नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना

पोखरा । नेपाल ह्याण्डबल संघको केन्द्रीय अध्यक्षमा पिताम्बर तिमिल्सिना निर्वाचित भएका छन् । पोखरामा बिहीबार भएको केन्द्रीय महाधिवेशनबाट आगामी ४ वर्षका लागि तिमिल्सिनाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

उपाध्यक्षहरुमा मिठाराम अधिकारी, हिमालकुमार र ज्ञानेन्द्र प्रधान निर्वाचित भए । महासचिवमा पोखराका केशव पाठक निर्विरोध निर्वाचित भए ।

यसैगरी, सचिवमा महेन्द्रबहादुर पुन, कोषाध्यक्षमा तस्बिरा तामाङ, सदस्यमा नारायण अधिकारी, सविता थोकर तामाङ, तेजेन्द्रबहादुर पाण्डे, मेदनीलाल पाण्डे र विशाल बस्नेत सर्वसम्मत् भए । रिक्त पदाधिकारी तथा सदस्यको पछि मनोनीत हुने व्यवस्था रहेको निर्वाचन समिति संयोजक कमल अर्यालले जानकारी दिए ।

आगामी नेतृत्वका लागि पोखराका चित्रबहादुर थापाको समेत उम्मेदवारी परेको थियो । कास्की जिल्ला अध्यक्षसमेत रहेका उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि सबै पदमा सर्वसम्मत्को वातावरण बनेको हो ।

संघमा देशभरबाट ६ प्रदेशको प्रतिनिधित्व हुने गरी ४८ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए । पोखराका तेजबहादुर गुरुङ नेतृत्वको कार्यकाल ३ वर्षअघि सकिए पनि महाधिवेशन हुन सकेको थिएन । प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्य–सचिवसमेत रहेका गुरुङले यसअघि दुई कार्यकालसम्म संघको नेतृत्व गरे ।

महाधिवेशनको गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उद्घाटन गर्दै पोखरा पर्यटनको मात्र नभई खेलकुदको पनि राजधानी भएको बताए । अन्तरिम केन्द्रीय समिति अध्यक्ष तेजबहादुर गुरुङको अध्यक्षतामा भएको महाधिवेशन उद्घाटन सत्रमा अन्तर्राष्ट्रिय ह्याण्डबल संघका प्रतिनिधि मोहम्मद शफिक, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य हिमाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

मकवानपुर प्रशासनद्वारा ‘ट्राभल एडभाइजरी’ जारी