काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवीन समझदारीका लागि दबाब दिन आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । उपत्यकाको विभिन्न स्थानबाट र्यालीसहित रत्नपार्कमा पुगेर प्रदर्शन जनसभामा परिणत भएको थियो ।
आफ्ना एजेन्डाहरू राजसंस्थाको पुनर्स्थापना र हिन्दु राष्ट्रको स्थापित गर्न र जनदबाब सिर्जना गर्नका लागि जनप्रदर्शन र वृहत् सभा कार्यक्रम आयोजना गरिएको राप्रपाले जनाएको छ। राप्रपाले राजनीतिक दल र जेन जेडबीच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले जनप्रदर्शन र वृहत् सभा कार्यक्रम गरिएको जनाएको छ ।

राजा, राजनीतिक दल र जेनजी लगायत सरोकारवालाहरूको सर्वपक्षीय सहमतिबाट देसलाई निकास दिनुपर्ने, अन्तरजिल्ला मतदान तथा विदेशमा बस्ने नेपालीहरूले मतदान गर्न पाउने सुनिश्चितता हुनुपर्ने, जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग पूरा गर्नुपर्ने मुख्य मागसहित राजा ,राजनीतिक दल र जेनजी बिचमा नवीन समझदारीको लागि भन्दै जनदबाब स्वरूप विरोध सभा गरिएको हो।
जनसभामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्षहरू विक्रम पाण्डे, बुद्धिमान तामाङ, राजेन्द्र गुरुङ, धुर्ब बहादुर प्रधान, महामन्त्री धवलशमशेर राणा, आन्दोलन परिचालन समितिको संयोजक ज्ञानेन्द्र शाही लगायत नेताहरू गोपाल दाहाल, रबिन्द्र प्रताप शाह, धनबहादुर बुढा, ठाकुर मोहन श्रेष्ठ, रविन्द्र मिश्र लगायतको उपस्थिति रहेको छ।
यसैगरी पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका अध्यक्ष सुजित केसी, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन अध्यक्ष कैलाश कटुवाल, वीर गोर्खालीका अध्यक्ष मनोज सापकोटा, आरटीएफ संयोजक मुनिन्द्र भण्डारी सहित जेनजी अभियान्ता रबिकिरण हमाल र एसपि शाहको उपस्थिति रहेको छ।
कार्यक्रम अघि काठमाडौँको जोरपाटी र सामाखुसी, भक्तपुरको सल्लाघारी र ललितपुरको एकान्तकुनामा भेला भई नेता तथा कार्यकर्ता कार्यक्रम स्थलमा आएका थिए।






