कीर्तिपुर । एनपीएलको दोस्रो संस्करणमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्स शीर्ष २ मा पर्दै क्वालिफायरमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो खेलमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै सुदूरपश्चिमले लगातार ६ खेलको अपराजित यात्रालाई निरन्तरता दिएको हो । जितसँगै सुदुरपश्चिमले एनपीएलमा शीर्ष २ स्थान पक्का गरेको हो ।
सुदूरपश्चिमले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर १ ओभरमा १ सय २० रनमै अलआउट भयो । लगातार छैटौं जित निकालेको शीर्ष स्थानको सुदूरपश्चिमले १२ अंक जोडेको छ । अब सुदूरपश्चिमले आगामी मंगलबार शीर्ष २ मा पर्ने अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ । जित हात पारे उसले फाइनलमा स्थान बनाउनेछ । पराजय भए पनि उसले फाइनलमा स्थान बनाउनका लागि दोस्रो क्वालिफायर खेल्नुपर्नेछ ।
बिहीबार सुदूरपश्चिमले दिएको १ सय ७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चितवन राइनोजले १७ ओभर १ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय २० रन बनाउन सक्यो । देव खनाल, रवि बोपरा, अर्जुन साउद र कप्तान कुशल मल्लले बाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । खनालले २८ रन बनाउँदा बोपराले २९ रनको योगदान दिए । साउदले १६ रन बनाउँदा मल्लले १५ रन बनाए । कमल ऐरी, डेभिड मलान र सैफ जैबले समान ६–६ रन बनाउँदै आउट भए । अमर रौटेला ९ रनमा आउट भए ।
बलिङमा पुनित मेहराले ३ विकेट लिए । यस्तै हिक्मत बोहोरा, अविनाश महरा, इसान पाण्डे र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेटको क्षतिमा १ सय ६९ रनको योगफल बनाएको थियो ।
उसका लागि ओपनिङ ब्याटर क्रिस लिनले ७५ रन जोडे । १७औं ओभरको समाप्तिमा रिटायर्ड हट भएका लिनले ५६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । यसबाहेक नटआउट रहेका दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २४–२४ रन बनाए । ओपनर विनोद भण्डारी २१ रनमा रञ्जीत कुमारको बलमा आउट भए ।
यस्तै, एनपीएलमा डेब्यु गरेका पुनित मेहराले १३ रन बनाउँदा इशान पाण्डे र हर्मित सिंह १–१ रन बनाएर पेभिलियन फर्के । बलिङमा चितवनका सइफ जइबले २ विकेट लिए भने रञ्जित कुमार र जर्ज स्कृमसले १–१ विकेट झारे ।
पोखरालाई हराउँदै काठमान्डु प्लेअफमा
स्पिनर शाहब आलमको उत्कृष्ट बलिङमा पोखरा एभेन्जर्सलाई हराउँदै काठमान्डु गोर्खाज सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा पुगेको छ ।
पोखरा एभेन्जर्समाथि १३ रनको जितसँगै काठमान्डु लिग चरणका पुरै ७ खेलमा ५ मा जित र २ खेलमा हारसहित १० अंक बटुलेर प्लेअफमा पुगेको हो ।
यता, हारसँगै पोखराको प्लेअफमा पुग्ने सम्भावना झिनो आसमा बदलिएको छ । पोखराले अब चितवन राइनोजसँग खेल्न बाँकी छ ।
पोखराको ६ खेलमा २ जित र ४ हारसँगै जम्मा ४ अंक रहेको छ । बिहीबार सुदूरपश्चिमको जितसँगै विराटनगर किंग्स पनि प्लेअफमा पुगेको छ । यससँगै सुदूरपश्चिम, काठमान्डु र विराटनगर गरी तीन टोलीले प्लेअफमा स्थान पक्का गरेका छन् । अब एक स्थानका लागि चितवनसँगै, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सको सम्भावना छ । लुम्बिनी लायन्सले जित हात पारेको खण्डमा भने अरू टोली बाहिरनेछन् । लुम्बिनीको हारले भने अरू टोलीको सम्भावना हुनेछ । लुम्बिनी लायन्सले शुक्रबार जनकपुर बोल्ट्सलाई पराजित गरे प्लेअफमा पुग्नेछ भने चितवनसँगै पोखरा एभेन्जर्स र जनकपुर बाहिरिनेछन् । चितवनले अन्तिम खेलमा पोखरासँग र जनकपुरले अन्तिम खेलमा कर्णालीसँग खेल्नेछन् । लुम्बिनी हारेको अवस्थामा यी टोलीले प्लेअफमा पुग्न जित निकाल्नुपर्छ । सबैको समान ६–६ अंक भए, नेट रनरेटका आधारमा प्लेअफमा पुग्नेछन् ।
काठमान्डुलाई प्लेअफमा पु¥याउने क्रममा कुल ६ विकेट लिएका स्पिनर आलमले अन्तिम ओभरमा ह्याट्रिकसहित ४ विकेट लिएका थिए । काठमान्डुले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभरमा १ सय ५२ रन बनाउँदा अलआउट हुन पुग्यो ।
पोखराका सुरुवाती ब्याटरले राम्रो योगफल बनाउन सकेनन् । ओपनिङ ब्याटर एडम रोसिङटन ५ रनमा सनी पटेलबाट बोल्ड भए । कर्णालीविरुद्धको खेलमा नटआउट १ सय ८ रन बनाएका एडम रोसिङटनले काठमान्डुविरुद्ध रनको कुनै जादु देखाउन सकेनन् । उनी ५ रन बनाउँदा दोस्रो ओभरमा सनि पटेलको बलमा आउट भए । पोखराका जासन रोय पाँचौं ओभरमा शाहब अलामबाट १६ रनमा बोल्ड भए । रोयले १२ बलमा १ चौका र १ छक्का प्रहार गरे । सातौं ओभरमा तृतराज दास ९ रनमा एलबीडब्लूको सिकार भए । उनी सनी पटेलको बलमा एलबीडब्लू धरापमा परेका थिए ।
कप्तान कुशल भुर्तेल २२ रनमा आउट भएपछि पोखरालाई खेल आफ्नो नियन्त्रणमा लिन केही कठिन बन्न थाल्यो । त्यसपछि धनञ्जय लक्षन र ऋषि धवनबीच छैटौं विकेटका लागि ७६ रनको साझेदारी भएपछि पोखराको आशा बढ्यो । धनञ्जयले १७ बलमा १ चौका र १ छक्काको मद्दतमा ३० रन बनाए । उनलाई करण केसीले आउट गरे । अर्को ओभरमा किरण ठगुन्ना शाहबको बलमा मिलिन्द कुमारबाट ५ रनमा आउट भए ।
धवन ५४ रनमा आउट हुन पुगे । धवनले ३१ बलमा ३ चौका र २ छक्का प्रहार गरे । धवन शाहबको बलमा मिलिन्द कुमारबाट क्याच आउट भए । बलिङमा आलमको ६ विकेट रह्यो भने करण केसी र सनि पटेलले २–२ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । काठमान्डुका लागि ओपनर वेन चार्लेस बर्थले ६४ रनको योगदान दिए भने भीम सार्कीले ५५ रन बनाए । सार्कीले २३ बलमा ५५ रन बनाएका हुन् । मिलन्द कुमार १३ रनमा आउट हुँदा यसबाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर थप्न सकेनन् ।
शाहब आलमको ह्याट्रिकसहित ६ विकेट
अन्तिम ओभरमा जितका लागि पोखरालाई २० रन आवश्यक परेका बेला शाहब आलमले पहिलो, दोस्रो र तेस्रो बलमै लगातार विकेट लिन सफल भए । चौथो बलमा सागर ढकालको छक्का खाए पनि पाँचौं बल डट र छैटौं बलमा सागरलाई नै आउट गरे ।
पहिलो बलमा ५४ रन बनाएका धवनलाई शाहबले मिलिन्द कुमारबाट क्याच आउट गराए । दोस्रो बलमा उनले विपीन खत्रीलाई जोन सिमसनबाट स्टमपिन गराए । यसैगरी, आलमले तेस्रो बलमा आकाश चन्दलाई मिलिन्द कुमारबाटै क्याच आउट गराउँदै एनपीएलकै लागि पहिलो ह्याट्रिक लिए । यस्तै, उनले अन्तिम बलमा सागर ढकाललाई पनि करण केसीबाट क्याच आउट गराएर एकै ओभरमा ४ विकेट लिए । उनले कुल ६ विकेट लिँदा २५ रन मात्र दिए । उनले १२ बल डट फ्याँक्दा १ चौका र १ छक्का दिएका थिए ।
जारी सिजनको एकै खेलमा ६ विकेट लिने शाहब पहिलो बलर बन्न पुगे भने एनपीएलकै दुई संस्करणसम्मको इतिहासमा ह्याट्रिक गर्ने र एकै ओभरमा ४ विकेट लिने खेलाडीको नामका रूपमा लेखाएका छन् ।
त्यसअघि ओपनर आकाश त्रिपाठी शून्यमा पोखराका धनञ्जय लक्षनबाट बोल्ड भए । रशिद खान, आदिल अन्सारी ७–७ रनमा आउट भए भने जोन सिमसन २ रन रनमा पेभिलियन फर्के ।
बलिङमा पोखराका धनञ्जयले ४ ओभरमा १ मेडन राख्दै ४ विकेट लिए । उनले १६ रन मात्र दिएर ४ विकेट लिए । कप्तान कुशल भुर्तेलले २ विकेट लिए भने विपीन खत्री र किरण ठगुन्नाको नममा १–१ विकेट रह्यो ।






