एनी प्रथम गछिया गोल्डकपमा आयोजक विजयी

सुन्दरहरैंचा (मोरङ) । मोरङको सुन्दरहरैचामा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनी प्रथम गछिया गोल्डकप–२०८२ को दोस्रो खेलमा आयोजक गछिया युवा समाजले ७–० को फराकिलो जित हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। खेलमा लिनेण्ड फुटबल क्लब भारतले कुनै गोल गर्न सकेन । खेलमा प्रमुख अतिथि सुन्दरहरैचा वडा नम्बर २ का वडा अध्यक्ष विवश प्रधान उपस्थित रहेका थिए । खेलको पहिलो हाफमा, १२ औँ मिनेटमा जर्सी नम्बर ९ प्रदीप बुढाथोकीले अग्रता दिलाए ।

१९ औँ मिनेटमा जर्सी नम्बर ८ सन्तोष क्षेत्रीले टिमको दोस्रो गोल थपे । पहिलो हाफमा लिनेण्ड क्लबले गोल गर्ने प्रयास गरे पनि सफल भएन । दोस्रो हाफको सुरुवातमै, ५ औँ मिनेटमा प्रदीप बुढाथोकीले आफ्नो व्यक्तिगत दोस्रो तथा टिमको तेस्रो गोल गरे । २० औँ मिनेटमा जर्सी नम्बर १७ विजय उराँवले पहिलो गोल गरे । २२ औँ मिनेटमा प्रदीपले व्यक्तिगत तेस्रो तथा टिमको पाँचौं गोल गर्दै अग्रता बढाए । ३० औँ मिनेटमा उनले व्यक्तिगत चौथो र टिमको छैटौं गोल गरे । ३५ औँ मिनेटमा विजय उराँवले व्यक्तिगत दोस्रो तथा टिमको सातौं गोल गर्दै स्कोर ७–० बनाएका थिए ।

आजको ‘म्यान अफ द म्याच’ प्रदीप बुढाथोकी घोषित भएका छन् । उनलाई ५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । हिजो भएको पहिलो खेलमा सहलेश युवा क्लब सिराहा र बेलबारी फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो, जहाँ सहलेश युवा क्लबले जित्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । भोलि, गाईघाट युनाईटेड फुटबल क्लब (उदयपुर) र जलथल फुटबल क्लब (झापा) बीचको खेल दिउँसो ३ बजे सुरु हुने खेल संयोजक प्रलाद थोप्रा लिम्बुले जानकारी दिए।

प्रतियोगितामा विजेता टोलीलाई २ लाख १ हजार, उपविजेतालाई १ लाख १ हजार, ‘म्यान अफ द सिरिज’लाई २५ हजार, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। साथै, सुन्दरहरैचा नगरपालिकाका १२ वडाका २४ जना ज्येष्ठ नागरिकलाई सम्मान र शारीरिक अपांगता भएका २ नागरिकलाई व्हिलचेयर प्रदान गरिनेछ । दीर्घकालीन योगदान दिएका स्थानीय खेलाडीहरूलाई पनि सम्मान गरिने गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले बताए । प्रतियोगिता २२ गतेसम्म सञ्चालन हुनेछ। गोल्डकपमा कुल ८ टोली सहभागी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

epaper

ताजा समाचार

मकवानपुर प्रशासनद्वारा ‘ट्राभल एडभाइजरी’ जारी