंक बटुलेका छन् । दुवै टिमले खेलका तीनवटै खेलमा शतप्रतिशत जित निकालेका छन् । रनरेटमा सुदूरपश्चिम अघि रहँदै तालिकाको शीर्ष स्थानमा बसेको छ । समान अंक भए पनि रनरेटमा पछि पर्दै विराटनगर दोस्रो स्थानमा छ । यस्तै, चार खेलबाट दुईमा जित र दुईमा हार बटुल्दै ४ अंकसहित काठमान्डु गोर्खाज तेस्रो स्थानमा छ ।
तीन–तीन खेल खेल्दै लुम्बिनी लायन्स र कर्णाली याक्सले एकमा जित र दुई खेलमा हार्दै २ अंक मात्र बटुलेका छन् । चितवन राइनोजले दुई खेलमा एकमा जित र एकमा हार बेहोर्दै २ अंक बनाएको छ । साविक विजेता जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सले दुई–दुई खेलमा कुनै पनि जित निकाल्न सकेका छैनन् ।
सन्दीप चम्कँदा विराटनगरको लगातार तेस्रो जित
कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार तेस्रो जित दर्ता गरेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा विराटनगरले साविक विजेता जनकपुर बोल्टलाई ९ रनले पाखा लगाउँदै अंक तालिकामा आफूलाई शीर्ष स्थानमा पु¥याएको छ । विराटनगरले लगातार तीन खेलमा जित बटुलीरहँदा जनकपुर भने लगातार दोस्रो खेलमा पनि पराजित भयो । यसअघि पहिलो खेलमा जनकपुर काठमान्डु गोर्खाजसँग पराजित भएको थियो ।
विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई पराजित गरेको थियो ।
विराटनगरको जितमा सन्दीप नायक साबित भए । उनी एक्लैले ४ ओभरमा ११ रन खर्चिएर ४ विकेट लिए । उनले आफ्नो ओभरमा विपक्षी खेलाडीलाई कुनै चौका र छक्का प्रहार गर्ने मौका दिएनन् ।
जनकपुरले १ सय ३६ रनको सामान्य लक्ष्य पछ्याए पनि ९ विकेटको क्षतिमा १ सय २६ रन मात्र बनाउन सक्यो ।
दीपेन्द्रको जादुमा सुदूरपश्चिमको तेस्रो जित
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सोमबार एकपटक फेरि कप्तान दीपेन्द्रसिंह ऐरीले बलिङमा जादु देखाउँदै गर्दा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो खेलमा जित निकालेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले कर्णाली याक्समाथि ४५ रनको जित निकाल्दै गर्दा दीपेन्द्रले बलिङसँगै ब्याटिङमा पनि रवाफ जमाए ।
जारी एनपीएलमा सुदूरपश्चिमसँगै विराटनगर किंग्सले लगातार तीन खेलमा जित निकालेको छ । कर्णाली भने तीन खेलमध्ये दुई खेलमा पराजित भइसकेको छ ।
सुदूरपश्चिमले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभर २ बलमा ९४ रनमै अलआउट भयो ।
सम्बन्धित समाचार
सिद्धार्थ बैंक एनपिएल : आज जनकपुर र काठमाडौं भिड्दै
कीर्तिमानी रनसहित विराटनगरको रोमाञ्चक जित
ठूला खेलमैदान आयोजनाको काम सुस्त
सुदूरपश्चिमको सानदार सुरुवात
नेपालगन्ज म्याराथन विजेतालाई २ लाख रुपैयाँ
लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खड्कालाई
राजगढमा दोश्रो संस्करणको अध्यक्ष कप सुरु






