‘विद्यार्थी भिसा’मा नेपाल छिरेर अवैध गतिविधि

व्यापारदेखि धर्म परिवर्तन र सुराकीसम्म
काठमाडौं । विद्यार्थी भिसामा नेपाल भित्रिएका विदेशीले धर्म प्रचारदेखि अवैध गतिविधि र शंकास्पद सूचना पहुँचमा सक्रिय भएको पाइएपछि अध्यागमन विभागले अनुगमन र कारबाही तीव्र बनाएको छ ।

शैक्षिक संस्था र कन्सल्टेन्सीहरूले व्यापारका लागि विदेशीलाई विद्यार्थी भिसा प्रयोजनका लागि भर्ना कागजात बनाइदिने गरेपछि नेपाल अनधिकृत र गैरकानुनी क्रियाकलापको हब बन्ने जोखिम बढेको भन्दै अध्यागमन विभागले अनुगमन र कारबाही बढाएको हो ।

पर्यटक भिसादेखि, बिजनेस भिसा र विद्यार्थी भिसामा आएका विदेशीहरू नेपालमा होटल तथा आवास व्यवसाय सञ्चालन गरेर गैरकानुनी गतिविधि गरिरहेको समेत विभागको अनुगमनमा भेटिएको हो ।

नेपाल आएका विदेशीले भिसाको उद्देश्यविपरीतका गतिविधिमा संलग्न भएको भेटिने गरेपछि विभागले सतर्कता बढाएर ७७ जिल्लामै अनुगमन तीव्र बनाउने भएको छ । पछिल्ला समयमा अध्ययन भिसामा नेपाल आएका विभिन्न देशका नागरिकले भिसा थप गर्ने बेलामा अध्ययन गरेको प्रमाणपत्र बुझाउन नसक्ने तथा शैक्षिक संस्थामा अध्ययनरत रहेको प्रमाण दिन नसकेपछि विद्यार्थी भिसामा विदेशीलाई कडाइ गर्ने संकेत अध्यागमन विभागले गरेको छ ।

पर्यटक भिसामा आएर नेपालका आईटी कम्पनी तथा चार्टर्ड एकाउन्टेन्ट कम्पनीमा काम गरिरहेको पाइएपछि अनधिकृत डाटा पहुँचको खतरासमेत बढेको पाइएको छ । कतिपय विदेशी नागरिकले पर्यटक तथा विद्यार्थी भिसामा आएर अनधिकृत गतिविधिमा संलग्न भएको भिसा थप गर्ने बेलामा भेटिने गरेको हो । विद्यार्थी भिसामा नेपाल आएका विदेशी नागरिकले भिसाको अवधि थप्न नक्कली कागजात पेस गर्ने तथा कतिपय विदेशी विद्यार्थी गैरकानुनी तथा बर्जित क्रियाकलापमा समेत संलग्न भएको पाइएपछि अध्यागमन विभागले भिसा जारी तथा थप भिसामा कडाइ गर्न थालेको विभागका प्रवक्ता टीकाराम ढकालले बताए ।

विभागको अनुगमनले कतिपय शैक्षिक संस्थाका नाममा अध्ययन प्रयोजनका लागि भिसा लिएका विद्यार्थीहरू सम्बन्धित शैक्षिक संस्थाको सम्पर्कमा नरहेको तथा कन्सल्टेन्सीहरूमार्फत प्रक्रिया गरेर आई पढाइबाहेकका क्रियाकलापमा संलग्न भएको पाइएको हो ।

नेपालका विश्वविद्यालय, क्याम्पस तथा जस्तासुकै शैक्षिक संस्थाले पनि औपचारिक वा अनौपचारिक शिक्षाका लागि विदेशी विद्यार्थीलाई अध्ययन अनुमति दिनसक्ने व्यवस्था भएकाले के कति शैक्षिक संस्थाका कागजात प्रयोग भएर विद्यार्थी भिसा जारी भएको भन्ने अभिलेख अद्यावधिक नभएको विभागका प्रवक्ता ढकाल बताउँछन् ।

यथार्थ तथ्यांक नभए पनि हजारभन्दा बढी विदेशी नागरिक विद्यार्थी भिसामा नेपालमा छन् । तर, उनीहरू शैक्षिक संस्थामा विद्यार्थीकै रूपमा अध्ययन गरिरहेको संख्या भने यस्तो नभएको विभागको अनुमान छ । विभागले विदेशीलाई दिइएको भिसाको ट्र्याकिङ सिस्टम बनाइरहेको बताउँदै विभागका प्रवक्ता ढकालले देशैभर विदेशी विद्यार्थीको अवस्थाको अनुगमन भइरहेको बताएका छन् ।

शैक्षिक संस्था पनि अनुगमनको दायरामा
विदेशी विद्यार्थीलाई पढाउने नाममा भर्ना गरेर विदेशी नागरिकलाई भित्र्याउने प्रक्रिया सुरु गर्ने शैक्षिक संस्था तथा प्रक्रिया गर्ने कन्सल्टेन्सीहरूमा समेत अनुगमन गरिने प्रवक्ता ढकालले बताएका छन् । विदेशी नागरिकका गतिविधि के कस्ता भइरहेका छन् भनेर जिल्लाजिल्लामा अनुगमन गर्न ७७ जिल्लाका जिल्ला अनुगमन समितिलाई समेत अनुरोध गरिएको प्रवक्ता ढकालले बताए ।

आम्दानीका लागि मात्र विदेशी भर्ना
शैक्षिक संस्थाहरूले आम्दानीका लागि मात्रै विदेशी भर्ना गर्ने गरेका विभागको आशंका छ । अध्यागमन विभागले शैक्षिक संस्थाहरूलाई आम्दानीका लागि मात्र भर्ना नगर्न आग्रह गरेको छ । आफ्ना शैक्षिक संस्थामा अध्ययन नगरेकाहरूका लागि भिसा प्रयोजनमा कागजात बनाइदिने, नियमित अध्ययन नगरेकाहरूलाई अध्ययन गरेको कागजात बनाउने लगायतका क्रियाकलाप नगर्न विभागले सतर्क गराएको हो ।

भिसा दुरुपयोगमा चिनियाँ र अमेरिकन बढी
विभिन्न प्रयोजनको भिसा लिएर प्रयोजनविपरीतका गतिविधिमा संलग्न भएकामा चिनियाँ तथा अमेरिकन नागरिक पाइएको विभागले जनाएको छ । चार जना चिनियाँ नागरिक अवैध गतिविधिमा संलग्न भएकाले उनीहरूलाई बुधबार मात्रै डिपोर्ट गरिएको प्रवक्ता ढकालले बताए ।

नेपाल भ्रमणमा आएका कतिपय पर्यटकको चाहना निषेधित क्षेत्रको भ्रमण गर्ने हुन्छ । महँगो शुल्क लिएर कतिपय ट्राभल एजेन्सीहरूका प्रतिनिधिले विदेशीलाई प्रतिबन्धित क्षेत्रको भ्रमण गराउने गरेको खुलेको छ । अध्यागमन नियमावलीका अनुसार नेपालका १५ जिल्लाका सीमावर्ती क्षेत्रहरूलाई विदेशी पर्यटक घुम्न प्रतिबन्धित क्षेत्र घोषणा गरेको छ ।

निषेधित क्षेत्रमा घुम्न विदेशी पर्यटकले अध्यागमन विभागबाट अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिएको छ । कतिपय विदेशी पर्यटक एजेन्सीसँगको मिलेमतोमा अनुमति अवधिभन्दा बढी समय बस्ने र अनुमति क्षेत्रभन्दा फरक र बढी क्षेत्रमा समेत पुग्ने गरेका पाइएको छ ।

ताप्लेजुङको कञ्चनजंघा क्षेत्रका लागि अनुमति लिएका पर्यटक अनुमतिभन्दा पहिले नै सो क्षेत्रमा पुगेकाले मल्टी एड्भेन्चर प्रालिलाई केही दिनअघि मात्रै विभागले ४० हजार रुपैयाँ जरिमाना गराएको थियो ।

सरकारले सिमाना तथा सुरक्षा संवेदनशीलता हिसाबले माथिल्लो मुस्ताङ (लोमान्थाङ), माथिल्लो डोल्पा, हुम्लाको सिमिकोट, नाम्खा र चुंखेली, गोरखाको मनासलु क्षेत्र, ताप्लेजुङको कञ्चनजंघा क्षेत्र, दोलखाको गौरीशंकर तथा लामाबगर क्षेत्र, किमाथांका, चुञ्चेत, छेकम्पारलगायतका क्षेत्रलाई निषेधित क्षेत्रका रूपमा राखेको छ । यी क्षेत्रमा प्रवेश गर्न आवश्यक कागजातसहित शुल्क तिरेर विभागबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।

तीन महिनामा ५ सय विदेशीलाई श्रम स्वीकृति
नेपालमा औपचारिक रूपमा श्रम स्वीकृति लिएर काम गर्न आउने विदेशीको संख्यासमेत पछिल्ला दिनमा बढेको छ । अध्यागमन विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै ५ सय विदेशी नागरिकले श्रम स्वीकृति लिएका छन् । नेपालमा बसेर विभिन्न संघसंस्था, कम्पनीमा काम गरिरहेकाको श्रम स्वीकृतिको नवीकरण र नयाँ जारी गर्दा ५ सय पुगेको हो । १ सय ६५ विदेशीले नयाँ श्रम स्वीकृति लिएका हुन् । नेपालमा निर्माण क्षेत्रमा विदेशी नागरिकले धेरै श्रम स्वीकृति लिएका छन् ।

ओभरस्टे र गैरकानुनीलाई निष्कासन
नेपालको कानुनअनुसार पर्यटक भिसामा आएका विदेशीले एकपटकमा १ सय ५० दिन बस्न सक्छन् भने त्यसभन्दा बढी समय बस्नेलाई गैरकानुनी पर्यटकका रूपमा सरकारले निष्कासन गर्ने गरेको छ ।

यसबाहेक बिजनेस भिसा तथा विद्यार्थी भिसामा नेपाल आएका विदेशीले स्वीकृति पाएका बाहेकका क्रियाकलापमा संलग्न भएको पाइएमा समेत निष्कासन गर्ने गरिएको विभागका प्रवक्ता ढकालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले नेता बस्नेता र जेन–जीबीच आरोप–प्रत्यारोप