–राष्ट्रिय परिचयपत्र भए अनलाइनबाटै नामावली
–पर्यवेक्षणका लागि २४ संस्था इच्छुक
–म्यादी प्रहरी भर्नाको तयारी
–प्रविधिमैत्री बनाइँदै तयारी
–निर्वाचन कार्यालयमा २ सिफ्टमा कर्मचारी
–आचारसंहिता अन्तिम चरणमा
–संघीय मामिलासँग मागियो कर्मचारी
काठमाडौं । सरकारले २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन तयारीलाई तीव्र बनाएको छ । प्रविधिमैत्री तयारी गरिरहेको निर्वाचन आयोगले मतदाता नामावलीसमेत अब प्रविधिमैत्री बनाउने भएको छ ।
बिहीबार (आज)बाट मतदाता नामावलीसमेत अनलाइनबाट घरमै बसेर गर्न सकिने व्यवस्थासहित प्रविधिमैत्री बनाइएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् ।
निर्वाचन आयोगले निर्वाचनको तयारीका ६० प्रतिशत काम सम्पन्न भएको जनाएको छ । आयोगले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफलका क्रममा ६० प्रतिशतभन्दा बढी काम सकिएको र प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको जानकारी गराएको छ ।
कार्यवाहकले गराउँदै निर्वाचन
२१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तकै नेतृत्वमा हुने भएको छ । संसद् नभएको अवस्थामा सरकारले प्रमुख निर्वाचन आयुक्त नियुक्ति गर्ने सम्भावना नभएकाले कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीकै नेतृत्वमा निर्वाचन हुने भएको हो । कार्यवाहक आयुक्त भण्डारीले सरकारले प्राप्त गरेको म्यान्डेट र जेनजी आन्दोलनको भावनाअनुसार सम्भव भएसम्म प्रविधिमैत्री, युवा भावनामैत्री र स्वच्छ एवं धाँधलीरहित निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले बुधबार निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका विषयमा छलफल गरेकी छन् । छलफल कार्यवाहक प्रमुख आयुक्त भण्डारीसहित आयुक्तहरू जानकी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको हो । छलफलमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन तयारीका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको बताएका छन् ।
म्यादी प्रहरी भर्नाको तयारी
आयोगले निर्वाचनका लागि चरणबद्ध सुरक्षा तयारी गरेको छ । प्रधानमन्त्रीको भेटमा बुधबार कार्यवाहक प्रमुख आयुक्त भण्डारीले एकीकृत सुरक्षा प्रणाली, पूर्वसुरक्षा सूचना तथा नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने विषयमा भएको तयारीका विषयमा जानकारी गराएका छन् ।
आयोगले निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी आवश्यक पर्ने भन्दै सुरक्षा निकायसँग भर्नाका लागि समन्वय थालेको छ । २०७९ सालमा निर्वाचन आउनु साढे दुई महिनाअघि नेपाल प्रहरीले म्यादी प्रहरी भर्ना प्रक्रिया थालेको थियो । यसपटक पनि निर्वाचन मितिलाई मध्यनजर गरेर म्यादी भर्नाका लागि प्रहरीसँग समन्वय भइरहेको भण्डारीले जानकारी गराए ।
नेपाली सेनाको संयोजकत्वमा एकीकृत सुरक्षा प्रणालीले निर्वाचनका सामग्री, मतदानस्थल, मतदान कर्मचारी, बुथ तथा मतपत्र एवं मतपेटिकाको सुरक्षा गर्ने भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने म्यादी प्रहरी छनोटको तयारी भइरहेको पनि आयोगले जनाएको छ ।
पर्यवेक्षणका लागि २४ संस्था इच्छुक
आनिर्वाचनलाई स्वच्छ धाँधलीरहित र तोकिएको मितिमा सम्पन्न गर्न÷गराउनका लागि निर्वाचन आयोगले गरिरहेका कामको आन्तरिक तथा बाह्य अनुमोदन र बैधताका लागि पर्यवेक्षणको तयारी भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले ११ कात्तिकमा सूचना आह्वान गरी पर्यवेक्षकहरू सूचीकृत गरेको छ । आयोगमा हालसम्म २२ वटा राष्ट्रिय र दुईवटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरू निर्वाचन पर्यवेक्षणका लागि नाम दर्ता गराउन आइसकेको प्रवक्ता भट्टराईले बताए ।
प्रविधिमैत्री बनाइँदै तयारी
सरकारले आसन्न निर्वाचनमा सबै खालका काममा प्रविधि प्रयोगलाई जोड दिएको छ । निर्वाचनका लागि मतदाता नामावली घोषणाकै लागि पनि प्रि–इनरोलमेन्ट फाराम अनलाइनबाट भर्ने व्यवस्था मिलाएर धेरै सजिलो भएको आयोगको बुझाइ छ । निर्वाचन घोषणा गरेलगत्तैबाट सुरु भएको नयाँ नामावली दर्ताको चाप बढेपछि आयोगले प्रविधि प्रयोगलाई अन्तरनिकाय समन्वय गरी राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोडेको छ ।
सूचना प्रविधि प्रणालीको सहयोगमा अन्तरजिल्ला मतदान व्यवस्थाको सम्भावनाका विषयमा प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगको टोलीसँग परामर्श गरेकी छन् । आयोगले सम्भव हुने उपायहरूको प्रयास गरिरहेको जानकारी प्रधानमन्त्रीसमक्ष गराएको आयोगले जनाएको छ ।
राष्ट्रिय परिचयपत्र भए अनलाइनबाटै नामावली
निर्वाचन आयोगले सूचना प्रविधिमैत्री प्रणाली तयार गरेपछि बिहीबार (आज)बाट अनलाइनबाट सिधै मतदाता नामावलीमा नाम जोड्न सकिने भएको छ । राष्ट्रिय परिचयपत्र भएकाहरूले आफ्नो बायोमेट्रिक प्रणाली मतदाता नामावली अभिलेखीकरण हुने निर्वाचन आयोगको सूचना प्रविधि प्रणालीमा जोडिने व्यवस्था गरिएको राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नवराज घिमिरेले बताएका छन् ।
राष्ट्रिय परिचयपत्र वितरणका लागि संकलन गरेको जैविक तथ्यांक निर्वाचन आयोगको प्रणालीसँग जोड्ने व्यवस्था भएसँगै मतदाता नामावलीका लागि निर्वाचन आयोगका कार्यालयमा लाइन लाग्नुपर्ने अवस्था अन्त्य भएको छ । बुधबार रातिसम्मको परीक्षण सफल भएसँगै बिहीबार कार्यालय समयबाट यो व्यवस्था लागू हुने महानिर्देशक घिमिरेले बताएका छन् ।
निर्वाचन कार्यालयमा दुई सिफ्टमा कर्मचारी
मतदाता नामावली संकलनका लागि तोकिएको मितिको अन्तिम समयमा आएर अपेक्षाभन्दा बढी चाप भएकाले आयोगले दुई सिफ्ट कर्मचारी परिचालन गरेको आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् ।
उपत्यकाका तीन जिल्लाका निर्वाचन कार्यालयमा निर्वाचन आयोगबाटै थप जनशक्ति पठाइएको र जिल्लास्थित कार्यालयमा प्रमुख जिल्ला अधिकारीमार्फत जनशक्ति व्यवस्थापन र परिचालनको जिम्मेवारी दिइएको आयोग प्रवक्ता भट्टराईले बताएका छन् । थप जनशक्ति व्यवस्थापनसँगै बिहान ७ देखि साँझ ७ बजेसम्म दुई सत्रमा काम गर्न थालिएको प्रवक्ता भट्टराईले बताए ।
हालसम्म १ करोड ८३ लाख ७७ हजार मतदाता आयोगको तथ्यांकमा अद्यावधिक भएको र पछिल्लो निर्वाचन घोषणापछि मात्र २ लाख ९ हजार ५ सय ५२ मतदाता थपिएको विवरण पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी गराएका छन् ।
आचारसंहिता अन्तिम चरणमा
निर्वाचन आयोगले उम्मेदवारको खर्च कटौती गर्नेसहितका व्यवस्था राख्दै निर्वाचन आचारसंहिता तयारी गर्ने काम अन्तिम चरणमा पु¥याएको छ । आयोगले सामाजिक सञ्जाल तथा सूचना प्रविधि प्रणाली, निर्वाचन प्रचारप्रसार तथा जनशक्ति परिचालनलगायतका विषयहरूमा दलहरूको राय सुझाव लिइरहेको आयोगका प्रवक्ता भट्टराईले बताएका छन् ।
आयोगले आचारसंहिताको मस्यौदा तयार पारेर राजनीतिक दलहरूसँग राय माग्ने, निर्वाचनसँग सरोकार राख्नेहरूसँग छलफल गर्ने र राय माग्ने काम अन्तिम चरण पुगेको समेत बताएको छ । आयोगले आचारसंहितालाई चरणबद्ध रूपमा लागू गर्ने तयारी गरिरहेको आयोगको भनाइ छ ।
संघीय मामिलासँग मागियो कर्मचारी
निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका लागि कर्मचारीको व्यवस्थापनको सम्भावित सूची तयार पारेको छ । अन्यत्रबाट सरुवा गरी ल्याउने कर्मचारीका लागि सम्बन्धित मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् ।






