सुदूरपश्चिममा ४६ हजारभन्दा बढी नयाँ मतदाता थपिए

धनगढी । सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० नयाँ मतदाता थपिएका छन् । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गतेका लागि घोषणा भएपछि असोज १० गतेदेखि मंसिर ५ गतेसम्म खुला गरिएको मतदाता नामावली दर्ता प्रक्रियामा राष्ट्रिय परिचयपत्रमार्फत २९ हजार ४३९ र निर्वाचन कार्यालयमै पुगेर १६ हजार ५८१ जनाले नाम दर्ता गराएका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै मतदाता कैलाली जिल्लामा थपिएका छन्। प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार कैलालीमा राष्ट्रिय परिचयपत्रमार्फत १२ हजार ११५ र कार्यालयमा उपस्थित भएर ६ हजार १ सय गरी जम्मा १८ हजार २१३ जनाले नाम दर्ता गराएका छन् । उनका अनुसार कैलालीपछि कञ्चनपुरमा सबैभन्दा धेरै मतदाता थपिएका छन्, जहाँ कार्यालयमा गएर ४ हजार १९९ र राष्ट्रिय परिचयपत्रमार्फत ८ हजार ९२ गरी १२ हजार २९१ जनाले नाम दर्ता गराएका छन् ।

अन्य जिल्लामा बैतडीमा २ हजार ६५२, दार्चुलामा २ हजार ६२८, अछाममा २ हजार ६०४, बझाङमा २ हजार ३४५, डडेल्धुरामा १ हजार ८९२, डोटीमा १ हजार ८७२ र बाजुरामा १ हजार ५१७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टका अनुसार असोज १० गतेअघि सुदूरपश्चिममा १६ लाख ७४ हजार मतदाता दर्ता भएका थिए । ४६ हजार २० नयाँ मतदाता थपिएसँगै प्रदेशभर मतदाताको संख्या १७ लाख २० हजार नाघेको छ । उनले २१ गतेदेखि मतदाता अद्यावधिक कार्य सुरु हुने र अद्यावधिकपछि मतदाताको संख्या केही घट्न सक्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

भोजपुरमा उद्योग दर्ता वर्षेनी घट्दो, खारेजी बढ्दो