यस्तो बन्यो ‘कांग्रेस २.०’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनले पार्टी सत्तामा लामो समयदेखिको पुरानो पुस्ताको वर्चस्व सदाका लागि अन्त्य गर्दै सभापति गगनकुमार थापाको नेतृत्वमा ‘कांग्रेस २.०’ को कार्यसमितिको पदाधिकारी चयन गरेको छ । सदस्यको अनितम मत परिणाम भने अझै सार्वजनिक भइसकेको छैन ।

गत पुसको विशेष महाधिवेशनबाट सुरु भएको विद्रोह र नेतृत्व हस्तान्तरणको कोर्सलाई १५औँ नियमित महाधिवेशनले ९३.८८ प्रतिशत (६ हजार ५८४) मतका साथ गगनलाई सभापति र विश्वप्रकाश शर्मालाई निर्विरोध वरिष्ठ उपसभापतिमा अनुमोदन गरेको छ ।

गगन थापा (सभापति), विश्वप्रकाश शर्मा (वरिष्ठ उपसभापति) र प्रदीप पौडेल (महामन्त्री)सहितको युवा टीमले पार्टीको मूल कमान्ड सम्हालेसँगै कांग्रेसमा पुस्तान्तरण त पूरा भएको छ, तर निर्वाचित १९ पदाधिकारीको समग्र अनुहार र समीकरण हेर्दा ‘रूपान्तरणको झल्को कति देखियो ?’ भन्ने गम्भीर बहस सुरु भएको छ ।

पचास वर्ष हाराहारीको नेतृत्व पङ्क्तिमा पार्टीको कमान्ड आइपुग्नु, इतिहासकै पहिलो वरिष्ठ उपसभापति पद कार्यान्वयन हुनु र ७६ वर्षे इतिहासमा पहिलोपटक महिला महामन्त्री पाउनु यो महाधिवेशनका सकारात्मक पाटा हुन् ।

तर, रूपान्तरणको नारा दिएर उदाएको नेतृत्वकै पालामा केही गम्भीर विरोधाभास देखिएका छन् । विगतमा नेता व्यवस्थापनका लागि पद थप्ने प्रवृत्तिको चर्को विरोध गर्ने गगन–विश्व नेतृत्वले नै यसपटक २४ पदाधिकारी र २९७ सदस्यीय जम्बो केन्द्रीय कार्यसमिति बनाएको छ ।

त्यसैगरी, पार्टीका शीर्ष ९ पद (१ सभापति, १ वरिष्ठ उपसभापति, ४ उपसभापति र ३ महामन्त्री) मा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व शून्य छ भने आदिवासी जनजाति र दलित समुदायबाट एक जना पनि शीर्ष ९ भित्र पर्न सकेनन् ।

– १७ नयाँ अनुहार पदाधिकारीमा ‘डेब्यु’

– इतिहासकै पहिलो महिला महामन्त्री डिला संग्रौला

– ६ पूर्वपदाधिकारी र बहालवाला मुख्यमन्त्री पराजित

– देउवा कित्ता छाडेका २ जनाले मारे बाजी

– शीर्ष ९ पदाधिकारीमा मधेश, कर्णाली, सुदूरपश्चिम तथा दलित र जनजातिको प्रतिनिधित्व शून्य

– समावेशी कोटामा अर्बपति विनोद चौधरीको उदय

राजनीतिक पृष्ठभूमिका दलित नेता जीवन परियारलाई ८७ मतले र मुस्लिम नेता फरमुल्लाह मन्सुरलाई पछि पार्दै डलर अर्बपति विनोदकुमार चौधरी समावेशी उपसभापतिमा निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीमा युवाभन्दा ६० वर्ष काटेका पाका अनुहारकै बाहुल्य देखिनुले नीतिगत र संरचनागत रूपान्तरणमा प्रश्न उठाएको छ ।

पदाधिकारीमा १७ जनाको ‘डेब्यु’
१४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीमध्ये गगन थापा र विश्वप्रकाश शर्माबाहेक बाँकी १७ जना नै नियमित महाधिवेशनबाट पहिलोपटक पदाधिकारीमा उक्लिएका छन् ।

जसमध्ये गत पुसको विशेष महाधिवेशन र १४औँ महाधिवेशन दुवैमा पदाधिकारी नरहेका १० जनाले पूर्णतः नयाँ ‘डेब्यु’ गरेका छन् । ५

० वर्षे राजनीतिक यात्रापछि डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य खुला उपसभापतिमा तथा एमाले छाडेर कांग्रेस प्रवेश गरेको ९ वर्षमै विनोद चौधरी समावेशी उपसभापतिमा उदाएका छन् । सहमहामन्त्रीतर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी (खुला), प्रतिमा गौतम (महिला), जीवनबहादुर शाही (पिछडिएको क्षेत्र), दिवंगत नेता अफताब आलमका छोरा एवं मधेशबाट निर्वाचित कांग्रेसका एक्ला संघीय सांसद डा. मो. फिरदोश आलम (मुस्लिम)ले पहिलोपटक पदाधिकारीमा बाजी मारेका छन् । खसआर्य सहमहामन्त्रीमा मनोजमणि आचार्य र अल्पसंख्यकमा आङगेलु शेर्पा पनि पहिलोपटक पदाधिकारी बन्ने पक्कापक्की छ ।

यस्तै, पुसको विशेष महाधिवेशनबाट पदाधिकारी बनेर १५औँ महाधिवेशनबाट अनुमोदित तथा बढुवा हुने ७ जनामा पुष्पा भुसाल (उपसभापति), प्रदीप पौडेल (महामन्त्री), विशेषमा सहमहामन्त्री रहेर अहिले महामन्त्री जितेका उदयशमशेर राणा र डा. डिला संग्रौला तथा सहमहामन्त्रीहरू बहादुरसिंह लामा, प्रकाश रसाइली ‘स्नेही’ र योगेन्द्र चौधरी छन्।

६ निवर्तमान पदाधिकारी पराजित
यसपटकको निर्वाचनमा विगतमा पदाधिकारी भइसकेका र ‘हेभिवेट’ भनिएका नेताहरूको ठूलो पङ्क्ति पराजित भएको छ । १४औँ महाधिवेशनका उपसभापति धनराज गुरुङ खुला उपसभापतिमा पाँचौँ स्थानमा (१ हजार ५९६ मत) खुम्चिँदै पराजित भए भने पुसको विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरुराज घिमिरे खुला महामन्त्रीमा चौथो स्थानमा (१ हजार ५१३ मत) सीमित भए ।

१४औँ महाधिवेशनका सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’ (महिला महामन्त्रीमा २५४ मतले पराजित), जीवन परियार र फरमुल्लाह मन्सुर (समावेशी उपसभापतिमा पराजित) तथा महेन्द्र यादव र विशेष महाधिवेशनकी सहमहामन्त्री मुक्ताकुमारी यादव बाहिरिएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे (उपसभापतिमा चौथो), पूर्वमन्त्रीहरू दीपक गिरी र सीता गुरुङ (उपसभापति), लुम्बिनी सभापति एवं पूर्वमन्त्री अमरसिंह पुन (महामन्त्री) तथा सहमहामन्त्रीमा पूर्वमन्त्रीहरू देवेन्द्रराज कँडेल, तेजुलाल चौधरी, सुरेन्द्रप्रसाद चौधरी, दिलमान पाख्रिन र तारामान गुरुङ पनि पराजित भए ।

नेविसंघका पूर्वअध्यक्षहरू गुरुराज घिमिरे, नैनसिंह महर, गोविन्द भट्टराई, रञ्जित कर्ण र राजीव ढुंगाना तथा मेडिकल व्यवसायी डा. सुनीलकुमार शर्मा (महामन्त्रीमा उदयशमशेरसँग ७३ मतले पराजित) र प्रथम राष्ट्रपतिका पुत्र डा. चन्द्रमोहन यादवसमेत पराजित भए ।

गगन थापालाई सभापति बनाउन वर्षौँदेखि लडेका र गत पुसमा पार्टी कारबाहीको जोखिम मोलेर विशेष महाधिवेशन सफल पारेका मुख्य सारथिहरू नै यसपटक पाखा लागेका छन् ।

विशेष महाधिवेशनका मुख्य योजनाकार गुरुराज घिमिरे महामन्त्रीमा चौथो भए । पुस २०८२ मा देउवा पक्षले गगन र विश्वप्रकाशसँगै ५ वर्षका लागि निष्कासन गरेका फरमुल्लाह मन्सुर पनि उपसभापतिमा पराजित भए ।

विशेष महाधिवेशनमा अग्रमोर्चामा खटिएका गोविन्द भट्टराई (उपसभापति), अमरसिंह पुन (महामन्त्री), गगनका विश्वासपात्र मानिने युवा नेता डिल्लीराम सुवेदी (खुला सहमहामन्त्रीमा तेस्रो) तथा युवा नेताद्वय शंकर तिवारी र डा. सन्तोष उपाध्याय (महामन्त्री) पनि गगन टीममा अटाउन सकेनन् ।

शेरबहादुर देउवा समूहले महाधिवेशन बहिष्कार गरिरहँदा अन्तिम समयमा (असोज १ पछि) देउवा, पूर्णबहादुर खड्का र बालकृष्ण खाँणको समूह छाडेर महाधिवेशनमा भाग लिन आएका अधिकांश नेताको ‘बिचल्ली’ भएको छ ।

देउवा कित्ताबाट आएका सुरेन्द्रराज पाण्डे, डिना उपाध्याय, सीता गुरुङ, नैनसिंह महर र देवेन्द्रराज कँडेल पराजित हुँदा रामहरि खतिवडा र जीवनबहादुर शाहीर अजयकुमार चौरसियाले मात्र जित निकाल्न सके ।

पदाधिकारीहरूको सूची
सभापति (१)
१. गगनकुमार थापा – ६,५८४ मत

वरिष्ठ उपसभापति (१)
२. विश्वप्रकाश शर्मा – निर्विरोध
उपसभापति (४)
३. पुष्पा भुसाल (महिला) – निर्विरोध
४. डा. चन्द्रकान्त भण्डारी (खुला) – ३,७३५ मत
५. ई. मधु आचार्य (खुला) – २,३४२ मत
६. विनोदकुमार चौधरी (समावेशी) – १,७४५ मत

महामन्त्री (३)
७. प्रदीप पौडेल (खुला) – ४,१९४ मत
८. उदयशमशेर राणा (खुला) – २,३३० मत
९. डा. डिला संग्रौला पन्त (महिला) – ३,११८ मत

सहमहामन्त्री (निर्वाचित घोषणा भइसकेका – ७)
१०. प्रतिमा गौतम (महिला) – ५,११६ मत
११. प्रकाश रसाइली ‘स्नेही’ (दलित) – ४,८०३ मत
१२. जीवनबहादुर शाही (पिछडिएको क्षेत्र) – ३,९०६ मत
१३. डा. मो. फिरदोश आलम (मुस्लिम) – ३,३४७ मत
१४. रामहरि खतिवडा (खुला) – २,९१९ मत
१५. अजयबाबु शिवाकोटी (खुला) – २,०७२ मत
१६. बहादुरसिंह लामा तामाङ (आदिवासी जनजाति)
१७. योगेन्द्र चौधरी (थारू) – निर्वाचित
१८. मनोजमणि आचार्य (खस–आर्य) – निर्वाचित
१९. अजयकुमार चौरसिया (मधेशी) – अग्रस्थान
२०. आङगेलु शेर्पा (अल्पसंख्यक÷अपांगता) – अग्रस्थान
(४ सहमहामन्त्री र १ कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने विधानको व्यवस्था छ।)

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

epaper

ताजा समाचार

३० आश्विन २०८३