सप्तरी, राजविराज । लकडाउन पालनाका लागि सप्तरीमा सुरक्षाकर्मीले कडाई गरेपनि विगत केही दिन यता यसको ब्यापक उल्लघंन हुन थालेको छ ।
मिथिलाञ्चलको महत्वपूर्ण पर्व सावित्रि शुक्रबार परेकाले ठूलो संख्यामा सर्वसाधारण किनमेलका लागि निस्किन थालेपछि लकडाउनको उल्लंघन बढेको हो । बजार निस्किने मध्ये धेरैले मास्क समेत नलगाईकन हुल बाँधेर हिड्न थालेपछि कोरोना संक्रमणको जोखिम समेत बढेको छ ।
बजारमा किनमेलका लागि निस्कने मध्ये अधिकांश महिला नै रहेका छन् । जसकारण लकडाउन पालना गराउन सडकमा खटिएका सुरक्षाकर्मीलाई बल प्रयोग गर्न समेत समस्या परेको छ ।
पतिको दिर्घायुको कामनाका लागि गरिने बट सावित्री ब्रत तथा पूजामा महिलाहरुकै सहभागिता रहने गरेको छ । प्रशासनले किनमेलका लागि निश्चित समय नतोकिदिएका कारणले पनि जुनसुकै बेला मानिस बाहिर निस्कने गरेको जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य अमरनाथ मण्डलको भनाई छ ।
किनमेलका लागि आएकाहरुलाई प्रहरीले लखेट्ने र प्रहरीको आँखा छलेर फेरी पसल धाउने क्रम बिहीबार दिनभरीजसो चलेको छ । प्रहरी देख्नासाथ पसलको सटर झार्ने र गएपछि पुनः सटर उठाएर पसललेले कारोबार गर्न थालेपछि सर्वसाधारण र पसलेलाई सम्झाउँदा सम्झाउदा हैरान बनेको डियुटीमा खटिएका एक सुरक्षाकर्मीले बताए ।
यसरी बजारमा भिडभाड बढ्न थालेपछि कोरोनाको जोखीम बढ्ने भन्दै स्थानिय बुद्धिजिबिले पसल खोल्ने निश्चित समय तोक्न र सामाजिक दुरी कायम गराउने सवालमा स्थानिय प्रशासनले आवश्यक पहल गर्नपर्ने माँग गरेका छन् ।






